सरकारसामु नझुक्ने एचएको अडान, समायोजन र संरचना मिलाउन ६ बुँदे सुझाब

स्वास्थ्यसेवाजस्तो अति संवेदनशील क्षेत्रमा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेलगायत माग राख्दै १० दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट (एचए) संघ नेपालले आफ्ना मागप्रति सरकार संवेदनशील नभएको भन्दै आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने जनाएको छ । संघले स्वास्थ्यसेवाका कर्मचारी समायोजन तथा दरबन्दी संरचनालाई न्यायोचित बनाउन सरकारलाई ६ बुँदे सुझाबसमेत दिएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष दाताराम अधिकारीले आफ्ना माग जायज र वैज्ञानिक रहेकाले सरकारसित कुनै हालतमा नझुक्ने बताएका छन् ।

कर्मचारी समायोजनका लागि स्वास्थ्य मन्त्रालयले २२ पुस ०७५ मा पुनः प्रस्ताव गरेको संगठन संरचनाप्रति संघको गम्भीर आपत्ति रहेको संघले बताउँदै आएको छ । मन्त्रालयले ल्याएको उक्त संरचनाले कर्मचारीबीच मनमुटाव हुनुका साथै स्वास्थ्यसेवाप्रवाहमा गम्भीर असर पर्ने बताउँदै मन्त्रालयले उक्त प्रस्ताव फिर्ता नलिएसम्म एचए संघ नेपालले आन्दोलनलाई अझै सशक्त बनाउने अधिकारीले बताए । उता सरकारी पक्षले भने संघको उक्त प्रस्ताव फिर्ता लिनुपर्ने माग पूरा गर्न नसकिने भएकै कारण वार्तामा सहमति ननिस्किएको बताइसकेको छ ।

विनाशैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाविनै स्वतः स्तरवृद्धि पाएका स्वास्थ्यकर्मीलाई स्वास्थ्यसंस्थाको नेतृत्व दिँदा स्वास्थ्यसेवाको गुणस्तार खस्किने संघको तर्क छ । यसले स्वास्थ्य नीति २०७१ तथा नेपालको संविधान २०७२ को नागरिकलाई गुणस्तरीय स्वास्थ्यसेवा दिइने भन्ने सरकारको योजना कागजमा मात्रै सीमित हुने संघले बताएको छ ।

सरकारले सुरुमा प्रस्ताव गरेको संगठन संरचनालाई आर्थिक चलखेल तथा ट्रेड युनियनको दबाबमा १० दिनपछि सरकारले परिवर्तन गरेको आरोप संघले लगाउँदै आएको छ । मन्त्रालयले आफ्ना मातहतका निकायहरूमा पठाइसकेको संशोधित संगठन प्रस्ताव फिर्ता गर्ने र नगर्ने आ–आफ्नो अडानमै पछिल्लो समय वार्ताको हलो अड्किएको हो । आफ्ना माग कुनै व्यक्तिगत स्वार्थप्रेरित नभई गुणस्तरीय स्वास्थ्यसेवाप्रवाहसँग सम्बन्धित भएको अध्यक्ष अधिकारीको दाबी छ ।

विनाशैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाविनै स्वतः स्तरवृद्धि पाएका स्वास्थ्यकर्मीलाई स्वास्थ्यसंस्थाको नेतृत्व दिँदा स्वास्थ्यसेवाको गुणस्तार खस्किने संघको तर्क छ । यसले स्वास्थ्य नीति २०७१ तथा नेपालको संविधान २०७२ को नागरिकलाई गुणस्तरीय स्वास्थ्यसेवा दिइने भन्ने सरकारको योजना कागजमा मात्रै सीमित हुने संघले बताएको छ । ‘स्वास्थ्यसेवा ऐन २०५३ को दफा ९(१) अनुसार स्तरवृद्धि भएका स्वास्थ्यसेवाका प्राविधिक कर्मचारीले सोही दफाको उपदफा ४ मा उल्लेख भएबमोजिम जुन तहबाट स्तरवृद्धि भएको हो, सोही तहको काम गर्नुपर्नेछ भनी स्पष्ट रूपमा व्यवस्था गर्नुका साथै सि.अ.हे.व.ले अधिकृत छैटौँ तह सेवानिवृत्त हुँदा चौथो तह अ.हे. पदको दरबन्दी सि.अ.हे.व.ले निजको स्थानपूर्ति गर्ने स्पष्ट व्यवस्था छ,’ संघद्वारा विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवामा सहायक दोस्रो, तेस्रो, चौथो र पाँचौँ तहमा सेवाप्रवेश गरेका कर्मचारीहरूलाई केवल स्तरवृद्धिलाई मात्र आधार बनाई माथिल्लो तहको ज्येष्ठता मानी जिम्मेवारी दिएमा राज्यले कस्तो जनशक्तिबाट स्वास्थ्यसेवाप्रवाह गर्न खोजेको हो भन्ने घामजस्तै छर्लंग हुनेछ ।’

कर्मचारीको सेवा र सुविधाका लागि दिइएको स्वतः स्तरवृद्धिअनुसार नै जिम्मेवारी दिनु भनेको दीर्घकालीन रूपमा स्वास्थ्यसेवालाई धरासायी बनाई नागरिकलाई गुणस्तरीय स्वास्थ्यसेवा पाउने संविधानप्रदत्त मौलिक हकबाट वञ्चित गर्नु भएको बताउँदै आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन अझै चर्काउने संघको योजना छ ।

यस्ता छन् सुझाब–
१. कर्मचारीलाई कार्यजिम्मेवारी दिँदा सेवाप्रवेश गरेको नियुक्तिपत्रमा उल्लेखित पदअनुसार मात्र दिनुपर्ने ।
२. स्थानीय तहमा कर्मचारी खटाउँदा वा समायोजन गर्दा तहगत रूपमा नभई जिम्मेवारी तथा कार्यप्रकृति हेरी चेन अफ कमान्ड र हाइरार्कीमा कुनै असर नहुने गरी सेवाप्रवेश गरेको नियुक्तिपत्रमा उल्लेखित पदअनुसार मात्र गर्नुपर्ने ।
३. स्थानीय तहका लागि प्रस्तावित संगठन संरचना शाखा र उपशाखा तथा एकाइ प्रमुख पदीय ज्येष्ठता र शैक्षिक योग्यताका आधारमा हुनुपर्ने ।
४. कर्मचारी खटाउँदा सेवामा रहँदाको ऐन–नियममा उल्लेखित सेवा, सुविधा र सुरक्षाको सर्तमा कुनै पनि परिवर्तन नहुने गरी खटाउनुपर्ने ।
५. संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयकमा केही संशोधन गर्नुपर्ने दफा, उपदफामा यस संघले तयार पारेको प्रस्तावअनुरूप हुनुपर्ने ।
६. ननएकेडेमिक तालिमलाई निरुत्साहित गरी कर्मचारीको शैक्षिक योग्यताको बाटोलाई स्पष्ट तय गरिनुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय