‘डा. केसी भोकै बस्न हुने, हामी किन नबस्ने ?’

सरकारले डा. गोविन्द केसीसित सहमति गर्ने र आफैँ सहमति तोड्ने वा कार्यान्वयन नगर्नेक्रम बाम्बार दोहोर्याउँदा डा. केसीको स्वास्थ्यमा गम्भीर जोखिम देखिएको भन्दै नागरिकसमाजले जीवनरक्षाका लागि सरकारसित अपिल गरेको छ ।

पूर्वसहमति कार्यान्वयनको मागसहित १६औँ सत्याग्रहमा रहेका डा. केसीको अनशन १६औँ दिनमा पुगिसक्दा उनको जीवन जोखिममा परेको अवस्थाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै नागरिक अगुवाहरूले जीवनरक्षाका हस्ताक्षरसहित सामूहिक आह्वान गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितका नागरिक अगुवाहरूले १५औँ सत्याग्रहका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकै पहल र रोहबरमा डा. केसीसित भएको सम्झौताको इमानदारीका साथ कार्यान्वयन गर्न अपिल गरेका छन् । डिल्लीबजार भोजनगृहमा बिहीबार भेला भएका नागरिक अगुवाहरूले सम्झौताको इमानदार कार्यान्वयनमार्फ डा. केसीको जीवनरक्षाका लागि सामूहिक हस्ताक्षरसहित आह्वान गरेका हुन् ।

यसअघि पनि नागरिक अगुवाहरूले डा. केसीसितको सम्झौताबाट सरकार पछि हटेमा राज्यकै विश्वसनीयता गुम्ने भन्दै सरकारलाई संवेदनशील हुन अपिल गरेका थिए ।

‘मेरा कक्षाका विद्यार्थी हुन्थे भने सञ्चारमन्त्रीको कान समात्थेँ’

नागरिक अगुवा दुर्गा सुवेदीले डा. केसी भोक हड्तालमा बसिरहँदा उहाँको समर्थनमा भोक हड्तालमा उत्रिन सबैसँग आग्रह गरे ।
हस्ताक्षर संकलन गरिनुअघि आयोजित छलफलमा बोल्दै सुवेदीले कामविनाको ऐक्यबद्धताले अर्थ नराख्ने भन्दै रिले अनशनका लागि आह्वान गरे । ‘म मृत्युप्रति निर्भय छु,’ उनले भने, ‘कम्तीमा एकदिन भोकै बसेर सरकारलाई दबाब दिअाैँ ।’

सुवेदी सत्यका लागि भोकै बसेर मर्न परे पनि त्यो खुसीकै विषय हुने समेत बताए । कार्यक्रमका अधिकांश वक्ताले सुवेदीको प्रस्तावमा समर्थन जनाएका थिए । सुवेदीले नागरिक तहबाट पनि धर्ना र भोक हड्तालका कार्यक्रम गर्नुपर्ने बताए ।

मानवअधिकारवादी कृष्ण पहाडीले शान्तिसमाजले डा. केसीसँगको विगतको सम्झौता कार्यान्वयन र भ्रष्ट्रचारविरुद्ध देशभर आन्दोलन छेडिसकेको भन्दै सत्याग्रहलाई निस्तेज गर्ने सरकारले षड्यन्त्र गरिरहेको बताए । ‘गल्ती गरेको मान्छे विचलित हुन्छ, सरकार पनि विचलित छ,’ उनले भने ।

प्राध्यापक कपिल श्रेष्ठले अहिलेको सरकारको रवैयाले बुद्धिजीविहरु लज्जित, दुःखित र आक्रोशित भइरहेको भन्दै प्रधानमन्त्रीले दोहोराे चरित्र देखाएको आरोप लगाए । ‘लोकतन्त्रमा विश्वासघात गरेर जग हसाइरहेका छन्,’ श्रेष्ठले भने ।
अहिले सरकार सत्य कुरा छोप्न र झुटोलाई फैलाउने गोयवल्स शैलीमा लागेको भन्दै सञ्चारमन्त्रीको शैलीप्रतिसमेत आपत्ति जनाए । ‘झन् सञ्चारमन्त्रीको तरिका, मेरो कक्षाका विद्यार्थी हुन्थे भने कान समात्थेँ ।’

नेपाल बार एसाेसिएसनका पूर्वमहासचिव सुनील पोखरेलले डा. केसीजस्तो मान्छे गुमाउनुपर्ने अवस्था आउने होकि भन्ने त्रास भइरहेको बताए । अधिवक्ता दिनेश त्रिपाठीले सरकारले डा. केसीलाई गम्भीर धोका दिएको भन्दै संसदीय सर्वोच्चताको नाममा मनपरी गर्न नमिल्ने बताए । ‘संसद् भनेको जनताको वारेसनामाप्राप्त संस्था हो, दुईतिहाइ छ भन्दैमा केपी ओलीलाई श्री ५ घोषणा गर्न नसक्ने’ बताए ।
पत्रकार युवराज घिमिरेले प्रधानमन्त्रीले मैले हस्ताक्षर गरेको त हो तर कार्यान्वयन गर्न बाध्य छैन भन्ने अभिव्यक्ति दिइरहेको भन्दै सहमति पूरा गर्नुपर्ने बाध्यात्मक अवस्थामा पु-याउनुपर्नेमा जाेड दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय