प्रदेश ५ सरकारद्वारा स्वास्थ्यका स्वयंसेवकको सर्ट लिस्ट प्रकाशित, को–को परे ८० जनाको सूचीमा ?

प्रदेश ५ सरकारले स्वास्थ्यस्वयंसेवकमा आवेदन गर्ने उम्मेदवारहरूको छोटो सूची (सर्ट लिस्ट) प्रकाशित गरेको छ । सामाजिक विकास मन्त्रालयले अन्तर्वार्ताका लागि छनोट गरेको छोटो सूचीमा स्वास्थ्यका ८० जना परेका छन् । प्रदेश ५ अन्तर्गतका विभिन्न जिल्लाका स्वास्थ्य सेवाप्रवाहलाई थप व्यवस्थित गर्न भन्दै मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी स्वयंसेवक माग गरेको थियो ।

मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख सूर्यप्रसाद भुसालले माग गरिएमध्ये स्वयंसेवकका लागि सबैभन्दा बढी स्वास्थ्यमा आवेदन आएको बताए । उनले माग गरेका मध्ये विज्ञान विषयको पदबाहेक सबै पदमा आवेदन परेको जानकारी दिए । छोटो सूचीमा छानिएका आवेदकहरूको अन्तर्वार्ता लिई छिट्टै काममा पठाइने तयारी मन्त्रालयले गरेको उनको भनाइ छ । स्वास्थ्यको मेडिकल अधिकृतका लागि तीनजना माग गरिएकोमा तीनजनाकै आवेदन परेको र अरू पदका लागि मागभन्दा निकै बढी आवेदन परेको भुसालले जानकारी दिए । आवेदकमध्येबाट मन्त्रालयले शुक्रबार छोटो सूची प्रकाशित गरी अन्तर्वार्ताका लागि आह्वान गरेको छ ।

स्वास्थ्यको ल्याब असिस्टेन्टमा १२ जनाको माग भएकोमा १ सय ८३ जनाको निवेदन परेको थियो, जसमध्ये १८ जना अन्तर्वार्ताका लागि सर्ट लिस्टमा परेका छन् । अनमी पदका लागि २१ जना माग गरिएकोमा २ सय ३७ को आवेदन परेकोमा ३२ जना मात्र छोटो सूचीमा परेका छन् । त्यसैगरी अहेवका लागि १५ जना माग भएकोमा सबैभन्दा बढी ३ सय ९५ जनाको आवेदन परेको थियो । उक्त पदमा २३ जनालाई छोटो सूचीमा राखिएको छ । हेल्थ असिस्टेन्ट १ जनाको मागमा ३७ को निवेदन परेकोमा २ जना, स्टाफ नर्समा १ जनाको सिटमा ४० को आवेदन परेकोमा २ जनाको नाम प्रकाशित गरिएको छ ।
मन्त्रालयका अनुसार मेडिकल अधिकृत र स्टाफ नर्सको माघ १५ गते, हेल्थ असिस्टेन्ट, अहेव र केही अनमीको माघ १५ गते, केही अनमीको १६ गते र ल्याब असिस्टेन्टको माघ १७ गते अन्तर्वार्ता मिति तोकिएको छ । अन्तर्वार्तामा आउँदा आवेदनसँगै पेस गरेका प्रमाणपत्रहरूको सक्कल प्रति र प्रतिलिपि ल्याउन भनिएको छ ।

महाशाखा प्रमुख भुसालले चालू आर्थिक वर्षको बजेटलाई हेरी माग भएको संख्याभन्दा कम गरी सूचना गरेको र अहिलेका लागि स्वयंसेवकहरूको कार्यावधि ६ महिनाको हुने बताए । उनका अनुसार अवधि कम भए पनि आउने आर्थिक वर्षमा बजेट विनियोजन भए कार्यक्रमले निरन्तरता पाउनेछ । स्वयंसेवकहरूलाई मासिक निर्वाहभत्ता उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
तोकिएको योग्यता पुगेका स्वयंसेवा गर्न इच्छुक नेपाली नागरिकहरूबाट मिति २०७५ पुस १६ देखि ३० सम्म आवेदन माग गरिएको थियो । स्वास्थ्य, इन्जिनिरयरिङ, शिक्षा, खेलकुद र कानुन क्षेत्रमा गरी १ सय ६२ सिटका लागि आवेदन माग गरिएकोमा १ हजार १ सय ९१ जनाले आवेदन दिएका थिए । त्यसमध्ये स्वास्थ्यमा ८ सय ९५ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यका लागि मात्र विभिन्न पदका लागि ५३ जना स्वयंसेवक मागिएको थियो ।

सामाजिक विकास मन्त्रालयले निकालेको स्वास्थ्यसहित सम्पूर्ण स्वयंसेवकको सूची

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय