प्लास्टिक सर्जरी आमनेपालीको पहुँचमा छ

सामान्य मानिसले प्लास्टिक सर्जरीलाई कसरी बुझ्ने ?
शरीरका विभिन्न अंगमा कारणवश विभिन्नप्रकारका समस्या देखापर्ने गर्छन् । कतिपयमा जन्मजात यस्ता समस्या देखापर्ने गर्छन् भने कतिमा विभिन्नप्रकारका रोगका कारण, दुखाइ, आगोको पोलाइ तथा बाहिरी कारणले चोटपटक हुने गर्छ । यसका कारण शरीरमा अनेकखाले दाग, धब्बा तथा विभिन्न समस्या देखापर्ने गर्छन् । त्यस्ता समस्या हटाउनु नै प्लास्टिक सर्जरी हो, जुन प्लास्टिक सर्जनको सहायताले गर्ने गरिन्छ । क्यान्सरजस्ता रोगका कारण शरीरमा देखापरेका धाउ तथा खाल्डो पुर्ने प्रविधिलाई प्लास्टिक सर्जरी भनिन्छ ।

कस्तो अवस्थामा प्लास्टिक सर्जरी गराउनुपर्छ ?
कतिपय बच्चा जन्मँदै ओठ खुँडे भएका हुन्छन् भने कतिपयको तालु फाटेको हुन्छ । आगोले पोलेका मानिसको पनि हात खुँडो हुने टाँसिनेलगायत विविध समस्या हुने गर्छन् । त्यसका लागि पनि प्लास्टिक सर्जरीको आवश्यकता पर्छ ।
मुख्यतया प्लास्टिक सर्जरीले एउटा त घाउ, चोटपटक लागेको ठाउँमा पुर्ने काम गर्छ भने अर्काेतर्फ त्यसका कारणले आउने विभिन्न समस्या, नसामा आउने समस्या हटाई काम गर्ने बनाउन उपचार गर्छ । उपचारपश्चात् बिरामी सामान्य अवस्थामा आउने गर्छन् ।

प्लास्टिक सर्जरीमा कुन–कुन सर्जरी बढी हुने गरेका छन् ?
प्लास्टिक सर्जरीमा पनि दुईवटा भाग छन्– एउटा प्लास्टिक रिकन्स्ट्रक्टिभ सर्जरी, अर्काे कस्मेटिक सर्जरी । यी दुईमध्ये प्लास्टिक रिकन्स्ट्रक्टिभ प्लास्टिक सर्जरीमा धेरै चलेको सर्जरीको प्रकार हो । यसप्रकारको सर्जरीमा जन्मजात खुँडो भएका, विभिन्न अंगका क्यान्सरका कारण उक्त अंग नै खेर फाल्नुपर्ने अवस्थालगायतमा पुरानै अवस्थामा पुर्याउनका लागि प्लास्टिक रिकन्स्ट्रक्टिभ सर्जरी गर्न सकिन्छ । यसका साथै पुरुषमा स्तन ठूलो हुने समस्या, जसलाई गाइनोकोमास्टिया भन्ने गरिन्छ, पुरुषमा हर्माेनको सन्तुलन नहुँदा पनि यो प्रविधि उपयोगमा आउँछ । यस्तो समस्या भएका पुरुषमा टाइटखालका लुगा लगाउँदा स्तनको आकार महिलाको जस्तै देखिने गर्छ । यस्तो अवस्थामा शल्यक्रिया गरेर सानो बनाउन सकिन्छ । यस्तो समस्या भएका पुरुषमा शल्यक्रिया गर्दा पुरुषको स्तनभित्र रहेको टिस्यु र बोसो निकाल्ने गरिन्छ, जसले पुरुषको स्तनलाई समथर बनाउने काम गर्छ ।

प्लास्टिक सर्जरीमा पनि दुईवटा भाग छन्– एउटा प्लास्टिक रिकन्स्ट्रक्टिभ सर्जरी, अर्काे कस्मेटिक सर्जरी । यी दुईमध्ये प्लास्टिक रिकन्स्ट्रक्टिभ प्लास्टिक सर्जरीमा धेरै चलेको सर्जरीको प्रकार हो । यसप्रकारको सर्जरीमा जन्मजात खुँडो भएका, विभिन्न अंगका क्यान्सरका कारण उक्त अंग नै खेर फाल्नुपर्ने अवस्थालगायतमा पुरानै अवस्थामा पुर्याउनका लागि प्लास्टिक रिकन्स्ट्रक्टिभ सर्जरी गर्न सकिन्छ ।

गाइनोकोमास्टिया सर्जरीको पछिल्लो अवस्था कस्तो छ र यो कत्तिको महँगो छ ?
नेपालमा गाइनोकोमास्टियाको शल्यक्रिया गराउनेक्रम पहिलेको तुलनामा बढ्दै गएको छ । यस्तो प्रकारको शल्यक्रिया प्रायः असफल हुने सम्भावना कमै हुन्छ । पुरुषले प्राकृतिक रूपमा स्तन ठूलो हुने समस्यालाई हटाई बाहिरी आवरणका लागि यस्तो प्रकारको सर्जरी गराउने प्रचलन नेपालमा मात्रै नभई विश्वमै बढ्दै गएको छ । यो भनेको बाहिरी आवरण राम्रो देखाउनका लागि नै गर्ने हो । यसले पुरुषलाई आत्मसन्तुष्टि प्रदान गर्छ । यो अनिवार्य नभई स्वैच्छिक हो । यसमा शल्यक्रियाका क्रममा उपचारको प्रकृति हेरी उपचार लागत लाग्ने गर्छ । उपचार गरिने संस्थाअनुसार पनि यसको लागत फरक छ । त्रिवि शिक्षण अस्पतालमा भने यसको उपचार शुल्क २०–२५ हजार रुपैयाँसम्म लाग्छ ।
शल्यक्रियाका क्रममा पाइपको माध्यमबाट स्तनभित्र रहेको बोसो निकाल्ने गरिन्छ । सर्जरीपश्चात् भने सुन्निने, निलो डाम बस्नेजस्ता समस्या आउन सक्छन् । कहिलेकाहीँ रक्तस्राव हुने, विभिन्न प्रकारको संक्रमण हुनेजस्ता समस्या पनि देखापर्न सक्छन् ।

प्लास्टिक सर्जरी अन्य सर्जरीभन्दा कसरी भिन्न छ ?
प्लास्टिक सर्जरी एउटा कुनै भिन्न अंगका लागि हुँदैन । यो टाउकोदेखि पैतालासम्म शरीरका विभिन्न अंगमा गर्ने गरिन्छ । एउटा आधारभूत सिद्धान्तलाई आधार मानेर प्लास्टिक सर्जरी गराउनुपर्ने हुन्छ ।
प्लास्टिक सर्जरी गराउनेक्रममा सबै शल्यक्रियामा एकै प्रकारको शल्यसिद्धान्त अनुसरण हुन्छ भन्ने छैन । प्लास्टिक सर्जनले आवश्यकता हेरेर शल्यक्रिया कसरी गराउने भन्ने निर्धारण गर्छ । कतिपय अवस्थामा आवश्यकता हेरेर फरक–फरक शैलीमा ढालेर पनि शल्यक्रिया गर्न सकिन्छ ।

नेपालमा प्लास्टिक सर्जरीका के–कस्ता सेवा उपलब्ध छन् ?
नेपालमा पहिलेभन्दा प्लास्टिक सर्जरीको विकास तथा यसका क्षेत्रहरूमा विस्तार भइ नै रहेको छ । पहिले–पहिले आगोले पोलेको बिरामी तथा खुँडेहरूको उपचार हुन्थ्यो । कुनै पनि अंगमा घाउ चोट–पटक लागेको खण्डमा सानोतिनो मासु राखेर विभिन्न उपचार गरिन्थ्यो । तर, अहिले भने ठूला प्रकारका शल्यक्रिया पनि नेपालमै गर्ने गरिएको छ । जस्तै, कसैलाई खुट्टा नै काट्नुपर्ने अवस्थाको चोट लागेको छ वा क्यान्सर भएको छ भने पनि त्यसमा जटिल अवस्थाको शल्यक्रियामा गरिने विभिन्न प्रकारको सामग्रीलगायत माइक्रोस्कोपबाट गरिने मसिनो–मसिनो नसा जोडेर मासु राख्ने उपायसमेत नेपालमा सुरु गरिएको छ । यसका साथै औँला छुटेको बिरामीहरूको नसा–नसा जोडेर गरिने शल्यक्रिया पनि नेपालमै हुन्छ ।

साथै, औँला काटिएर त्यसको मासु नै गएको छ भने शरीरका अन्य भागको मासु काटेर त्यहाँ हाल्नेजस्ता जटिलप्रकारका शल्यक्रिया यहीँ हुन्छ । प्लास्टिक सर्जरीमा अर्काे नयाँ विधा भनेको चोट लागेपछि पूरै हात लुलो हुने अवस्थालाई हटाई हातले काम गर्न सक्ने अवस्थामा ल्याउने सर्जरीको समेत नेपालमै विकास भएको छ । प्लास्टिक सर्जरीमा नेपालमै भएका यस्ता विकास विश्वस्तरीय छन् ।

प्लास्टिक सर्जरीका धेरै क्षेत्रमा विकास भए पनि नेपालमा नपाइने केही सेवा छन्, जसका लागि अझै पनि विदेश नै धाउनुपर्ने अवस्था छ । जस्तै, ट्रान्सजेन्डर, जन्मिँदा कुनै बच्चा केटा भयो, त्यसलाई केटी बनाउनुपर्यो, त्यस्तो अवस्थामा ब्रेस्ट इम्प्लान्ट लगाउने गर्छाैं, त्यसको शल्यक्रिया नेपालमा गरिएको पनि छ । तर, केटामान्छेलाई केटीमान्छे बनाउन गरिने शल्यक्रिया, जसमा केटामान्छेको अंगलाई नै काटेर, मिलाएर केटीको जस्तो भेजाइना अथवा स्त्रीको अंग बनाउने शल्यक्रिया भने नेपालमा सुरुवात भएको छैन । तर, त्यसको थालनी पनि हामी छिटै गर्ने तयारीमा छौँ । त्यसका लागि नेपालीहरू थाइल्यान्डलगायत विश्वका विभिन्न मुलुकमा जाने गरेका छन् । उपचारका लागि विदेश जानुपर्ने भएकाले यस प्रकारको सर्जरी महँगो छ । यसको उपचारमा अधिकतमा १५ लाख रूपैंयासम्म लाग्ने गर्छ । यस्तो सेवा नेपालमै उपलब्ध गराउन सकिएको खण्डमा आउने–जाने, बस्ने–खानेलगायत खर्च जोगाएर पनि खर्च निकै कम गर्न सकिन्छ ।

प्लास्टिक सर्जरी गराउनेमा महिला बढी छन् कि पुरुष ?
कस्मेटिक सर्जरीको कुरा गर्नुपर्दा ८० प्रतिशत महिला आउने गर्छन् भने २० प्रतिशत मात्रै पुरुष छन् । पुरुषले बढी गर्ने सर्जरी भनेको गाइनोकोमास्टिया सर्जरी हो । साथै, केटामान्छेले आँखाको तल्लो भागमा बोसोको मात्रा बढी भएको पनि सर्जरी गराउने गर्छन् । साथै, आँखाको परेला झोलिने समस्याको शल्यक्रिया पनि पुरुषले नै बढी गर्ने गर्छन् ।

गुणस्तरका हिसाबले नेपालमा प्लास्टिक सर्जरीको उपचार अवस्था कस्तो छ ?
शल्यक्रियाको कुरा गर्ने हो भने विदेशमा जस्ता प्रविधि छन्, नेपालमा पनि त्यस्तै प्रविधिले शल्यक्रिया गराउने हो । नेपालमा गरिएका प्लास्टिक सर्जरीको नतिजालाई हेर्ने हो भने राम्रै छ । त्यसकारण नेपालमा प्रदान गरिने सेवा–सुविधा स्तरीय नै छ भन्ने मलाई लाग्छ । यो मैले भन्दा पनि बिरामीले मूल्यांकन गर्ने विषय पनि हो ।

औजारहरूको उपलब्धताको कुरा गर्ने हो भने हामीकहाँ लेजरहरू नै पर्याप्त छैनन् । लेजरहरू उपलब्ध भएका ठाउँमा पनि राम्रा लेजर उपलब्ध छैनन् । कतिपय ठाउँमा शल्यक्रियाको नतिजा नै राम्रो नआउनेखालका लेजरले समेत काम चलाउनुपर्ने बाध्यता छ । यसका कारण शल्यक्रियाको नतिजा राम्रो नआउनुका साथै विभिन्नप्रकारका जटिलता समेत सिर्जना हुने गर्छन् ।  फरक–फरक कारणका लागि फरकप्रकारको लेजरको आवश्यकता पर्न जान्छ । विभिन्नप्रकारका रोगका लागि विभिन्नप्रकारका लेजरको आवश्यकता पर्न सक्छ ।

ओपिडीमा आउने बिरामीको चापका आधारमा प्लास्टिक सर्जरीमा आमनेपालीको पहुँच छ भन्न सकिन्छ । शल्यक्रियामा आउने बिरामीको चापका आधारमा पनि आमनेपालीको प्लास्टिक सर्जरीमा पहुँच भएकै देखिन्छ ।
कतिपय बिरामीले शल्यक्रियाका लागि महिनौँ पनि कुर्नुपर्ने हुन्छ, जुन बिरामीको अवस्था हेरेर हुन्छ ।

प्लास्टिक सर्जरीका लागि नेपालमा के–कस्ता प्रविधि उपलब्ध छन् ?
प्लास्टिक सर्जरीका लागि अन्य सर्जरीमा जस्तो धेरै प्रकारका प्रविधि तथा औजारको आवश्यकता पर्दैन । ठूला–ठूला घाउ, चोट–पटकलाई नै सर्जरी गर्नुपर्यो भने माइक्रोस्कोपको सहायताले गर्न सकिन्छ । मसिनो–मसिनो औजार समात्ने एक प्रकारको औजार हुन्छ, त्यसको सहायताबाट गरिने सर्जरी पनि नेपालमा उपलब्ध छ । त्यस्तै, औजारहरूको सहायताले गरिने सर्जरी भनेको ह्यान्ड सर्जरी हो । त्यसका लागि आवश्यक सम्पूर्ण कुरा नेपालमा उपलब्ध छन् ।

विश्वस्तरमा प्रयोग भइरहेका प्रविधि तथा औजार नेपालमा पनि उपलब्ध छन् त ?
औजार तथा प्रविधि तिनीहरूको गुणस्तरअनुसार फरक–फरक हुन्छन् । प्लास्टिक सर्जरीका लागि आवश्यक आधारभूत कुराहरू भए पनि एकदमै विकसित खालको प्रविधि भने नेपालमा उपलब्ध छैनन् । विश्वस्तरमा जस्तै सबै प्रकारको अत्याधुनिक प्रविधिको प्रयोग अझै पनि नेपालमा भइसकेको छैन ।

प्लास्टिक सर्जरीमा कुन–कुन सर्जरी महँगो छन् ?
प्लास्टिक सर्जरीमा रिकन्स्ट्रक्टिभभन्दा पनि कस्मेटिक सर्जरी महँगो छ । शल्यक्रिया कतिको जटिल छ भन्ने कुरामा त्यसको लागत निर्भर रहन्छ ।

आमनेपालीको पहुँचमा छ त प्लास्टिक सर्जरी ?
ओपिडीमा आउने बिरामीको चापका आधारमा प्लास्टिक सर्जरीमा आमनेपालीको पहुँच छ भन्न सकिन्छ । शल्यक्रियामा आउने बिरामीको चापका आधारमा पनि आमनेपालीको प्लास्टिक सर्जरीमा पहुँच भएकै देखिन्छ ।
कतिपय बिरामीले शल्यक्रियाका लागि महिनौँ पनि कुर्नुपर्ने हुन्छ, जुन बिरामीको अवस्था हेरेर हुन्छ । त्रिवि शिक्षण अस्पतालकै कुरा गर्नुपर्दा यहाँ ५ हजारदेखि नै प्लास्टिक सर्जरी हुने गरेको छ । सानोतिनो स्कारहरू निकाल्ने शल्यक्रिया सबैभन्दा कम लागतमा गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय