बदलिँदै छ वीरलाई हेर्ने सोच, भिआइपी रोजाइमा पर्दै

उपचार खर्च कत्ति पनि नहुनेको समेत उपचार हुने मुलुककै पुरानो र ठूलो केन्द्रीय अस्पताल वीर पछिल्लो समय भिआइपीको समेत आकर्षण बन्दै गएको छ । सरकारी अस्पतालका सेवा, सुविधा र उपचारमाथि सन्देहको दृष्टिले हेर्ने मानसिकतामा बिस्तारै परिवर्तन देखिन थालेको हो ।
प्रतिनिधिसभाअन्तर्गत लेखा समितिका सभापति भरत शाहले भर्खरै वीर अस्पतालको भिआइपीकक्षमा भर्ना भई शल्यक्रियासहितको उपचारसेवा लिएका छन् । मिर्गौलामा रहेको पत्थरीको शल्यक्रियामार्फत उपचार गराउन अघिल्लो आइतबार अस्पतालमा भर्ना भएका उनको सोमबार (भोलिपल्ट) लेजर प्रविधिबाट शल्यक्रिया गरिएको थियो । उनको उपचारमा डा. रविन बस्नेत र अनिल श्रेष्ठ संलग्न थिए । सफल उपचारसँगै उनी घर फर्किसकेका छन् ।

वीरका निर्देशक डा. भूपेन्द्र बस्नेत अस्पतालमा सबै तहतप्का र वर्गका बिरामीको आकर्षण बढ्नुमा उपचारका सबै प्रविधिको उपलब्धता र गुणस्तरीय सेवाप्रवाहलाई कारण मान्छन् । ‘वीर अस्पतालमा उपचारका लागि सबै प्रविधि भएका कारण नै सबैको आकर्षण बढ्दै गएको हो,’ उनी भन्छन्, ‘हामी बिरामीलाई राम्रो र सर्वसुलभ उपचार दिँदै आएका छौँ ।’ उनका अनुसार पछिल्लो समय अस्पतालमा उपचार गराउनेमा सर्वसाधारणको मात्र नभई भिआइपीको समेत विस्वास बढेको छ । अस्पतालमा बेडको व्यवस्थापन तथा सरसरफाइको अवस्था राम्रो भएका कारण पनि बिरामीको आकर्षण बढ्दै गएको निर्देशक डा. बस्नेतको ठम्याइ छ ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य रामकुमारी चौधरीले करिब डेढ महिनाअघि वीरमै भर्ना भएर उपचारसेवा लिएकी छिन् । घुँडाको समस्याबाट पीडित चौधरी १५ मंसिरमा अस्पताल भर्ना हुन आइपुगेकी थिइन् । शल्यक्रियासहितको उपचारपश्चात् चौधरी केही दिनमा डिस्चार्ज भइन् । केही वर्षअघि पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल निमोनिया हुँदा वीरमा भर्ना भएर उपचार गराएका थिए, यूवा नेता गगन थापाले समेत आफ्नी श्रीमतीको पत्थरीको शल्यक्रिया वीरमै गराएका थिए । त्यसैगरी केही महिनाअघि नेकपा नेता लिलामणि पोखरेल पनि दुबै मिर्गौलामा रहेको जटिल पत्थरीको शल्यक्रिया गराएका थिए ।

पुष्पकमल दाहाल प्रधानमन्त्री रहेको समयमा स्वास्थ्य मन्त्री गगन थापाले सरकारी अस्पताललाई सुविधा सम्पन्न गर्ने भन्दै वीरले मागजति सहुलियत, उपकरण र रकम उपलब्ध गराएका थिए । उनले छुट्टै स्वतन्त्र प्राविधिक टोली बनाएर विर सुधारको मार्गचित्र बनाएर बजेट उपलब्ध गराएका थिए । त्यसपछिका सरकार एवं मन्त्रीहरुले समेत वीरका लागि आवश्यक बजेटलगायत अन्य सहजिकरणलाई पहिलो प्राथमिकतामा राख्न थालेका छन् । तत्कालिन स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले समेत धुर्मस सुन्तली फाउन्डेसन्ससँग मिलेर सरसफाई अभियान चलाइन् ।

वीरमा हत्तपत्त प्रयोगमा नआउने भिआइपी र भिभिआइपी क्याबिन समेत छ । वीर अस्पतालको दक्षिणतर्फको भवनको दोस्रो तलामा उक्लनेबित्तिकै ‘भिआइपी क्याबिन’ छ । ढोकाबाट पस्नेबित्तिकै दायाँ र बायाँ दुवैतर्फ करिडोर छन् । दाहिनेतर्फ भिआइपीकक्ष छ, जहाँ सुविधायुक्त बेड, सोफा, एयरकन्डिसन, एटेज बाथरुम, राम्रा बत्ती तथा पर्दाहरू छन् ।

सरसफाइका कारण अस्पतालप्रति आकर्षण बढ्दै
स्वास्थ्य मन्त्रालयको अगुवाइमा गत वैशाखमा वीर अस्पतालको सरसफाइको नेतृत्व खेम्स क्लिनिङ तथा धुर्मुस–सुन्तली फाउन्डेसनले लिएका थिए । त्यसक्रममा ४४ दिन लगाएर अस्पतालमा रङरोगन तथा सरसफाइको काम गरिएको थियो । उक्त सरसफाइमा टुटेफुटेका धारा, दिसापिसाब भरिएर गन्हाउने शौचालय, बत्ती र टेलिफोनका यत्रतत्र छरिएका र लत्रिएका तारको उचित व्यवस्थापन गरिनुका साथै चिम नभएका ठाउँमा बत्ती जडान गरिएको थियो । यससँगै अस्पताल भवनका भित्ताहरू सचित्र सजाइएका थिए । सरसफाइको उक्त कार्यक्रमलाई अहिले पनि अस्पतालले निरन्तरता दिँदै आएको निर्देशक डा. बस्नेत बताउँछन् । भिआइपीहरूको पनि अस्पतालमा आकर्षण बढ्नुमा सरसफाइ पनि प्रमुख कारण भएको डा. बस्नेतको भनाइ छ ।

कुनै समयमा राजपरिवारका सदस्य बिरामी पर्दा प्रयोग गरिने वीर अस्पतालको भिआइपीकक्षमा अहिले मन्त्री, ठूला पदाधिकारी, भिआइपीलगायतले उपचार गराइरहेका छन् । वीरमा ३५ वर्षअघि राजपरिवारका एक सदस्यले शल्यक्रिया गराएका थिए । राजपरिवारका लागि छुट्याइएको भिआइपीकक्ष ०४६ यता प्रयोग भएकै थिएन । देशमा गणतन्त्र आएपश्चात् ०७१ मा भिआइपीकक्षको रङरोगन गरिएको थियो ।  तर, पछिल्लो समय भने बिस्तारै मन्त्रीदेखि लिएर उच्चपदस्थ अधिकारीहरूसमेत वीरको भिआइपीकक्षमा भर्ना भई उपचार गराउन आकर्षित हुन थालेका हुन् ।

कस्तो छ भिआइपीकक्ष ?
वीरमा हत्तपत्त प्रयोगमा नआउने भिआइपी र भिभिआइपी क्याबिन समेत छ । वीर अस्पतालको दक्षिणतर्फको भवनको दोस्रो तलामा उक्लनेबित्तिकै ‘भिआइपी क्याबिन’ छ । ढोकाबाट पस्नेबित्तिकै दायाँ र बायाँ दुवैतर्फ करिडोर छन् । दाहिनेतर्फ भिआइपीकक्ष छ, जहाँ सुविधायुक्त बेड, सोफा, एयरकन्डिसन, एटेज बाथरुम, राम्रा बत्ती तथा पर्दाहरू छन् ।

बिरामीको स्वास्थ्यअवस्था देखाउने ‘बेडसाइड मनिटर’ जडित छ, जसले बिरामीको हृदयगति, श्वास–प्रश्वास, रक्तचाप, शरीरको तापक्रमलगायत अवस्थाबारे जानकारी दिने गर्छ । त्यसैगरी, कोठामा सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सन, ‘डिफिब्रिलेटरलगायत आपत्कालीन उपचारका निम्ति आवश्यक सम्पूर्ण औषधि तथा सामग्री छन् । नजिकैको कोठामा इसिजी मेसिन छ । यसका साथै भेन्टिलेटर, अक्सिजनलगायत स्वास्थ्योपचारमा आवश्यक मानिने सबैखाले सेवा र पूर्वाधारले यो कक्षलाई व्यवस्थित गरिएको छ । यहाँ बिरामी भेट्न आउने भिआइपीहरूका लागि विशिष्ट आगन्तुककक्ष, बिरामीको आफन्त बस्ने कक्षसहित सुरक्षाकर्मीको समेत कक्ष छन् । वीरमा भिआइपी वार्डका लागि ६ वटा कोठा छुट्याइएका छन् ।

वीरमा उपचारका लागि आवश्यक सबैजसो सेवा–सुविधा उपलब्ध छन् । सिटी स्क्यान, एमआरआईलगायतका अत्याधुनिक उपकरण वीरमा उपलब्ध छन् ।

भिआइपीहरूले उपचारका लागि विदेश रोजेकाले एकातिर यहाँका स्रोत–साधन त्यसै खेर गइरहेका छन् भने अर्कोतिर राज्यकोषको करोडौँ रूपैयाँ बिदेसिरहेको छ । देशका ठूला नेता तथा उच्च ओहदाका व्यक्तिहरूले राज्यकोषबाट करोडौँ रूपैयाँ उपचार खर्च लिएर बाह्य देश जानुको सट्टा स्वदेशमै उपचार गराएमा एकातिर देशको ढुकुटी रित्तिने थिएन भने अर्कोतर्फ उनीहरूका नाममा ठूलो लगानीमा निर्मित यस्ता कक्षको सदुपयोग हुने थियो । यससम्बन्धमा सम्बन्धित पक्षको ध्यान जानुपर्ने देखिन्छ । वीरबाट पछिल्लो समय वार्षिक साढे ३ लाखभन्दा बढी सर्वसाधारणले ओपिडीसेवा लिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय