डा. केसीको समर्थनमा बोल्यो चिकित्सक संघ, रेजिडेन्टको रहस्यमय मौनता

११ दिनदेखि आमरण अनशनत डा. गोविन्द केसी स्वास्थ्य अवस्था खस्किँदै गएपछि चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । चिकित्सकहरुका अन्य प्रमुख साझा संस्था सरकारी चिकित्सक संघ र विभिन्न अस्पतालमा कार्यरत आवासिय चिकित्सकहरुका संस्थाले भने रहस्यमय मौनता देखाएका छन् ।

संघले डा. केसीसँगको सम्झौता अक्षरशः कार्यान्वयन गरेर जीवन रक्षाका लागि ठोस पहल नगरे अप्रिय कदम उठाउन बाध्य हुने चेतावनी दिएको छ ।
संघका महासचिव डा. लोचन कार्कीले हस्ताक्षर गरेको विज्ञाप्तिमा ‘सरकारले जीवन रक्षाका लागि ठोस पहल नगरे नेपाली जनताको स्वास्थ्य सेवाका लागि आफ्नो ज्यानको बाजी लगाएर सत्याग्रहमा लाग्नु भएका केसीको जीवन रक्षाका लागि जस्तोसुकै कदम चाल्ने’ जनाइएको छ ।

संघले ११ औं दिन भईसक्दा समेत सम्झौता कार्यान्वयन गरेर अनशन अन्त्यका लागि चासो देखाउनुको सट्टा सम्झौतालाई अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएकोमा समेत आपत्ति जनाएको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अग्रसरतामै गरिएको सम्झौताका सम्बन्धमा प्रधानमन्त्रीज्यूबाटै अलग परस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेपाल राष्ट्रको इज्जत र प्रतिष्ठामाथी नै आँच पुग्न गएको’ नेपाल चिकित्सक संघको ठहर छ ।

संलले नेपाली जनतालाई सर्व सुलभ स्वास्थ्य सेवाको पहुँच पसु¥याउनका लागि चिकित्सा शिक्षाका अभियन्तासँग सरकारले बारम्बार सम्झौता गर्ने, अनि सम्झौताको मसी सुक्न नपाउँदै सरकारकै तर्फबाट उल्लंघन गर्ने परिपाटीले नेपाल सरकारको गरिमा र छवीमाथी गम्भिर शंका उत्पन्नसमेत जनाएको छ ।
नेपाल सरकार नै गैर जिम्मेवार रुपमा प्रस्तुत भएर सम्झौता विपरितका क्रियाकलापलाई नै बढवा दिँदै गएको र त्यसले सबै क्षेत्र र जनताको विश्वास र भरोसा भत्किए संघसमेत संयमीत र धैर्य रहन सक्ने चेतावनी दिएको छ ।

आवासिय चिकित्सक मौन
अघिल्ला अनशनमा चिकित्सक संघलाई समेत आन्दोलनका लागि बाध्य पार्ने आवासिय चिकित्सकहरु यसपटक आश्चर्यजनक रुपमा मौन देखिएका छन् । अघिल्लो १५ वटै अनशनमा सुरुकै चौथो/पाँचौ दिनदेखि नै समर्थन गर्ने र विरोधका कार्यक्रम गर्ने त्रिवि शिक्षण अस्पतालमै कार्यरत आवासिय चिकित्सक यसपटक आश्चर्यजनक रुपमा मौन देखिएका छन् ।
अन्य अस्पतालका आवासिय चिकित्सकसमेत ढिला गर्दा पनि सुरुदेखि नै आन्दोलित हुने नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएन (एनआरडिए) समेत मौन छ । एनआरडिएका पदाधिकारी औपचारिक रुपमा कुनै पनि प्रतिक्रिया जनाएका छैनन् । डा. केसीको जीवन रक्षा र मागमा समेत ऐक्यवद्धता नजनाउँनुको पछाडि समर्थन अनशनलाई समर्थन नगर्ने सत्तापक्षी दलबाट आएको दबाब वा प्रभावले काम गरेको हुनसक्ने डा. केसीका सहयोगीहरुको अनुमान छ ।
सरकारी सरकारी चिकित्सक संघले पनि कुनै चासो देखाएको छैन् । कतिपय आवासिय चिकित्सक र सरकारी चिकित्सकहरुले नेतृत्वले यस्ते असंवेदनशीलता देखिइरहे नेतृत्व र एकतामा प्रश्न उठ्ने चेतावनी दिएका छन् ।

युवा चिकित्सक संघ, नेपाल
युवा चिकित्सक संघ नेपालले डा. केसीका माग पूरागरी जीवन रक्षाका लागि ढिला गरे अकल्पनीय अनिष्ठ हुने तर्फ सरकारको ध्यानार्षण गराएको छ । संघले संसद्मा विचाराधीन विधेयकलाई राष्ट्र, चिकित्सक र स्वास्थ्यकर्मीको हितमा हुनेगरी परित गर्ने र डा. केसीको जीवन रक्षाका लागि पहल गर्न माग गरेको छ ।

पूर्व राष्ट्रपतिले भेटे
यसैगरी शनिबार अपराह्न पूर्व राष्ट्रपति डा. रामबरण यादवले शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्यबारे चासो राखेका छन् । उनले डा. केसीलाई भेटेर माग र स्वास्थ्यबारे जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय