खोपपछि बालकको मृत्यु भएको घटनाबारे सरकारले अनुसन्धान गर्ने

हेल्थपोस्ट नेपाल

कैलालीमा डिपिटी खोप लगाएपछि एक बालकको मृत्यु भएको घटनाबारे सरकारले अनुसन्धान गर्ने भएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिकाअन्तर्गत बलिया स्वास्थ्यचौकीमा २० माघमा खोप लगाएपछि भुरुवा कुन्टी खेतकी पूजा आलेमगरकी ६ महिने छोराको मृत्यु भएको थियो । सोही दिन खोप लगाएका १ दर्जनभन्दा बढी बालबलिकाका आफन्तले समेत आफ्ना शिशु बिरामी भएको गुनासो गरेका थिए ।

अभिभावकहरूले भुरुवा कुन्टी खेतमा खोप लगाइसकेपछि शरीरभरि राता बिबिरा आएर बेहोससमेत बनेको र उनीहरूको टीकापुर अस्पतालमा उपचार गरेको गुनासो गरेका थिए ।घटनापछि खोप कार्यक्रम अवरुद्धसमेत भएको थियो । बच्चाको मृत्युपछि टीकापुर अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।

खोप ऐनले गरेको व्यवस्थाअनुसार घटनाबारे विज्ञ टोलीबाट अनुसन्धान हुने बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । ‘बच्चाको मृत्यु भएको भन्ने घटनाको स्थानीय स्वास्थ्यचौकीले पनि रिपोर्ट गरेको छ,’ गौतमले भने, ‘बाहिर आएजस्तो अन्य बालबालिका बिरामी भएको अवस्था भने होइन ।’

ऐनअनुसार गठित ‘खोपपछिको अवाञ्छित घटना अनुसन्धान’ टोली (एड्भर्स इभेन्ट फलोइङ इम्युनाइजेसन, एइएफआई) कमिटीले अनुसन्धान गरी खोपको कारण भन्ने पुष्टि भए ऐनअनुसार नै क्षतिपूर्ति दिने गौतमले जानकारी दिए ।

ऐनअनुसार गठित ‘खोपपछिको अवाञ्छित घटना अनुसन्धान’ टोली (एड्भर्स इभेन्ट फलोइङ इम्युनाइजेसन, एइएफआई) कमिटीले अनुसन्धान गरी खोपको कारण भन्ने पुष्टि भए ऐनअनुसार नै क्षतिपूर्ति दिने गौतमले जानकारी दिए ।
सुरुमा विश्वस्वास्थ्य संगठनअन्तर्गतका मेडिकल अफिसरहरूले आवश्यक सूचना संकलन गरी रिपोर्ट गर्ने र सो रिपोर्टअनुसार एइएफआई टोलीले आश्यकताअनुसार थप टोली पठाउनेछ । सात सदस्यीय विज्ञ समितिमा बालरोग विशेषज्ञ डा. निलम अधिकारी संयोजक छिन् ।

इन्जेक्सनमार्फत दिइने यस्तो खोप लगाउँदा केही बालबालिकामा ज्वरो आउने, खोप लगाएको ठाउँमा रातो डाबर आउने, दूध खान नमान्ने र रुने समस्या हुने गर्छ । खोपकै कारण पनि एक लाखमा १–२ जनाको मृत्युसमेत हुन सक्ने विज्ञहरू बताउँछन् । यस्तो मृत्यु खोपका कारण भन्दा पनि खोप व्यवस्थापन, भण्डारण नमिल्दा हुन्छ ।

यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा राखिएको हुनुपर्छ । खोप लगाउने तरिका नमिल्दा पनि यस्ता दुर्घटना हुन सक्ने विज्ञहरू बताउँछन् । ‘बच्चामा खोप लगाउनेवेलामै अन्य समस्या भएको अवस्थामा पनि मृत्यु हुन सक्छ,’ गौतमले भने, ‘हामी अनुसन्धान गरेर कारण र निराकरणमा लाग्छौँ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *