स्वास्थ्यमा प्रशासन समूहका नयाँ सचिव घिमिरे, अधिकारी उद्योगमा

सरकारले स्वास्थ्य मन्त्रालयमा नयाँ प्रशासन समूहका सचिव पठाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेर सचिव केदारबहादुर अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको हो ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले दुई सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सचिव सरुवाको पुष्टि गरे ।

सरकारले पुस १७ गते स्वास्थ्य मन्त्रालयमा चिकित्सक सचिवको दरबन्दी प्रधानमन्त्री कार्यलयमा राखेर स्वास्थ्यमा प्रशासनका सचिवको पद सिर्जना गरेको थियो । पछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई अदालतको आदेश लिएर आएपछि सरकार एककदम पछि हट्दै स्वास्थ्यमा दुई सचिव कायम गरेको थियो ।

बीचमा सचिव अधिकारीसँग सम्बन्धन नजमेपछि स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट डा. पुष्पा चौधरीलाई महत्वपूर्ण जिम्मेवारी दिएका थिए ।
मन्त्रीले चौधरीलाई प्राथमिकतामा राखेर आफूलाई खुम्च्याएपछि अधिकारीले सरकारसँग स्वास्थ्यबाट फिर्ता गरिदिन आग्रह गरेका थिए । सोही अनुसार मन्त्रिपरिषद्ले स्वास्थ्यमा प्रशासन समूहका घिमिरेलाई पठाएको हो ।

मन्त्री यादवले अधिकारीलाई कर्मचारी प्रशासन, औषधि र आयुर्वेद विभागसहित जनसंख्या महाशाखाको मात्रै जिम्मेवारी दिएका थिए । योसँगै स्वास्थ्यमा दुई सचिवको विवाद भने यथावत् रहने भएको छ । सम्भवतः घिमिरेले पनि अधिकारीलाई तोकिएकै जिम्मेवारीमा चित्त बुझाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय