सोमबारदेखि देशभर चिकित्सकको रिले अनशन, अस्पताल बन्दै हुन सक्ने चेतावनी

नेपाल चिकित्सक संघले भोलि (सोमबार)देखि देशभरका स्वास्थ्यसंस्थामा रिले अनशन गर्न चिकित्सकहरूलाई आह्वान गरेको छ । १५औँ सत्याग्रहका क्रममा सरकारले गरेको सम्झौता कार्यान्वयन गरी १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्नुको सरकार उल्टो दिशामा हिँडेकाले उनको जीवनरक्षाका लागि चिकित्सकहरू आन्दोलित हुनुपरेको संघले जनाएको छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीको जीवन रक्षाका लागि संघ कुनै पनि खालका कडा आन्दोलनमा जान तयार रहेको भन्दै अब त्यो समय आएको बताए । उनले सत्ता, पद र केही लोभमा परेर चिकित्सक माझ विभाजन ल्याउने भ्रम फैलाउनेत काम पनि भइरहेको भन्दै भ्रममा नपर्न समेत आग्रह गरे ।
उनले चिकित्सकलाई संघको आन्दोलनमा साथ लिन भन्दै अहिले आन्दोलनमा असहयोग गरे त्यसको हिसाब चुक्ता गर्ने चेतावनी समेत दिए ।

डा. केसी अनशन बसिरहेको भवनको प्रांगणमा डाक्टरहरू जम्मा भई नारासहित विरोध प्रदर्शन गरे । चिकित्सक संघको आह्वानमा आइतबार त्रिवि शिक्षण अस्पतालमा भेला भएका चिकित्सकहरूले डा. केसीको माग तत्काल पूरा गर्न माग गर्दै र्याली निकालेका थिए । संघ र आवासीय चिकित्सकको संयुक्त र्यालीमा चिकित्सकहरूले माफियामुखी ऐन चाहिँदैन, डा. केसीको माग पूरा गर, जनतामुखी चिकित्साशिक्षा ऐन पारित गर, मेडिकल माफिया होसियार, आज अनशनको १९ दिन सरकार किन मौन, मार्सी चामलसँग ऐन साट्न पाइँदैन, सांसदको घडीमा माफियाको ब्याट्रीजस्ता नारा लगाएका छन् । र्याली कान्ति बाल अस्पताल पुगी पुनः त्रिवि अस्पताल फर्किएको थियो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले छिटोभन्दा छिटो डा. केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारले माग पूरा गर्ने चाहना नदेखाए संघले आन्दोलन कडा बनाउँदै लैजाने उनको भनाइ छ । ‘डा. केसीका माग पूरा नभए देशभरका अस्पताल पूर्ण रूपमा बन्द हुने अवस्था आउन सक्छ,’ उनले सरकारलाई चेतावनी दिँदै भने ।

अध्यक्ष डा. श्रेष्ठले रिले अनशनपछि पनि सरकार डा. केसीको मागप्रति उदासीन रहेमा क्रमिक रूपमा आन्दोलनका कार्यक्रमलाई कडा बनाउँदै लैजाने बताए । सत्तापक्षले प्रतिपक्षको अवरोधका बाबजुद डा. केसीसितको सम्झौताविपरीत शुक्रबार प्रतिनिधिसभाबाट चिकित्साशिक्षा विधेयक बहुमतले पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय