डा. केसीको समर्थनमा तात्यो सदन र सडक, मानवअधिकारकर्मी पक्राउ, डाक्टर पनि आन्दोलित

हेल्थपोस्ट नेपाल

अनशनरत डा. गोविन्द केसीको समर्थन र सत्तापक्षको सदनमा पेरेरै चिकित्साशिक्षा विधेयक पारित गर्ने प्रयासको विरोधमा मंगलबार अपराह्न नेपाल विद्यार्थी संघले गरेको सडक प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो भिडन्त भएको छ ।
नयाँबानेश्वरमा झडपअघि संसद्मा समेत घम्साघम्सी भएको थियो । जसरी पनि चिकित्साशिक्षा विधेयक पारित गर्ने सत्तापक्षको योजना प्रतिपक्षको अवरोधका कारण सफल हुन सकेन । तेस्रोपटक प्रयास गर्दा पनि सभामुखले बैठक सुचारु गर्न नसकेपछि ११ गतेसम्मका लागि स्थगित गरिएको छ । संसद्भित्र सभामुखले पेलेको भन्दै नेवि संघ तत्कालै सडकमा उत्रिएको थियो ।

नयाँबानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शनकारीले चर्को नाराबाजीसहित निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि करिब आधा घण्टा चलेको दोहोरो भिडन्तमा करिब एक दर्जन नेविसंघका नेता तथा कार्यकर्ता घाइते भएका छन् ।
दोहोरो झडपले केही समय नयाँबानेश्वरक्षेत्र तनावग्रस्त बनेको थियो । नेविसंघका उपाध्यक्ष डिल्लीराम सुवेदीका अनुसार प्रहरीको लाठीचार्जबाट झन्डै एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन् । महामन्त्री कुन्दनराज काफ्लेसहित उपाध्यक्ष सुवेदी, विद्यार्थी नेता दुजाङ शेर्पा, सुमित कार्की, तपेन्द्र बुढा, चन्द्रदेव खनाल, सुजन न्यौपाने, रवीन्द्र रोकायालगायत घाइते भएको नेविसंघले जनाएको छ ।

निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
यसअघि आयोजित कोणसभामा नेविसंघका विभिन्न पदाधिकारी तथा नेताहरूले डा. केसीले सामान्य नेपालीको स्वास्थ्यका लागि आफ्नो ज्यान जोखिममा राखेर लडिरहेको भन्दै उनीसँगको सम्झौताअनुरूप नै चिकित्साशिक्षा विधेयक ल्याउनुपर्ने माग राखेका थिए । माफियाको इसारामा राज्यको विश्वसनीयता नै गुम्ने गरी आफैँले गरेको सम्झौताबाट पछि हटेर सरकारले डा. केसी र आमनेपालीको स्वास्थ्यसँग खेलबाड गरेकाले सडकमा आउन बाध्य भएको उनीहरूको भनाइ थियो । सदनमा सभामुखले प्रतिपक्षले अवरोध खडा गर्दागर्दै पनि पेलेर जान खोजेपछि आफू तत्काल सडकमा उत्रिएको नेविसंघले बताएको छ ।

मानवअधिकारकर्मीको धर्नामा प्रहरी हस्तक्षेप


त्यसैगरी, डा. केसीको माग पूरा गर्नुपर्ने तथा वाइडबडी जहाज खरिद प्रकरणमा संलग्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै मानअधिकार तथा शान्ति समाजले मंगलबार नयाँबानेश्वरमै धर्ना दिएको छ । मानवअधिकारकर्मीको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । धर्नाबाट समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित २१ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् ।

जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीको आकस्मिकबाहेक सेवा बहिष्कार


त्यसैगरी, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले डा. केसीको सत्याग्रहमा समर्थन जनाउँदै आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बहिष्कार गर्ने कार्यक्रम घोषणा गरेको छ । बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानका रेजिडेन्ट डाक्टरहरूको उक्त संगठनले गुणस्तरीय स्वास्थ्य सुविधामा सुर्वसुलभ पहुँज सुनिश्चित गर्दै स्वास्थ्यशिक्षामा भएका र हुने गरेका तमाम विकृति तथा विसंगतिविरुद्ध पटक–पटक अनशन बस्नुपरेको र सरकारले डा. केसीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरू सेवाबहिष्कारमा उत्रिएका हुन् ।



One thought on “डा. केसीको समर्थनमा तात्यो सदन र सडक, मानवअधिकारकर्मी पक्राउ, डाक्टर पनि आन्दोलित

  1. गोविन्द के सी का माग भित्र राजनीति नभएको पक्कै होइन ./ समय समय को राजनैतिक आन्दोलन हुन् ./ जब के सी सरको माग अनुसार एम बि बि एस को सुल्क ३० – ४० लाख तोकिन्छ अनि गरिब को नारा दि इ न्छ भने त्यो गरिबको नाम मा गरिएको राजनैतिक क्रान्ति हो / अनि एउटा भ्रम हो .

    बिना बिशेषज्ञ बिना का सयौ अस्पतालहरु छन् काठ्मनडुमा जुन घुमन्ते बिषशज्ञहरु द्वारा संचालित छ ,अर्को तिर धेरै पी जी पास हरु जागिर को खोजिमा छन्./ सरकार जागिर दिन नसक्ने , नर्सिङ्ग होमहरु पनि जागिर नदिने मेडिकल कलेज नखुल्ने हो भने ति पी जी कहा गएर काम गर्ने ? बिषशग्य बिनाका नर्शिंग होम को मनपरी हटाउन र सस्तो स्वास्थ्य सेवा का लागि जति सक्दो धेरै शिक्षण अस्पतालको खाचो भएको देशमा रोक्नु भनेको राम्रो कार्य अवस्य होइन/ .
    मेडिकल शिक्षामा आरक्षणको माग गर्ने के सी सर को बिचार भित्र राजनैतिक आरक्षण पनि भएकोले बास्तबिकता बुझ्ने जो कोहिले पनि पूर्ण समर्थन गर्न सक्दैनन्. /

Leave a Reply

Your email address will not be published. Required fields are marked *