नागरिक अगुवा, चिकित्सक संघ र शुभेच्छुकको आग्रहपछि डा. केसी २४ दिन लामो अनशन तोड्दै

२४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले शुक्रबार बेलुका ७ बजे अनशन तोड्ने भएका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायतका नागरिक अगुवा, माथेमा कार्यदलका सदस्यहरु, नेपाल चिकित्सक संघ, समर्थक तथा शुभेच्छुकहरुको निरन्तरको आग्रहपछि डा. केसी अनशनलाई स्थगित गरेर चिकित्साशिक्षा सुधारको अभियानलाई निरन्तरता दिने निर्णयमा पुगेका हुन् ।

डा. केसीले अहिले बेलुका ७ बजे अस्पतालका स्विपरहरु र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको हातबाट जुस पिएर अनशन तोड्दै छन् ।

१५औँ अनशनका क्रममा सरकारले आफूसित गरेको सम्झौता र प्रधानमन्त्री स्वयम्ले गरेको प्रतिबद्धताविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चिकित्साशिक्षा विधेयक पास गरेपछि २५ पुसमा डा. केसीले इलामबाट १६औँ सत्याग्रह सुरु गरेका थिए । जनमतका हिसाबले दुईतिहाइ बहुमतप्राप्त मजबुत सरकारका प्रधानमन्त्रीले गराएको सम्झौतालाई लत्याएर विधेयकमा मेडिकल कलेजलाई असीमित र अनियन्त्रित सम्बन्धनको बाटो खोलिएको लगायत विषयमा असन्तुष्टि जनाउँदै डा. केसी चिकित्साशिक्षा सुधारका प्रमुख बाधक प्रावधानहरु हटाई माथेमा कार्यदलको प्रतिवेदनको मर्मअनुसार नै विधेयक पास गर्नुपर्ने मागसहित २४ दिनदेखि अनशनमा थिए । तर, जारी अनशनलाई बेवास्ता गर्दै सत्तापक्षले संसद्का दुवै सदनबाट संसदीय समितिको प्रतिवेदनअनुसार नै विधेयक पारित गराएको थियो ।

बिहीबार राष्ट्रिय सभाबाट समेत यथास्थितिमा विधेयक पारित गाराइएपछि प्रमुख प्रतिपक्षी दल, नागरिक अगुवा, माथेमा कार्यदलका सदस्यहरु, चिकित्सक संघ, शुभेच्छुक तथा शुभचिन्तकलगायतले सरकार संवेदनाहीन बनेको भन्दै डा. केसीलाई अनशन रोकेर नयाँ स्वरुपमा सत्याग्रह अघि बढाउन एकपछि अर्को आग्रह गरेका थिए । शुक्रबार साँझ अबेरसम्मको आग्रहपछि डा. केसी अनशन तोड्ने निर्णयमा पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय