उपचारमा भनसुन, कार्यकर्तालाई नेताको फोन, निमुखालाई हप्तौँ लाइन

लक्ष्मी चौलागाईं
प्रकाशित
२०७५ माघ ६ गते ११:४०

दोलखाकी रिता खतिवडा मानसिकरोगपीडित आफ्नी आमाको उपचारका लागि पाटन मानसिक अस्पताल आएको सातादिन बितिसक्यो । बेड अभावका कारण उनले आमाको उपचार गराउन पाएकी छैनन् । मानसिकरोगको उपचारका लागि ललितपुरको लगनखेलस्थित पाटन मानसिक अस्पताल उपयुक्त भएको जानकारी पाएकी उनलाई अस्पतालमा बिरामीमाथि आइपर्ने समस्याबारे थाहै थिएन ।

उपचारका लागि गाउँबाट ल्याएको पैसा पनि सकिन लागिसक्यो । काठमाडौंको महँगीमा खाने–बस्नेमै उपचारखर्च सकिन लाग्दासमेत उनले आमालाई भर्ना गराउन अस्पतालमा बेड पाइएकी छैनन् । बेडबारे अस्पताल प्रशासनमा बुझ्दा ‘बिरामी डिस्चार्ज हुँदै छ, बेड पाइन्छ, चिन्ता नगर्नुहोस्’ भन्ने आश्वासन पाइरहेकी छिन् रीताले ।

एक सातादेखि प्रत्येक दिन रीताको प्रश्न र अस्पताल प्रशासनको जवाफ उही नै छ । अब त उनको मन नै आत्तिसक्यो । बेड नै पाइहाले पनि उपचारका लागि पैसा अपुग हुने डर भइसक्यो, तैपनि बेड पाएको छैन । ‘आमालाई विनाउपचार फर्काऊँ भने पनि यतिका समय र पैसाको नाश भइसक्यो, अब कसरी जाऊँ ?’ उनको गुनासो छ, ‘मानसिक अस्पतालमा बेड पाउनका लागि नेता तथा मन्त्रीको फोन आउनुपर्ने रहेछ । हाम्रो कुनै नेता तथा कार्यकर्तासँग चिनजानसम्म पनि छैन ।’

राजनीतिक पहुँच नभएकै कारण सरकारी अस्पतालमा समयमा उचित उपचार नपाउनेमा रीता एक प्रतिनिधिपात्र मात्र हुन् । दिनहुँजसो यस्तै प्रकृतिको समस्याका कारण धेरै निमुखा नेपालीले सरकारी अस्पतालको चक्कर काटिरहेका छन् । त्यसमा कतिले त कमजोर पहुँचका कारण आइसियूलगायत आकस्मिक सेवाबाट वञ्चित भएर अकालमै ज्यानैसमेत गुमाइरहेका छन् ।

राजनीतिक पहुँच नभएकै कारण सरकारी अस्पतालमा समयमा उचित उपचार नपाउनेमा रीता एक प्रतिनिधिपात्र मात्र हुन् । दिनहुँजसो यस्तै प्रकृतिको समस्याका कारण धेरै निमुखा नेपालीले सरकारी अस्पतालको चक्कर काटिरहेका छन् । त्यसमा कतिले त कमजोर पहुँचका कारण आइसियूलगायत आकस्मिक सेवाबाट वञ्चित भएर अकालमै ज्यानैसमेत गुमाइरहेका छन् ।

निष्पक्ष र विभेदरहित सेवाप्रवाहमा राजनीतिक अड्चनका अतिरिक्त मानसिकरोगपीडिको उपचारको प्रमुख गन्तव्य केन्द्रीयस्तरको पाटन मानसिक अस्पतालमा मागअनुसारको क्षमताविस्तार नहुँदासमेत सेवाप्रवाहमा कठिनाइ उत्पन्न भएको छ । अस्पतालमा आवश्यकअनुसार भौतिक संरचना र जनशक्ति अभावका कारण सबै सेवाग्राहीलाई सेवा दिन नसकेको अस्पतालका निर्देशक मोहन श्रेष्ठ लाखे बताउँछन् ।
हाल अस्पताल सञ्चालन भइरहेको भवन अस्पताल सुरु हुँदाकै हो । वि.सं. २०४० मा सेवा सुरु गरेको अस्पतालमा जनशक्तिको कुरा गर्नुपर्दा स्थापनाकालकै जनशक्ति नै हालसम्म पनि कायम छ, जुन थप हुन सकेको छैन ।

उता बिरामीको चाप भने दिनप्रतिदिन बढ्दो छ । बढ्दो बिरामीको चापका कारण अस्पतालको साधन स्रोतले थेग्नै नसक्ने अवस्था रहेको निर्देशक श्रेष्ठ बताउँछन् । त्यही सीमित स्रोतमा पनि नेता तथा मन्त्रीले आफ्ना मान्छेलाई उपचार गराउन दबाब दिनाले निमुखा बिरामी झन् पीडित बन्ने गरेका छन् । ‘कुनै वेला त नेता तथा मन्त्रीले पनि मेरा बिरामीलाई बेड चाहियो भनेर आदेश दिने गरेका छन्,’ निर्देशक श्रेष्ठ भन्छन्, ‘दबाबकै भरमा उपचार गराइरहेको बिरामीलाई हटाएर हामीले बेड खाली त गर्ने गरेका छैनौँ, यदि खाली हुने अवस्था छ भने थोरै मात्रामा नेता तथा मन्त्रीको आदेशमा झुक्नु त स्वाभाविकै हो नि !’

अस्पतालले विशेषगरी मानसिकरोगका बिरामीलाई तीन प्रकारको सेवा दिँदै आएको छ, जसमा आकस्मिक, बहिरंग र अन्तरंग सेवा समाविष्ट छन् । भर्ना भएका बिरामीलाई अस्पतालले कम्तीमा तीन हप्तासम्म राखेर चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्ने गरेको छ ।

यद्यपि, सीमित मात्रामा उपलब्ध स्रोत–साधनको यथाशक्य परिचालन गरी अस्पतालले जनतालाई उच्चतम सेवाप्रवाह गर्ने प्रयास भने जारी राखेको श्रेष्ठको दाबी छ । अस्पतालमा उचित सेवाप्रवाहका लागि कतिपय अत्यावश्यक साधन तथा उपकरण नै छैनन् । अत्यावश्यक ल्याब सेवा नै विश्वसनीय बनाउन नसकेको अस्पतालको गुनासो छ ।

अस्पतालले विशेषगरी मानसिकरोगका बिरामीलाई तीन प्रकारको सेवा दिँदै आएको छ, जसमा आकस्मिक, बहिरंग र अन्तरंग सेवा समाविष्ट छन् । भर्ना भएका बिरामीलाई अस्पतालले कम्तीमा तीन हप्तासम्म राखेर चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्ने गरेको छ ।

यसै पनि सीमित बेडका कारण अस्पतालमा भर्ना भएर उपचार गराउन निकै अगाडिदेखि नाम दर्ता गराएर कुर्नुपर्ने बाध्यता त बिरामीमा छँदै छ । त्यसमाथि पनि राजनीतिक दबाबमा बेड दिनुपर्दा एकातिर अस्पताल प्रशासनलाई बेड मिलाउने दिक्दारी छ त अर्कोतिर निमुखाको पहुँचबाट उपचारसेवा झन् टाढिँदै छ । अझै पनि सरकारले पाटन मानसिक अस्पतालको भौतिक संरचना तथा जनशक्ति व्यवस्थापनमा गम्भीर ध्यान नदिने हो भने सरकारी केन्द्रीय अस्पतालका रुपमा रहेको पाटन अस्पताल एउटा इतिहास मात्र बन्ने निर्देशक श्रेष्ठको चिन्ता छ ।

अस्पतालमा विभिन्नस्तरका गरी ४७ कर्मचारी स्थायी दरबन्दीमा कार्यरत छन् । जनशक्ति अभावमा सेवा प्रभावित भइरहेको अवस्थामा भएकै कर्मचारी दरबन्दीमा पनि २६ वटा रिक्त रहेको श्रेष्ठ बताउँछन् । अस्पतालले आन्तरिक स्रोतबाट विभिन्न पदका गरी १९ जना जनशक्ति व्यवस्थापन गरेको छ । अस्पतालले मानसिकरोगका विशेषज्ञसमेत उत्पादन उत्पादन गर्दै आएको छ ।

यही पाराले अस्पताल बन्दै हुन सक्छ : सेवाग्राही
दाजुलाई कडाखालको मानसिकरोग देखापरेपश्चात् उपचारका लागि अस्पताल ल्याएकी निमा श्रेष्ठ अस्पतालमा शौचालय, बेड, प्रभावकारी ल्याबसेवालगायतको अभाव रहेको बताउँछिन् । सरकारले अस्पतालको स्तरोन्नतिसहित सेवाको गुणस्तरमा विशेष ध्यान नदिएमा कुनै दिन अस्पताल बन्द हुन सक्ने उनको अनुमान छ । यही चिन्ता अस्पतालका निर्देशक श्रेष्ठले समेत गर्नुले सरकारको बेवास्ताका कारण अस्पताल निरीह बनिसकेको स्पष्टै देखाउँछ । सरकारीस्तरबाट सञ्चालित अस्पतालहरुको स्तरोन्नतिमा सरकारले ध्यान नदिएकै कारण सरकारी स्वास्थ्यसेवाप्रति सर्वसाधारणको विश्वास खस्किँदै गएको उनको ठम्याइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय