डा. केसीको अनशन र चिकित्सकका विरोध कार्यक्रम यथावत्

१५औँ अनशनका क्रममा भएका सम्झौताअनुसार चिकित्साशिक्षा विधेयक पारित गर्नुपर्ने प्रमुख मागसहित १७ दिनदेखि अनशनरत डा. गोविन्द केसीले विकसित घटनाक्रमसँगै अनशनलाई निरन्तरता दिने भएका छन् ।

संसद्ले प्रतिपक्षको अवरोधका बाबजुद संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट पारित प्रतिवेदनसहित शुक्रबार विधेयक पास गरेपछि पनि डा. केसीले अनशनलाई निरन्तरता दिने जनाएका छन् ।

उनले माग पूरा नभएसम्म कुनै पनि सर्तमा अनशन नतोड्ने र सत्याग्रह यथावत् रहने बताए ।

त्यसैगरी डा. केसीको मागप्रति ऐक्यबद्धता र जीवनरक्षाको मागसहित आन्दोलनरत आवासीय चिकित्सक र नेपाल चिकित्सक संघले पनि आफ्ना माग र कार्यक्रम यथावत् रहने बताएका छन् । ‘वार्तासमेत नगरी पेलेर जुन रूपमा विधेयक पारित गरियो, त्यसले एउटा डाक्टरको जीवनरक्षाप्रति सरकारले चरम लापरबाही गरेको देखिन्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने, ‘अनशन अन्त्य हुने परिस्थिति नबन्दासम्म हामी मौन बस्न सक्दैनौँ ।’

डा. श्रेष्ठले शनिबार उपत्यकाका अस्पतालका निर्देशक र सदस्यहरूको बृहत् भेला बोलाएर आइतबारदेखि कडा आन्दोलन गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय