सुशील र गिरिजाप्रसादका नामका अस्पताल मास्ने कुरै आउँदैन : प्रधानमन्त्री

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा रहेको श्वासप्रश्वास अस्पतालको प्रस्तावित भवनको नमूना

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका स्वर्गीय नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई सरकारले मास्न नखोजेको र सुधार गर्न चाहेको बताएका छन् ।

सरकारले विकास समितिअन्तर्गत रहेका सबै अस्पताल केन्द्र सरकारअन्तर्गत राख्ने निर्णय गरे पनि दुई संस्थालाई निर्णयविहीन राखेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधिसभा बैठकमा सांसद मीनेन्द्र रिजालले कांग्रेस नेताका नामका अस्पतालबारे प्रश्न गरेका थिए । स्वास्थ्य मन्त्रालयले विकास समिति आदेशबाट गठित ११ स्वास्थ्यसंस्था केन्द्र सरकारअन्तर्गत कायम गर्न प्रस्ताव पेस गर्दा कांगेस नेताका नामका दुईबाहेक अन्यलाई केन्द्र सरकारमातहत राख्ने निर्णय गरेको थियो ।

रिजालले अरू संस्था केन्द्रमा राख्ने निर्णय गर्दा ‘शान्तिप्रक्रिया र संविधानसभामार्फत गणतन्त्र स्थापना गर्ने नायक श्री गिरिजाप्रसाद कोइराला र समावेशी राजनीतिलाई संस्थागत गर्ने तथा संविधान निर्माणको नेतृत्व गर्ने सुशील कोइरालाको नाम मन नपरेर हो कि के हो ?’ भनी प्रश्न गरेका थिए ।
रिजालले दुवै संस्थालाई सरकारले विघटनको दोसाँधमा पुर्याएको भन्दै केन्द्रमा यथावत् राख्ने नेपाल सरकारको कुनै पनि सोच, योजना भए–नभएबारे प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका थिए ।

उनले गिरिजाप्रसादको नाममा रहेको राष्ट्रिय श्वास–प्रश्वास उपचारकेन्द्रका सम्बन्धमा नेपाली कांग्रेसका दुई–चारजना नेताहरूलाई समेत जानकारी भएको भन्दै त्यहाँ श्वास–प्रश्वास केन्द्रका रूपमा मात्रै त्यो संस्था खासै नचलेको बताए ।

प्रधानमन्त्रीले बाँकेस्थित सुशील कोइरालाको नाममा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा विवाद रहेकाले र तनहुँस्थित जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्रलाई अस्पतालकै रूपमा चल्न नसक्ने देखेर केन्द्रले यथास्थितिमा राखेको बताए ।
‘सुशील कोइरालाको नाम जोडिएको संस्था विवादमा रहेको छ, यसको विवाद कसरी हटाउने र निर्विरोध रूपमा त्यसमा कसरी जान सकिन्छ भन्ने मैलै छलफल गरेको थिएँ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले गिरिजाप्रसादको नाममा रहेको राष्ट्रिय श्वास–प्रश्वास उपचारकेन्द्रका सम्बन्धमा नेपाली कांग्रेसका दुई–चारजना नेताहरूलाई समेत जानकारी भएको भन्दै त्यहाँ श्वास–प्रश्वास केन्द्रका रूपमा मात्रै त्यो संस्था खासै नचलेको बताए ।

‘त्यसलाई कसरी चलाउने भन्नेबारे छलफल गर्दा नेपाली कांग्रेसका साथीहरूले मलाई भन्नुभयो– भारतले बजेट दिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै व्यक्तिलाई भारतले बजेट दिन्छ भनेको भए सरकारको तर्फबाट त्यसलाई अगाडि बढाउनुपर्यो, सरकारको योजनाभित्र त्यसलाई राख्नुपर्यो ।’
श्वास–प्रश्वास केन्द्रका रूपमा मात्रै नभई एउटा अस्पतालका रूपमा विकास गरेर प्रभावकारी ढंगले कसरी अगाडि लान सकिन्छ, त्यसबारे छलफल गर्नसमेत आफूले प्रस्ताव गरेको उनले सुनाए ।

ओलीले यसलाई मास्ने, सखाप पार्नेजस्ता कुराहरू सरकारले नसोचेको समेत बताए । ‘हिजो साँझसम्म पनि कांग्रेसका नेताहरूलाई भनेको छु,’ उनले भने । उनले ठट्यौली शैलीमा भने, ‘यथावत् राख्ने कि नराख्ने भन्ने प्रश्न अनौठो गर्नुभएको छ । जमिन मात्रै श्वास–प्रश्वास केन्द्रका रूपमा राखेर होइन, त्यसलाई अस्पताल बनाएर अगाडि बढाएरै यथावत् राख्ने होला नि !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय