डा. केसीलाई निदाउनसमेत सकस, आइसियू अनिवार्य भए पनि जान इन्कार

२१ दिनदेखि अनशनरत डा. गोविन्द केसी छातीको कडा दुखाइ, श्वास–प्रश्वासमा समस्या र अत्यन्तै कमजोरीका कारण निदाउनसमेत नसक्ने भएका छन् ।चिकित्सकहरूका अनुसार उनको मुटुको चाल अनियमित र मन्द भएपछि तत्कालै आइसियूमा सार्न चिकित्सकले गरेको आग्रह डा. केसीले मानेनन् । कृत्रिम अक्सिजनविना केहीबेर पनि बस्न नसक्ने अवस्था छ । लामो समयको अनशन, इलेक्ट्रोलाइटको असन्तुलन र छातीको कडा दुखाइका कारण उनलाई आइसियूमा राख्नैपर्ने अवस्था आएको चिकित्सकहरूले बताएका छन् ।

रगतमा म्याग्नेसियम, क्याल्सियम, फस्फोरस, पोटासियमको मात्रा निकै कम भएकाले जोखिम झन् बढी छ । सोडियम, क्याल्सियमको कमीले मस्तिष्कमा र पोटासियम र म्याग्नेसियमको कमीले मुटुमा असर गर्छ ।

डा. केसीको शरीरमा चिनीको मात्रा, पोटासियम निकै खस्किए पनि लिन नमानेको उपचारमा संलग्न आइसियू विशेषज्ञ डा. प्रमेश श्रेष्ठले बताए । ‘स्वास्थ्यअवस्था निरन्तर खस्किरहेकाले जुनसुकै वेला के हुन्छ भन्न सकिन्न,’ डा. श्रेष्ठले भने ।

डा. केसीले उपचारसम्बन्धी चिकित्सकका कुनै पनि सल्लाह मानिरहेका छैनन् । पानीका रूपमा सामान्य स्लाइन मात्र लिइरहेका डा. केसीले मुटुको समस्याका लागि केही महिनादेखि नियमित रूपमा खाइरहेको औषधि ‘विटा ब्लकर’समेत लिन मानेका छैनन् । जसले झन् जोखिम बढाएको भनाइ चिकित्सकहरूको छ । विभिन्न अनशनका क्रममा मुटुमा समस्या देखिएपछि डा. केसीको दुईपटक ‘कोरोनरी एन्जियोग्राफी’ गरेर औषधि सुरु गरिएको थियो ।

महत्वपूर्ण अंग सञ्चालनका लागि महत्वपूर्ण पोषकतत्वको कमी भएकाले मुटुको समस्या ‘इरिदमिया’को जोखिम बढेको चिकित्सकहरू बताउँछन् । अघिल्ला अनशनमा समेत यो समस्या देखिएको थियो । चिकित्सकका अनुसार यस्तो समयमा मुटुको मांसपेशीमा रगत, अक्सिजन, ग्लुकोज कम भएर छाती दुख्ने समस्या देखिन्छ र जुनसुकै वेला हृदयाघात र मुटुको चालसमेत गडबड हुन सक्छ ।

डा. केसीको मुटुको चाल कम भएर ४० को हाराहारीमा पुग्ने गरेको र रक्तचाप ८०/५० सम्म झर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय