‘मेडिकल माफिया पोस्ने विधेयक’ विरुद्ध शनिबार माइतीघरमा प्रदर्शन हुने

१५औँ अनशनको सम्झौताविपरीत प्रतिनिधिसभाबाट पारित चिकित्साशिक्षा विधेयकले मेडिकल माफियालाई पोसेको भन्दै डा. गोविन्द केसीको सत्याग्रहका समर्थकहरूले शनिबार मेडिकल माफियाविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

‘डा. केसीलाई बचाऔँ, नेपाललाई बचाऔँ’ भन्ने नारासहित मध्याह्न १२ बजे माइतीघरमा भेला भएर माफिया पोस्ने विधेयकविरुद्ध बानेश्वरसम्म प्रदर्शन गरिने डा. गोविन्द केसी सोलिडारिटी अलायन्सका अभियन्ता प्रीतम सुवेदीले बताए ।

१६औँ अनशनको १७औँ दिन केही मेडिकल कलेजलाई मात्रै फाइदा पुग्ने गरी प्रतिपक्षलाई समेत पेलेर विधेयक पारित गरिनु मेडिकल माफियालाई पोस्ने खेल भएको अलायन्सको ठहर छ । अलायन्सले आमनागरिकलाई ‘तपाईं डा. गोविन्द केसीजस्ता नागरिकको साथमा कि माफियाको ?’ भन्दै प्रश्नसमेत गरेको छ ।

विधेयक पारित भएसँगै डा. केसीले गरेको पत्रकार सम्मेलनमा समेत उनले आमनागरिकलाई अभियानमा साथ दिन आह्वान गरेका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट पारित विधेयकलाई सच्याएर मात्रै पारित गर्न डा. केसीले बारम्बार आग्रह गर्दा पनि संसद्मा सत्तापक्षले पेलेरै हुबहु विधेयक पारित गरेको थियो । विधेयकमा मनसायपत्र लिएका कलेजका सन्दर्भमा सम्बन्धन दिन बाटो सहज गरिँदा स्पष्ट रूपमा केही मेडिकल कलेजलाई प्रत्यक्ष फाइदा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय