न्याम्स उपकुलपतिमा डा. डिएन साह, सिफारिसको पाँच महिनापछि बल्ल नियुक्ति

हेल्थपोस्ट
प्रकाशित
२०७५ माघ २३ गते १३:२९

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा बरिष्ठ चिकित्सक डा.डिएन साह नियुक्त भएका छन् ।
साडे ३४ वर्षसम्म चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम)मा सेवा गरेका डा.साहलाई सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादबको अध्यक्षतामा गठित समितिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्रीले उपकुलपति नियुक्ती गरेका हुन् ।

कूलपति एवं प्रधानमन्त्रीले लामो समयदेखि समितिकाे सिफारिस अड्काएर राखेको भन्दै सहकूलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पटकपटक असन्तुष्टि प्रकट गर्दै आएका थिए ।

कुलपतिले गठन गरेको समितिले सार्वजनिक सूचनासमेत आह्वान गरेर दरखास्त आह्वान गरेर उपकुलपति छनौट सिफारिस गरेको थियो । सुरुमा २२ जनाले निवेदन दिएकोमा स्वास्थ्यमन्त्री संयोजकत्वको समितिले ६ जनालाई अन्तर्वार्ता एवं प्रस्तुतिकरणका लागि बोलाएको थियो ।

प्रस्तुति र अन्य विभिन्न मूल्यांकनका आधारमा समितिले डा.साहलाई पहिलो नम्बरमा राखेर क्रमशः डा.ढुन्डी पौडेल र डा.अजित रायमाझीको नाम सिफारिस गरेको थियो । जसमध्ये साहलाई नै नियूक्ती गरेका हुन् । स्वास्थ्यमन्त्री काठमाडौंमा नभएका कारण नियुक्ती औपचारिक रुपमा बाहिर ल्याइएको छैन र पत्रसमेत दिइसकिएको छैन्

आइओएममा तीन दशकभन्दा लामो समय काम गरेका साहले कर्नाटकबाट एमबिबिएस, पिजिआई चन्डीगढबाट नेत्ररोग विशेषज्ञ (पिजी), नेशनल आई इन्टिच्युट युएसएबाट फेलोसिप गरेका छन् । साहले साढे ७ वर्षसम्म विपी कोइराला नेत्र अध्ययन केन्द्रको निर्देशक भएर काम गरेका थिए भने एक कार्यकाल महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुख समेत भएर काम गरेका थिए । वीर अस्पतालबाटै सरकारी सेवा सुरु गरेका साह सुनसरीमा जन्मिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय