इन्टर्न चिकित्सकको निर्वाहभत्ता १६ हजार पु-याउन माग गर्दै धरानमा आन्दोलन, सेवा प्रभावित

हेल्थपोस्ट नेपाल

इन्टर्न चिकित्सकको तलब (स्टाइपेन) मासिक १६ हजार पुर्याउन माग गर्दै धरानका चिकित्सकहरूले सुरु गरेको आन्दोलनमा विभिन्न क्षेत्रका चिकित्सक एवम् चिकित्साशिक्षाका विद्यार्थीले साथ दिनेक्रम सुरु भएको छ । लाखौँ खर्च गरेर चिकित्साशिक्षा पढ्ने विद्यार्थीले न्यून पारिश्रमिकमा काम गर्नुपरिरहेको सन्दर्भमा धरानका इन्टर्नले उठाएको आवाज अन्यत्र पनि फैलिने संकेत देखिएको छ । अधिकांश ठाउँमा इन्टर्नसिप अवधिमा निर्वाहभत्ता (स्टाइपेन) १२ हजार मात्रै छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा पनि निर्वाहभत्ता १५ हजार २ सय ५० मात्रै छ । एमबिबिएस सैद्धान्तिक पढाइपछि विद्यार्थीले एक वर्षको इन्टर्नसिप गर्नुपर्छ ।

उनीहरूले विद्यार्थी कल्याण समाजका नाममा संगठित भएर केही दिनदेखि सेवा बहिष्कार गरी धर्ना सुरु गरेका छन् । पटक–पटक ज्ञापनपत्र र ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएपछि सेवा बहिष्कार र धर्नामा उत्रिनुपरेको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. अभिषेक अमरले बताए ।

हाल १२ हजारहाराहारीमा रहेको सुविधा वृद्धि गरी कम्तीमा १६ हजार पुर्याउनुपर्ने प्रमुख माग इन्टर्न चिकित्सकहरूको छ । उनीहरूले श्रम ऐनअनुसार नै ८ घण्टाभन्दा अतिरिक्त काम लगाउँदा र रात्रिकालीन ड्युटी गर्दा अतिरिक्त सुविधा हुनुपर्ने, वार्षिक रूपमा अन्य कर्मचारीसरह प्रतिशतका आधारमा वृद्धि हुनुपर्ने र विद्यार्थी कल्याण कोषका सम्पूर्ण रकम समाजमार्फत नै खर्च गर्न पाउनुपर्ने माग राखेका छन् ।

समाजका अध्यक्ष डा. अमरका अनुसार चरणबद्ध रूपमा माग अगाडि सार्दा पनि सुनुवाइ नभएपछि कडा आन्दोलनमा उत्रिनुपरेको हो । विद्यार्थीले सुरुमा १३ र २५ असोजमा बिपी प्रतिष्ठानका शिक्षाध्यक्षसमक्ष मागपत्र बुझाएको र १० माघमा उपकुलपतिलाई सातदिने अल्टिमेटम दिएका थिए ।

अहिले आन्दोलन चर्किंदै गएपछि प्रतिष्ठानअन्तर्गतका १ सय ५० इन्टर्नहरू नै सम्पूर्ण रूपमा आन्दोलनमा उत्रिएको अमरले बताए । उनका अनुसार आकस्मिक कक्ष, ओपिडी र विभिन्न वार्डदेखि धनकुटा, इलाम, झापा, मोरङ, उदयपुर, सप्तरी र सुनसरीका विभिन्न अस्पतालमा इन्टर्न गरिरहेका एमबिबिएस र बिडिएस डाक्टरहरू अहिले प्रतिष्ठानमा फर्किएर आन्दोलन गरिरहेका छन् ।

विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि बुधबार प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र अस्पतालका निर्देशकसहितको टोलीले आन्दोलनरत विद्यार्थीसँग वार्ता गरेको थियो । सोक्रममा उपकुलपति राजकुमार रौनियारले विद्यार्थीको माग कार्यकारी समितिबाट पूरा गराउने भन्दै आन्दोलन रोक्न आग्रह गरेका थिए । तर, लिखित रूपमा प्रतिबद्धता आए मात्रै आन्दोलनको स्वरूपबारे पुनर्विचार गर्ने र आन्दोलन नरोक्ने डा. अमरले बताए । ‘माग पूरा गर्छौं भनेर लिखित रूपमा आयो भने आन्दोलन खुकुलो पार्न सकिन्छ,’ उनले भने, ‘माग पूरा नभएसम्म रोकिन्न ।’

युवा चिकित्सकको साथ
त्यसैगरी युवा चिकित्सक संघ नेपालले पनि एक विज्ञाप्ति जारी गरी धरानका चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । अध्यक्ष डा. चेतन बस्नेतद्वारा जारी विज्ञप्तिमा संघ सुरुदेखि नै इन्टर्न चिकित्सकको पारिश्रमिक पूर्ण शुल्कको १ प्रतिशत हुनुपर्ने पक्षमा रहेको उल्लेख छ ।

समाजको आन्दोलनमा धरानकै आवासीय चिकित्सकहरूको संस्था जुनियर डक्टर्स वेलफेयर सोसाइटीले पनि साथ दिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *