सुर्तीजन्य पदार्थमा कडाइ गर्दै गण्डकी सरकार

गण्डकी प्रदेश सरकारले सुर्तीजन्य पदार्थ विक्री–वितरण र प्रयोगमा कडाइ गर्ने भएको छ । मानव स्वास्थ्यलाई ख्यालमा राखेर सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयकको तयारी गरेको हो ।

सामाजिक विकास मन्त्रालयले तयार गरेको विधेयक मन्त्रिपरिषद्बाट पारित गरी प्रदेश सभामा पठाइएको छ । मदिरा र लागुऔषधको प्रयोगले डरलाग्दो रोगको सिकार हुनुपर्ने र समाजमा आपराधिक घटनासमेत बढेको भन्दै यसको नियन्त्रणमा सरकार सचेत रहेको सामाजिक विकासमन्त्री नरदेवी पुनले बताइन् । ‘सुर्तीजन्य पदार्थको सेवनबाट स्वास्थ्यमा नकारात्मक प्रभाव त छँदै छ, यसबाहेक समाजमा आपराधिक क्रियाकलाप पनि भइरहेका छन्,’ उनले भनिन्, ‘यसलाई अब कानुनले नै नियन्त्रण गर्ने हो । त्यसका लागि सरकारले विधेयक तयार गरेको छ ।’
प्रदेश सरकारले विधेयकमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिले सुर्तीजन्य पदार्थ विक्री–वितरण गर्न नमिल्ने व्यवस्था गरेको छ । यस्तै,

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न नहुने, सार्वजनिक ठाउँको १ सय मिटरवरपर यसको विक्री–वितरण र प्रयोग गर्न नपाइने नियम पनि विधेयकमा समेटिएको छ । स्कुलको १ सय मिटरवरपर सुर्तीजन्य पदार्थ विक्री–वितरण र प्रयोग गरे दुई सय रूपैयाँ जरिवाना लिने व्यवस्था गर्न लागिएको सरकारले जनाएको छ ।

सुर्तीजन्य पदार्थ विक्री–वितरणका लागि छुट्टै पसल हुनुपर्ने, सम्बन्धित स्थानीय सरकारबाट स्वीकृति लिनुपर्नेजस्ता विषय पनि विधेयकमा उल्लेख छन् । ४ माघमा संसद् सचिवालयमा विधेयक दर्ता गर्ने र ८ माघमा बस्ने प्रदेश सभा बैठकमा टेबुल गर्ने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

यता, जिल्ला प्रशासन कार्यालय कास्कीले मदिरा, सुर्तीजन्य पदार्थ र लागुऔषध नियन्त्रणको काम विद्यालयक्षेत्रबाटै थाल्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले विद्यालयक्षेत्रबाटै कानुन कार्यान्वयनमा कडाइ गर्ने बताए । ‘प्रदेश सरकारले पनि चासो लिएको छ । यसको नियन्त्रण अपरिहार्य छ,’ उनले भने, ‘अब कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।’
जिल्लाका धेरैजसो विद्यालयको आडमै रक्सी र सुर्तीजन्य पदार्थका पसल छ्यापछ्याप्ती छन् । सरकारले सार्वजनिक पार्क, बसपार्क, स्कुल, सरकारी कार्यालयलगायत ठाउँमा सुर्तीजन्य पदार्थ निषेध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय