बाँसबारी न्युरोमा २ वर्षभित्र स्नायुकेन्द्र, के छ डा. देवकोटापछिको अवस्था ?

हेल्थपोस्ट
प्रकाशित
२०७५ माघ २५ गते १५:०६

काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सले (न्युरो अस्पताल) ठूलो स्नायु पुनःस्थापना केन्द्र स्थापनाको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी अस्पतालले अबको २ वर्षभित्र केन्द्र निर्माण कार्य सम्पन्न गर्ने जनाएको हो ।

पुनःस्थापना केन्द्रमार्फत स्नायुजन्य रोगबाट अशक्त बिरामीलाई फिजियोथेरापी, स्पिचथेरापी र ओकुपेसनथेरापीबाट उपचारसेवा दिने गृहकार्य भइरहेको अस्पतालले बताएको छ । त्यसैगरी, अस्पतालबाट प्रवाह हुने सेवाको स्तरोन्नतिका साथै शल्यचिकित्सासम्बन्धी विशेषताहरूको प्रवर्धन गर्दै जाने लक्ष्य अस्पतालको छ ।

त्रकार सम्मेलनमा अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाले गुणस्तरीय उपचारमा स्वर्गीय डा. उपेन्द्र देवकोटाको अभाव महसुस हुन नदिन अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले अहोरात्र मिहिनेत गरिरहेको बताइन् । ‘डा. उपेन्द्र देवकोटाको निधनपछि पनि उहाँको अभाव महसुस हुन नदिन यहाँको न्युरो सर्जनले रातदिन नभनी काम गरिरहेका छन्,’ उनले भनिन् ।

डा. देवकोटापछिको अवस्था
अस्पतालले डा. देवकोटाको निधनपछिको ६ महिनाको अस्पतालको प्रगति विवरणसमेत प्रस्तुत गरेको छ । बाँसबारी न्युरोबाट पछिल्लो ६ महिनामा जम्मा १५ हजार ४ सय ९० बिरामीले सेवा लिएका छन् । यसमध्ये १३ हजार ९ सय ५६ जनाले बहिरंग सेवा, १ हजार ५ सय ३४ जनाले आकस्मिक सेवा र १ हजार ८ जनाले अन्तरंग सेवा लिएका छन् ।
त्यसैगरी, ४ सय ३९ बिरामीले स्नायुको शल्यक्रिया गराएका छन् । यसका लागि २२ जना विशेषज्ञ चिकित्सकसहित ३ सयभन्दा बढी पूर्णकालीन कर्मचारी खटिएको अस्पतालले जनाएको छ । यसका साथै अस्पतालले पक्षघातसम्बन्धी रोगको उपचारका लागि पहिलोपटक तीनवटा भेन्टिलेरसहित अन्तर्राष्ट्रियस्तरको सघन उपचारकक्ष स्थापना गरेको समेत जनाएको छ ।
अस्पतालका निर्देशक डा. लेजन थापाले अझै पनि देशमा दुईतिहाइ न्युरोका बिरामी उपचारको पहुँचबाहिर रहेको बताए । ‘नेपालमा समग्र न्युरोका बिरामीमध्ये एकतिहाइले मात्र उपचार सेवा लिएका छन्,’ उनले भने, ‘अन्य बिरामी मुत्युलाई अँगाल्न या प्यारालाइसिस भएर बस्न बाध्य छन् ।’

डा. थापाका अनुसार रोगका कारण हुने समग्र मृत्युको ८ प्रतिशत न्युरोरोगका कारण हुने गरेको छ । यसलाई कम गर्न न्युरो अस्पतालले उच्चस्तरको सेवा प्रदान गरिरहेको उनको दाबी छ ।

स्वर्गीय डा. देवकोटाका सहकर्मी एवं न्युरो सर्जन डा. सबिनमान जोशीले अहिलेसम्म आफू विदेशमा सेवा दिइरहेको भए पनि अबदेखि समय–समयमा स्वदेशमा पनि सेवा दिने प्रतिबद्धता व्यक्त गरे । ‘हाल म अमेरिकामा सेवा प्रदान गरिरहेको छु,’ उनले भने, ‘तर, अब समय–समयमा मातृभूमिकै न्युरोरोगीको सेवा गर्न आउनेछु ।’ डा. जोशीले वर्षमा ४ पटक नेपाल आएर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय