प्रहरीले झडपको त्रास देखाएपछि रोकियो आवासीय चिकित्सकको प्रदर्शन, अवरोध गर्न भाडाका मान्छे प्रयोगको आशंका

फाइल तस्बिर : अघिल्ला अनशनमा एनआरडिएको प्रदर्शन

१२ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकले आइतबारका लागि तय गरेको एक घण्टे शान्तिपूर्ण धर्ना कार्यक्रम प्रहरीले झडपको त्रास देखाएर ‘जे पनि हुन सक्ने’ चेतावनी दिएपछि स्थगित भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए)को आह्वानमा आइतबार दिउँसो १ देखि २ बजेसम्मको खाजा समयमा शान्तिपूर्ण प्रदर्शन गर्ने तय भएको थियो ।
एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डेका अनुसार घोषित कार्यक्रम सुरु हुनु केही समयअघि फणिन्द्र नामका डिएसपीले फोन गरेर ‘अन्य युवाको समेत प्रदर्शन रहेकाले जे पनि हुन सक्छ’ भनेपछि कार्यक्रम रोकिएको थियो । ‘अस्पतालमा झडपको अवस्था नआओस् भनेर हामीले तत्कालै शान्तिपूर्ण प्रदर्शनको कार्यक्रम स्थगित गरेका हौँ,’ डा. पाण्डेले हेल्थपोस्टसँग भने । डा. पाण्डेका अनुसार प्रहरीले अमूक समूहको समानान्तर प्रदर्शन हुने र उनीहरू चिकित्सकहरूको प्रदर्शनस्थलमै आउन खोजेमा आफूले रोक्न नसक्ने भन्दै चिकित्सकलाई त्रास देखाएको थियो ।

‘प्रहरीले हामीलाई कान्ति अस्पतालतिरको साइडमा कार्यक्रम गर्न भन्यो, ती अमूक युवाहरूलाई अस्पतालअगाडि नै सुरक्षा दिएर प्रदर्शन गर्ने वातावरण बनाइदियो,’ डा. पाण्डेले भने, ‘फन्डिङ भएर आएजस्तो लाग्ने सो समूहलाई प्रहरीले नै संरक्षण गरिरहेको त छैन भन्ने आशंका उब्जिएको छ ।’

उनका अनुसार डिएपीले अस्पतालपरिसरमा कार्यक्रम गरेमा ‘विजय थापाका समर्थक’हरूले पनि सोही ठाउँमै जाने चेतावनी दिएको जानकारी दिएका थिए । ‘प्रहरीले हामीलाई कान्ति अस्पतालतिरको साइडमा कार्यक्रम गर्न भन्यो, ती अमूक युवाहरूलाई अस्पतालअगाडि नै सुरक्षा दिएर प्रदर्शन गर्ने वातावरण बनाइदियो,’ डा. पाण्डेले भने, ‘फन्डिङ भएर आएजस्तो लाग्ने सो समूहलाई प्रहरीले नै संरक्षण गरिरहेको त छैन भन्ने आशंका उब्जिएको छ ।’
चिकित्सकहरूको कार्यक्रम दिउँसो १ बजेका लागि तय भएको थियो । सोही समयमा केही युवा आएर ‘विजय थापा’को समर्थनमा नाराबाजी गरेका थिए । राज्यबाट त्रास र असुरक्षा महसुस गरेकै कारण शान्तिपूर्ण रूपमा डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउन कठिन भएको अर्का एक आवासीय चिकित्सकले बताए । अघिल्ला अनशनमा चौथो वा पाँचौँ दिनदेखि नै रेजिडेन्ट डाक्टरहरू डा. केसीको समर्थनमा उत्रिने गरेका थिए ।

डा. केसीको अनशनविरुद्ध भनेर अनशन थालेका ती युवालाई प्रशासनले नै इलाम पुर्याएको थियो भने डा. केसीको स्वास्थ्यमा जोखिम देखिएर इलामबाट हिँड्नासाथ केहीबेरपछि नै झापा पठाइएको थियो । इलाममा थापाको अनशनस्थललाई सशस्त्र र जनपथ प्रहरीले सुरक्षा दिएको थियो ।
डा. केसीका सहयोगी डा. अभिषेक सिंहका अनुसार झापाका प्रमुख जिल्ला अधिकारीले गृहसचिवको आदेश भन्दै डा. केसीलाई लिन गएको हेलिकोप्टरमै थापालाई काठमाडौं पठाउने प्रयास गरेका थिए । तर, केसीका सहयोगीले अर्को व्यवस्था गरेर काठमाडौं लाने चेतावनी दिएपछि उनी ‘ब्याक’ भएका थिए ।

काठमाडौंसमेत डा. केसीलाई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरेपछि गृह प्रशासनले थापालाई समेत आइसियूमै भर्ना गर्न त्रिवि शिक्षण अस्पतालका पदाधिकारीलाई दबाब दिएको थियो । तर, अस्पतालका निर्देशकले अस्पतालमा झडपको अवस्था आउन सक्ने भन्दै भर्ना गर्न नसक्ने बताउँदा पनि गृहकै दबाबमा उनलाई शिक्षण अस्पतालमै भर्ना गरिएको डा. सिंहको भनाइ छ । ‘डा. केसीको अनशनलाई बदनाम गर्न र समर्थक चिकित्सकमा त्रास छर्न सरकारले भाडाका मान्छे ल्याएर प्रयोग गरिरहेको छ,’ डा. सिंहले भने, ‘डा. केसीको सत्याग्रहलाई बिथोल्ने कुनै पनि प्रयास सफल हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय