१६औँ अनशनको २२औँ दिन- पूर्वप्रधानन्यायाधीशको ऐक्यबद्धता, देशभर डाक्टरको रिले अनशन र प्रदर्शन

२२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा नागरिक अगुवाले ऐक्यबद्धता जनाउने र चिकित्सकहरुले प्रदर्शन गर्नेक्रम बुधबार पनि जारी छ ।
बुधबार पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले अनशनस्थल पुगेर ऐक्याबद्धता जनाइन् ।

अनशनस्थल पुगेर कार्कीले सञ्चारकर्मीसँग डा. केसीले उठाएको माग पूरा हुँदा प्रधानमन्त्रीले हारको महसुस गर्न नपर्ने बताइन् । ‘प्रधानमन्त्रीले तपाईंको माग पूरा गर्छु भनेर प्रतिबद्धता जनाउनुभएको छ,’ कार्कीले भनिन्, ‘सबैका मनमा केसीका माग पूरा हुनुपर्छ भन्ने लागेको अवस्थामा प्रधानमन्त्रीको समेत जित हुन्छ ।’ उनले डा. केसीलाई दलविशेषसँग नजोड्नसमेत आग्रह गरिन् । यसअघि मंगलबार अर्का पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसमेत अनशनस्थल पुगेर ऐक्याबद्धता जनाएका थिए ।

रिले अनशन र प्रदर्शन

नेपाल चिकित्सक संघको आह्वानमा सोमबारदेखि जारी रिले अनशनका क्रममा बुधबार चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतका आवासीय चिकित्सकले राष्ट्रिय ट्रमा सेन्टरअगाडि रिले अनशन सुरु गरेका छन् ।
चिकित्सकहरुले रिले अनशनकै बीचमा वसन्तपुरसम्म -यालीसमेत प्रदर्शन गरेका थिए । संघको आह्वानमा अनशनस्थल त्रिवि शिक्षण अस्पतालपरिसरमा जारी रिले अनशनमा पनि बुधबार उल्लेख्य रुपमा चिकित्सकहरुकाे उपस्थिति थियो । नेसनल रेजिडेन्ट डक्टर्स एसाेसिएसनका अध्यक्ष डा. सुमित पाण्डेले बिहीबारदेखि आकस्मिकबाहेकका सेवा बहिष्कार र सोमबारदेखि रिले अनशन जारी राख्दा पनि सरकारले नसुनेको भन्दै अब त्योभन्दा कडा आन्दोलनको अवस्था आएको बताए । चिकित्सक संघको नेतृत्वमा देशव्यापी विरोधका कडा कार्यक्रममा जानुपर्ने अवस्था आएको उनकाे भनाइ थियाे ।

संघका अनुसार देशभरका ठूला सहर पोखरा, धरान, विराटनगर, वीरगन्ज, चितवनदेखि प्राथमिक स्वास्थ्यकेन्द्र र ठूला अस्पतालहरुमा चिकित्सकहरु काम छाडेर रिले अनशनमा जानेक्रम बढिरहेको छ । संघले बिहीबार माइतीघरमा बृहत् सभा गर्ने तयारी गरिहेको छ । डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गर्दा पनि सरकारले कुनै चासो नदिएपछि डाक्टरहरुले आन्दोलन चर्काउँदै लगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय