आँबुखैरेनीको छिम्केश्वरीमा बृहत् स्वास्थ्यशिविर सम्पन्न

आँबुखैरेनी गाउँपालिका र आँबुखैरेनी समाज काठमाडौंको संयुक्त आयोजनामा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा सञ्चालित स्वास्थ्यशिविर सफलतापूर्वक सम्पन्न भएको छ । जिल्लाकै विकट छिम्केश्वरीमा देशका विभिन्न ठाउँमा कार्यरत विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ्यसेवा दिइँदा स्थानीयको उल्लेख्य सहभागिता थियो ।
शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. प्रफुल्ल श्रेष्ठ, छालारोग विशेषज्ञ डा. रूपक घिमिरे, नाक–कान–घाँटीरोग विशेषज्ञ डा. लालबहादुर गुरुङ, बालरोग विशेषज्ञ डा. किरण देवकोटा, मेडिकल अफिसर डा. सन्तोष बस्याल र डा. नीरज थापाको टोलीले स्वास्थ्यपरीक्षण गरेको थियो । हाडजोर्नी विशेषज्ञ डा. प्रफुल्ल श्रेष्ठले २ सय ३० बिरामीले शिविरबाट प्रत्यक्ष लाभ लिएको बताए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गाउँपालिकाकै अति विकट र महाभारत पर्वतकै अग्लो डाँडामा यसरी स्वास्थ्यशिविर सञ्चालन हुनु त्यहाँका सम्पूर्ण स्थानीयका लागि अति लाभदायी रहेको र आँबुखैरेनी–काठमाडौं समाजका सदस्यहरूको सद्भाव र सेवाभावबाट आफू हर्षित भएको बताए । अब आउँदा दिनमा पनि समाजले आँबुखैरेनीका जनताका लागि नियमित यस्ता कार्यक्रम गरिरहने आँबुखैरेनी समाज काठमाडौंका अध्यक्ष प्रकाश कोइरालाले बताए ।

शिविरमा अस्पताल आउनबाट वञ्चित धेरै दीर्घरोगी उत्साहित हुँदै साझसम्मै आएको देख्दा अझै यस्ता कार्यक्रमको आवश्यकता झनै बढेर गएको महसुस गरेको डा. सन्तोष बस्यालले जानकारी दिए । उक्त कार्यक्रममा छिम्केश्वरीमा रहेको छिम्केश्वेरी हेल्थपोस्टलाई औषधि, १० थान कुर्सी र १ थान टेबुल सहयोग गर्ने घोषणा पनि अध्यक्ष कोइरालाले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय