विशेषज्ञ टोलीले भन्यो-डा. केसीलाई तत्काल सुविधासम्पन्न अस्पताल लैजाऊ, जुनसुकैवेला जे पनि हुन सक्ने खतरा

आमरण अनशनतर डा. गोविन्द केसीको उपचारका लागि बुधबार अपराह्न इलाम पुगेको विशेषज्ञ स्वास्थ्यकर्मीको टिमले उनलाई तत्काल आइसियू/सिसियू सेवासहितको सुविधासम्पन्न अस्पतालमा सारेर सघन उपचार गराउन सुझाब दिएको छ । बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानका सहायक निर्देशक विकास शाह नेतृत्वको टिमले अपराह्न ३ः५० बजे केसीको स्वास्थ्यपरीक्षण गर्दै जुनसुकै वेला मिर्गौला तथा मुटुले काम गर्न छोड्ने, मूच्छा हुन सक्ने, प्राणघातक संक्रमणलगायत स्वास्थ्यजोखिमको निष्कर्ष निकालेको हो ।

कस्तो छ पछिल्लो स्वास्थ्यअवस्था ?
विशेषज्ञ टोलीको परीक्षणका क्रममा डा. केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म कम भई श्वासप्रश्वासमा समस्या भएको पाइएको छ । मुटुको चाल नियन्त्रणका लागि डा. केसीले खाँदै आएको औषधि अनशनका कारण छुटेकाले मुटुको चालमा भारी अनियमितता आएको छ । मुटुको चाल कहिले ३५ मा झर्ने त कहिले ह्वात्तै बढेर २०० सम्म पुग्ने गरेको छ ।

डा. केसीको शरीरमा ग्लुकोजको मात्रा पटक–पटक न्यून हुन गई ५० भन्दा पनि तल झरे पनि डा. केसीले ग्लुकोजको सुई अस्वीकार गरेको टोलीले जनाएको छ । शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने तथा हातगोडा बाउँडिने समस्या देखिएको छ । टोलीका अनुसार अनशनका कारण शरीरमा केटोएसिड, ल्याक्टिडजस्ता हानिकारक रसायन बढ्दै गएको छ भने कमजोरीका कारण हिँडडुल गर्न, शौचालय जानसमेत गाह्रो भएको र बोल्दासमेत रिँगटा लाग्न थालेको छ ।

डा. केसीको शरीरमा प्रोटिन घटेर ३ दशमलव ३ ग्राम प्रतिडिएल पुगेका कारण खट्टा सुन्निन थालेको छ भने विभिन्न संक्रमणबाट बचाउने सेतो रक्तकोषिका (डब्लुबिसी) निकै कम हुँदै गई ४ हजार प्रतिएमएमक्युब पुगेको छ । त्यसका साथै चिसो वातावरणका कारण घाँटी दुखेको र खालीपेटका कारण ग्यासट्राइटिस भई पेट दुखेको टोलीले जनाएको छ ।

मिर्गौला र मुटु बन्द हुने र बेहोसको खतरा
स्वास्थ्यपरीक्षणपछि विशेषज्ञ टोलीले डा. केसीमा जुनसुकै वेला अत्यन्त गम्भीरखाले स्वास्थ्य जटिलता आइपर्न सक्ने जनाएको छ । शरीर कमजोर भई निमोनियाजस्ता प्राणघातक संक्रमण हुन सक्ने निचोड टोलीको छ । त्यसैगरी, अक्सिजन र ग्लुकोजको मात्रा कम भई डा. केसी जुनसुकै वेला मूच्र्छा पर्न सक्ने र कृत्रिम श्वास–प्रश्वासको आवश्यकता पर्न सक्ने टोलीको आकलन छ । सबैभन्दा जोखिमको कुरा त शरीरमा पानीको मात्रा कम भई मिर्गौलाले काम गर्न छोड्ने खतरा टोलीले औँल्याएको छ । त्यस्तै शरीरमा हानिकारक रसायनहरू थुप्रिएर मुटुमा समस्या हुन सक्नेसमेत टोलीको निष्कर्ष छ ।

को–को छन् विशेषज्ञ स्वास्थ्यकर्मी टिममा ?
डा. केसीको उपचारमा बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानबाट खटिएको ६ सदस्यीय विशेषज्ञ स्वास्थ्यकर्मीको टिममा अस्पतालका सहनिर्देशक डा. विकास साह, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. प्रशान्त साह, इमर्जेन्सी विशेषज्ञ डा. अजय यादव र एनेस्थेसियोजी तथा आइसियू विशेषज्ञ डा. सविन भण्डारी गरी चारजना विशेषज्ञ चिकित्सक छन् । त्यसैगरी, सहकर्मीका रूपमा ल्याब टेक्निसियन जितेन्द्र यादव र स्टाफ नर्स रचना राणा टिममा छन् । टिमसित मोबाइल भेन्टिलेटर र आइसियू सेवासमेत रहेको जनाइएको छ ।

अनशनका क्रममा डा. केसीमा जटिल स्वास्थ्य समस्या देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा प्रतिष्ठानका उपकुलपति डा. विकास रौनियारले विशेषज्ञ टोली चयन गरी बुधबार बिहान ७ बजे इलामतर्फ पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय