प्रतिपक्षको अवरोधका बीचमै चिकित्साशिक्षा विधेयक प्रस्ताव राष्ट्रिय सभामा पेस

अपडेट

राष्ट्रिय चिकित्साशिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा पेस भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डा. केसीसँग संवाद थाल्न आग्रह गरेलगत्तै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षामन्त्रीलाई विधेयक पेस गर्न समय दिएका थिए ।

सोपश्चात् प्रतिपक्षी सांसदहरू बेलतर्फ अगाडि बढेपछि मर्यादापालकले रोकेर शिक्षामन्त्रीलाई अगाडि बढाएका थिए । शिक्षामन्त्री पोखरेलले विधेयक पेस गर्नासाथ विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका लागि समय तोकिएको थियो । समय तोकिएको केही सेकेन्डमै छलफलमा सहभागी हुन कसैले पनि नाम नलेखाएको भन्दै निर्णयार्थ पेस गरिएको थियो । यसअघि बैठकमा बोल्दै कांग्रेसका सांसद अधिकारीले अहिले सम्बन्धन दिएका दुवै विश्वविद्यालयका डिनहरूले नै ओभरलोडेड भएको भनिरहँदा सरकार अन्य विश्वविद्यालयबाट सम्बन्धन दिन सक्ने विकल्पको खोजीमै नलागेको बताए ।

‘एकातिर डा. केसीको स्वास्थ्य जोखिममा छ, अर्कोतिर बिएन्डसीको मोहका कारण संसद्मा प्रतिपक्षी दलले जिम्मेवार हुन खोज्दाखोज्दै पनि नसक्ने अवस्था आएको छ,’ अधिकारीले भने, ‘डाक्टरहरूको ऐक्यबद्धता बढ्दै जानुपर्छ । वार्ताटोलीले कुरा गरोस् भन्ने चाहन्छु ।’
राष्ट्रिय सभाको आगामी बैठक १७ माघका लागि निर्धारण गरिएको छ ।

………

यसअघि प्रतिनिधिसभाले शुक्रबार पारित गरेको चिकित्साशिक्षासम्बन्धी विधेयक सोमबार राष्ट्रिय सभामा प्रतिपक्षको अवरोधका बीचमा टेबल भएको थियो ।

सुरुमै कांग्रेसका सांसद बद्री पाण्डेले दुई नेताको नाममा रहेको अस्पतालको विषय सरकारले नटुंग्याएसम्म संसद्को कारबाही अगाडि बढ्न नदिने भनेपछि कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए ।

सुरुमा १५ मिनेटका लागि स्थगित गरेर सुरु भएको बैठकमा अवरोधकै बीचमा राष्ट्रिय सभाका अध्यक्षले सचिव राजेन्द्र फुँयाललाई प्रतिनिधिसभाबाट आएको सो विधेयक टेबल गर्न अनुमति दिएका थिए ।

अवरोधकै बीचमा अध्यक्षले २ देखि ५ सम्मका कार्यसूचीका विषय हटाएर टेबल गरेसँगै आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय