खोटाङमा स्वास्थ्यशिविरबाट ३ हजारलाई स्वास्थ्यसेवा

स्वास्थ्यसेवा विभागअन्तर्गतको उपचारात्मक महाशाखाले उत्तरी खोटाङमा सञ्चालन गरेको निःशुल्क घुम्ती स्वास्थ्यशिविरमा करिब ३ हजारभन्दा बढी स्थानीयले उपचारसेवा लिएका छन् ।
उत्तरी खोटाङको जालपा, बाक्सिला, खार्ताम्छा, ऐँसलुखर्क र हलेसीमा ‘हस्पिटल फर इमर्जेन्सी केअर एन्ड सपोर्ट’ नामक स्थानीय संस्थाको सहयोगमा महाशाखाले २२ पुसदेखि १० दिने घुम्ती शिविर सञ्चालन गरेको थियो ।

शिविरमा छाला, हाडजोर्नी, छाती, बालरोग, दाँत तथा मुख, आँखा, स्त्रीरोग, स्तन क्यान्सर, भिडियो एक्स रे, आयुर्वेद, योग तथा जीवनशैली व्यवस्थापनलगायत सेवा दिइनुका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

चेकजाँचका क्रममा शल्यक्रिया आवश्यक ठानिएका बिरामीको नाम संकलन गरिएको छ । उनीहरूलाई काठमाडौंमा ल्याएर वा घुम्ती शल्यक्रिया शिविर सञ्चालन गरेर उपचार गराउने तयारी गरिएको कार्यक्रमका संयोजक डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
शिविरमा आयुर्वेद विभाग, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, ग्रान्डी अस्पताल र नेपाल आँखा अस्पतालका विशेषज्ञ टोलीको सहभागिता थियो ।

शिविरमा २ सय महिलाको मेमो गरिएको थियो भने ४२ जनाको स्तनमा डल्ला भेटिएको थियो । त्यसैगरी शिविरमा ५ शय ८५ जना बिरामीको दाँत निकालिएको थियो भने १५ जनाको सामान्य शल्यक्रिया गरिएको थियो ।

आँखासम्बन्धी रोगका करिब १ सय १९ बिरामीको शल्यक्रियाका लागि नामावली तयार गरिएको छ । अन्य विभिन्न प्रकारका शल्यक्रियाका लागि १ शय ८९ जनाको नामावली तयार गरिएको आयोजकले जनाएको छ । शिविरमा आयुर्वेदिक, होमोप्याथिक र एलोप्याथिकका गरी करिब १० लाख रूपैयाँबराबरको औषधि निःशुल्क वितरण गरिएको थियो ।

शिविर सञ्चालनका लागि डा. प्रकाश बुढाथोकीको नेतृत्वमा, डा. विश्व दवाडी, डा. साधना आचार्य, डा. सुरक्षा बास्कोटा, डा. सरोजकुमार राय, डा. चाँदनी जयसवाल, डा. मनोजकुमार महत, डा. सुनील तामाङ, कल्याण ढुगांना, एचए भुवन पुरी, एचए दौलत तुलाधर, एचए अमृतजंग बस्नेत, डेअ धर्मेन्द्र यादव, नर्स शर्मिला आचार्य, सहयोगीहरू अर्चना केसी, कुसुम श्रेष्ठ, झुमा पोखरेल, तेजमाया राई, नवीन राईलगायत २५ जना स्वास्थ्यकर्मी काठमाडौंबाट गएका थिए । त्यसैगरी, स्थानीय प्राथमिक स्वास्थ्यकेन्द्र र स्वास्थ्यचौकीतर्फका ७ जना स्वास्थ्यकर्मीको समेत शिविरमा सहभागिता थियो ।

शिविर अवधिभर स्वास्थ्य एवम् जनसंख्यामन्त्री उपेन्द्र यादवका जनस्वास्थ्यविज्ञ सल्लाहकार डा. केके राईको सहभागिता र सहयोग महत्वपूर्ण रहेको संयोजक डा. बुढाथोकीले बताए । १३ माघदेखि खोटाङका विभिन्न ५ स्थानमा अर्काे चरणको स्वास्थ्यशिविर सञ्चालन गर्ने योजना महाशाखाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय