स्वास्थ्यसेवा लिएर तानसेन सरकार घर–घरमा

हेल्थपोस्ट नेपाल

तानसेन नगरपालिकाले घर–घरमा निःशुल्क स्वास्थ्यसेवा अभियानको सुरुवात गरेको छ । आर्थिक वर्ष ०७५/७६ को स्वीकृत कार्यक्रमअनुसार अतिविपन्न, ज्येष्ठ नागरिक, सुत्केरी र फरक क्षमता भएका लक्षित वर्गलाई घरमै पुगेर स्वास्थ्यसेवा प्रदान गर्ने तानसेन नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले लक्षित वर्गका लागि निःशुल्क रूपमा घर–घरमै पुगी उपचारसेवा प्रदान गर्न थालेको हो । नगरको बौघागुम्बा छेरलुङबाट निःशुल्क स्वास्थ्यसेवा सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत घर–घरमा पुगेर तानसेन नगरपालिकाबाट खटिएको स्वास्थ्यटोलीले विशेषज्ञ स्वास्थ्यसेवा, मधुमेहरोगको रगत परीक्षण, आँखाजाँचलगायत सेवा निःशुल्क रूपमा वितरण गरिने नगरप्रमुख अशोककुमार शाहीले बताए । स्वास्थ्यसंस्थामा पुग्न नसक्ने व्यक्तिलाई लक्षित गरेर नगरपालिकाले घर–घरमा उपचारसेवा कार्यक्रम लागू गरेको हो ।

घर–घरमा उपचार कार्यक्रमका लागि नगरपालिकाले १६ लाख ४० हजार बजेट विनियोजन गरेको, कार्यक्रमको प्रभाव हेरीकन रकम बढाउँदै जाने स्वास्थ्य संयोजक श्रीबहादुर रानाले बताए ।

घर–घरमा उपचार कार्यक्रमका लागि नगरपालिकाले १६ लाख ४० हजार बजेट विनियोजन गरेको, कार्यक्रमको प्रभाव हेरीकन रकम बढाउँदै जाने स्वास्थ्य संयोजक श्रीबहादुर रानाले बताए । लक्षित कार्यक्रमअन्तर्गत १ हजार २ सय ६८ नवसुत्केरी, ३ हजार ८ सय ३० ज्येष्ठ नागरिक, ५ सय ३ जना फरक क्षमता भएका व्यक्तिको स्वास्थ्यपरीक्षण गरिने संयोजक रानाले बताए ।

जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालबाट एक–एकजना मेडिकल अधिकृत, नर्स, अनमी, अहेव, ग्रामीण स्वास्थ्य कार्यकर्ता गरी प्रतिटोली पाँचजना जनशक्तिसहितका ३ टोलीले नगरवासीका घर–घरमा पुगेर निःशुल्क स्वास्थ्यपरीक्षण सुरु गरेको छ । स्वास्थ्यपरीक्षणका क्रममा जटिल रोगका बिरामीलाई अन्य अस्पतालमा रेफर गर्ने नगरपालिकाको भनाइ छ । टोलीले प्रत्येक १५ दिनमा नागरिकको घर–घरमा पुगेर उपचारसेवा दिनेछ ।

महिलाका लागि नगरपालिकाले निःशुल्क रूपमा पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि वडा–वडा तहमा शिविर सुरु गरेको र स्वास्थ्यबिमा शीर्षकमा नगरपालिकाले ५० लाख रूपैयाँ खर्च गर्ने उपप्रमुख लक्ष्मीदेवी पाठकले बताइन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *