चिकित्साशिक्षा विधेयकमा सत्तापक्षको पेल्ने मुड र प्रतिपक्षको अवरोधले संसद्मा तनाव

सत्तापक्ष र प्रतिपक्ष आआफ्नै अडानबाट टसका मस नहुँदा मंगलबार पनि संसद्को कामकारबाही सुचारु हुन सकेन । चिकित्साशिक्षा विधेयक पारितलगायत कार्यसूचीसहित दिउँसो ३ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा सभामुखले बैठक सुरु भएको जानकारी दिनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले सुरुमा उठेर अवरोध जनाए । तर, सभामुखले प्रतिपक्षको अवरोधका बाबजुद पनि पेलेरै संसद्को कारबाही अघि बढाउन खोजेपछि कांग्रेस सांसदहरूले रोस्ट्रम घेरेर बैठक अघि बढ्न नदिएका हुन् ।

कांग्रेस नेताका नामका अस्पताल र डा. केसीको अनशन मुद्दा
अवरोध खडा गर्ने सांसदहरूका तर्फबाट सभामुखले कांग्रेस सांसद प्रकाशमान सिंहलाई बोल्ने अवसर दिए । आफ्नो अवरोधको कारणबारे संसद्लाई जानकारी गराउँदै सांसद सिंहले सरकारले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित दुई अस्पताललाई नियतवश केन्द्र सरकारमातहत ल्याउनबाट रोकिएकाले मन्त्रिपरिषद्ले त्यसलाई नसच्याएसम्म अवरोध कायम रहने बताए । ११ वटा अस्पताल केन्द्र सरकारमातहत ल्याउन सिफारिसमा परेकामा ९ वटालाई ल्याउने निर्णय गर्ने तर कांग्रेसका नेताका नाममा स्थापित भएकै कारणले दुईवटा अस्पताललाई अलपत्रमा पार्ने सरकारको निर्णय पूर्णतः पूर्वाग्रही भएको सिंहको आरोप थियो ।

गणतन्त्र स्थापना र शान्तिप्रक्रियाको सफल नेतृत्व गरेका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित तनहुँको ‘जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र’ र संविधान निर्माणको नेतृत्वकर्ता स्वर्गीय सुशील कोइरालको नाममा स्थापित बाँकेको ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’बाहेक सिफरिसमा परेका अन्य ९ अस्पताललाई मन्त्रिपरिषद्ले केन्द्र सरकारमातहत ल्याउने निर्णय गरेको थियो ।
त्यसैगरी सांसद सिंहले अहिलेकै सरकारले अनशनरत डा. गोविन्द केसीसित १५औँ अनशनका क्रममा गरेको सम्झौताविपरीत चिकित्साशिक्षा विधेयक पारित गर्ने तयारी भइरहँदा सरकार र राज्यमाथिकै विश्वसनीयता गुम्ने खतरा बढिरहेकाले त्यसो हुन नदिन पनि संसद अवरुद्ध गर्नुपरेको बताए । उनले डा. केसीसित सरकारले गरेको सम्झौताअनुसार नै विधेयक पारित गरी अनशनरत डा. केसीको जीवनरक्षा गर्नसमेत माग गरे ।

पतिपक्षले रोस्ट्रम घेर्यो
प्रतिपक्षी कांग्रेसको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले प्रतिपक्षीको मागबारे आफूले हिजोको बैठकमै सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै पेलेरै बैठकको कामकारबाही अघि बढाउन खोजेपछि कांग्रेस सांसदहरू आक्रोशित हुँदै रोस्ट्रम घेर्न पुगेका थिए । आक्रोशित कांग्रेस सांसदहरूलाई सभामुखको आसनतर्फ जानबाट रोक्न भारी संख्यामा खटिएका मर्यादापालकहरूलाई हम्मे–हम्मे परेको देखिन्थ्यो । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

शिक्षामन्त्रीलाई समातेरै प्रस्ताव पेस गर्न रोकियो
१५ मिनेटका लागि स्थगित बैठक सभामुखले पुनः सुरु गर्न भ्याउँदानभ्याउँदै रोस्ट्रम घेर्न पुगेका कांग्रेस सांसदहरूको अवरोधलाई यसपटक सभामुखले कुनै भाउ दिएनन् । प्रतिपक्षको अवरोधका बीच सभामुखले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेललाई ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित राष्ट्रिय चिकित्साशिक्षा विधेयक २०७५ माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्न अनुमति दिए । सोलगत्तै प्रस्ताव पेस गर्न रोस्ट्रमतर्फ हिँडेका शिक्षामन्त्री पोख्रेललाई कांग्रेस सांसदहरूले चारैतर्फबाट घेरेर रोस्ट्रममा जान दिएनन् । मन्त्री पोख्रेलले कांग्रेसको रोकावट चिर्दै रोस्ट्रतर्फ अघि बढिरहेपछि कांग्रेस सांसदले उनलाई समातेरै रोके । झन्डै झडपकै अवस्था सिर्जना हुन खोजेपछि सभामुखले पुनः १५ मिनेटका लागि बैठक स्थगित गरे, जुन हालसम्म सुरु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय