यसरी सम्भव छ ‘शान्ति र समृद्धिका लागि योग’

अच्युतशाली घिमिरे

संस्कृतको ‘युज्’ धातुबाट बनेको ‘योग’ शब्दको अर्थ हुन्छ– जोड्नु । आत्माको परमात्मासँगको मेल नै योग हो । महर्षि पतञ्जलिको योगदर्शनमा योगलाई यसरी परिभाषित गरिएको छ– योगश्चित्तवृत्तिनिरोधः । अर्थात्, चित्त(मन)का वृत्तिको निरोध नै योग हो ।

विश्व स्वास्थ्य संगठनको पूर्ण रूपमा स्वस्थ हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगको महत्व अझ बढाउँछ । शान्तिका अग्रदूत गौतमबुद्धदेखि भगवान् शिव र हजारौँ ऋषिमुनिको साधनाभूमिका रूपमा रहेको नेपाल योगको उद्गमभूमिका रूपमा स्थापित छ । त्यसैले १ माघमा राष्ट्रिय योग दिवस मनाएर मात्र पुग्दैन, व्यक्ति, समाज र राष्ट्रको शान्ति र समृद्धिको यात्रामा योगको भूमिका के–के हुन सक्छन् भनी विचार–विमर्श हुनु जरुरी छ ।

शान्तिका लागि योग
शरीर, इन्द्रिय, मन र आत्माको संयोग नै आयु हो । आयुर्वेदअनुसार शरीरका सम्पूर्ण दोष, अग्नि, धातु, मल क्रियालाई ‘सम’ अवस्थामा राखेर आत्मा, इन्द्रिय र मनलाई प्रसन्न राख्नु नै स्वास्थ्य हो । विभिन्न मानसिक विकारहरूलाई नियन्त्रण गर्दै चेतनाको विस्तार गर्दै आत्मा र परमात्माको मेल गराउँदा योगमार्फत शान्ति प्राप्त हुन्छ । योगले विभिन्न आसन, प्राणायाम, ध्यान, समाधि, षट्क्रियामार्फत लोभ, मोह र क्रोधबाट मुक्त गराउन सक्छ । योगले अव्यावहारिक जीवनशैलीमा परिवर्तन गराउँदै खानपान, कुलत, तनावबाट मुक्त गराई मानिसमा असल जीवनयापनपद्धति विकास गर्छ । दीर्घकालीन एवम् नसर्ने रोगहरूको नियन्त्रण र उपचारमा उपयोगी योगले शरीरका विभिन्न दोषलाई निकालेर शुद्धीकरण प्रक्रियामा भूमिका निभाउँछ । यसरी सु–स्वास्थ्य एवम् साधनामार्फत योगले व्यक्ति, समाज र राष्ट्रमा शान्ति, सहिष्णुता, एकता, भ्रातृत्वको भावना जागृत गर्न मद्दत पुर्याउँछ ।

समृद्धिका लागि योग
प्राकृतिक सुन्दरता र मनोरम हिमशृंखलामा धनी देश नेपाल आदिकालदेखि ऋषिमुनि–तपस्वीहरूको साधनास्थलका रूपमा परिचित छ । आउँदै गरेको भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै विश्वभरि नै योगबारे महत्वपूर्ण प्रचार–प्रसार गरी योग पर्यटनमार्फत देशको समृद्धिको ढोका खोल्न सकिन्छ । काठमाडौं, पोखरा, चितवनजस्ता पर्यटकीयस्थलहरूमा योगाभ्यास गर्ने–गराउने योग तथा साधनाकेन्द्रहरू खोलेर सरकारले व्यवस्थित गर्नुपर्छ । साथै, योग र ट्रेकिङलाई जोडेर टुर प्याकेजहरू निर्माण गर्न सकेमा निजी व्यवसायीसमेत लाभान्वित हुन सक्छन् । योग प्रशिक्षकहरूको जीविकोपार्जन हुनुका साथै योग पर्यटनले विश्वमाझ नेपाललाई योगभूमिका रूपमा चिनाउनसमेत मद्दत पुर्याउँछ । योग चिकित्साअन्तर्गत रहेर नसर्ने रोगहरूमा उलेख्य प्रगति गर्न सके प्राकृतिक र सांस्कृतिक बनोटमा नेपालले प्रवाह गर्ने गुणस्तरीय स्वास्थ्यसेवाको सन्देशसमेत विश्वभर प्रवाह हुन सक्छ ।

योगासन र स्वस्थ जीवनशैलीतर्फ सबैको ध्यानाकर्षण गर्न सके स्वास्थ्योपचारमा राज्यको भारसमेत कम गराउन सकिन्छ । योग खेलकुदमार्फत विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी भएर देशको नाम उच्च बनाउँदै खेलकुद पूर्वाधार विकासमा विदेशी लगानीसमेत भित्र्याउन सकिन्छ । योगशिक्षामार्फत विद्यालयतहदेखि नै योगलाई जोड्न सक्यौँ भने यसबाट मानिसको जीवनयापनमा परिवर्तन हुनुका साथै समुन्नत नेपालको कल्पना गर्न सकिन्छ । यसरी योगलाई पर्यटन, चिकित्सा, खेलकुद, शिक्षा, पूर्वाधार आदिसँग जोडेर हेर्दा राष्ट्रको समृद्धिको यात्रा सहज देख्न सकिन्छ । साथै, मानवविकास सूचकांकमा समेत अनुकरणीय प्रगति गर्दै यस यात्राले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यप्राप्तिसमेत टेवा पुर्याउन सक्छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान,
ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय