एचए–सरकार वार्ता : पहिलो बुँदाबाट छलफल बढेकै छैन– एचए, सहमतिनजिक छौँ– सरकार

नौ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट (एचए) संघ नेपाल र सरकारी वार्ता टोलीबीच भएको दुईपटकको वार्ता सहमतिको नजिक नै पुग्न नसकी विफल भइसकेको छ । आन्दोलनरत पक्षले पहिलो बुँदामै राखेको स्वतः बढुवा पाएकाले नभई योग्यले स्वास्थ्यसंस्थाको नेतृत्व पाउनुपर्ने मागमै सहमति जुट्न नसकेपछि त्यसभन्दा अघि छलफल बढ्नै नसकेको हो ।

के भन्छ एचए संघ ?
विभिन्न ६ बुँदे मागसहित आन्दोलनरत एचए संघले पहिलो बुँदामा कर्मचारीलाई कार्यजिम्मेवारी दिँदा खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश भएका वा लोकसेवा आयोगको प्रक्रियाअनुसार बढुवा भएबमोजिम नियुक्तिपत्रमा उल्लेखित पदअनुसार नै जिम्मेवारी दिनुपर्ने माग राखेको छ ।

सरकारले २३ मंसिरमा कर्मचारी समायोजन अध्यादेश पारित गरेको थियो भने त्यसैका आधारमा १२ पुसमा दरबन्दी संरचना पारित गरेको थियो । त्यसको १० दिनमा ट्रेड युनियनलगायतको चलखेलमा दरबन्दी संरचना संशोधन गरी शैक्षिक योग्यता नै नपुगेका तथा लोकसेवाको प्रक्रिया पूरै नगरी स्वतः बढुवाप्राप्त कर्मचारीलाई सरकारले नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको आरोप एचएको छ । आफ्नो प्रमुख असन्तुष्टिको यही विषयमै सहमति जुट्न नसकेपश्चात् अन्य विषयमा हुने सहमतिले अर्थ नराख्ने भएका कारण अन्य बुँदामा छलफल सुरु नै नभएको संघका अध्यक्ष दाताराम अधिकारी बताउँछन् ।

मन्त्रालय एचए संघको कुनै पनि मागमा गम्भीर नदेखिएको तथा सम्बोधनको पक्षमा नरहेको अधिकारीको आरोप छ । अन्दोलन थप सशक्त बनाउने रणनीतिमा रहेको संघले यो साताका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम सार्वजनिक गरिसकेको छ । आगामी साताका लागि शुक्रबार कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष अधिकारी बताउँछन् । सरकारले एचए संघको मागलाई बेवास्ता गरेमा दीर्घकालीन रूपमा त्यसको नकारात्मक असर जनताको स्वास्थ्यमा पर्ने अधिकारीको तर्क छ ।

के भन्छ मन्त्रालय ?
आफ्ना जायज मागप्रति सरकार रत्तिभर गम्भीर नदेखिएको आरोप एचए संघले लगाइरहँदा मन्त्रालयका तर्फबाट गठित वार्ताटोलीका सदस्य महेन्द्र श्रेष्ठ भने मन्त्रालय समस्या समाधानको पक्षमा रहेको बताउँछन् । वर्ता सहमतिउन्मुख भएको उनको दाबी छ । ‘वार्ता सहमतिनजिक पुगेको छ,’ उनले हेल्थपोस्टसित भने, ‘कर्मचारीलाई कार्यजिम्मेवारी दिँदा खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश वा लोकसेवा आयोगको प्रक्रियागत बढुवा भएबमोजिम नियुक्तिपत्रमा उल्लेखित पदअनुसार मात्रै दिनुपर्ने संघको पहिलो नम्बरको मागबाहेक अन्य बुँदामा सहमति जुटिसकेको छ ।’
बिहीबार (भोलि) ट्रेडयुनियनलगायत आन्दोलनरत संघसँग छलफल गरी समस्या समाधानमा गम्भीर रूपमा लाग्ने श्रेष्ठ बताउँछन् । संघले मन्त्रालयबाट गइसकेको प्रस्ताव फिर्ता गर्नुपर्ने माग राखेका कारण उक्त माग पूरा गर्न नसकिँदा सहमति जुट्न नसकेको श्रेष्ठ बताउँछन् ।

के छ आन्दोलनको अवस्था ?
वार्तामा सहमति जुट्न नसकेपछि सरकारमाथि थप दबाब सिर्जना गर्न आन्दोलनलाई थप कडा बनाउने रणनीतिमा रहेको संघले निषेधित क्षेत्र तोड्ने तयारी गरे पनि बुधबारको आन्दोलन शान्तिपूर्ण रह्यो । बुधबार बिहान ११ बजे माइतीघरमा कोणसभा आयोजना गरेको संघले त्यहाँबाट नयाँबानेश्वरसम्म र्याली निकालेको थियो । संघले मंगलबार नै यो साताका लागि माइतीघरकेन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको थियो । सोमबार एचएहरूले निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै प्रहरीले गरेको लाठीचार्जमा १२ आन्दोलनकारी घाइते भएका थिए, जसमा एकको हात भाँचिएको थियो ।

सरकारले आफूहरूको माग पूरा नगरेमा बिहीबार एचएले सामूहिक राजीनामा दिने तयारीसमेत गरिरहेको संघका उपाध्यक्ष मेघनाथ चापागाईंले बताए । विभिन्न जिल्लाका गरी करिब ३ हजार ५ सय एचएले सामूहिक राजीनामा गर्ने र त्यसका लागि नामावली तयार गरिसकिएको चापागाईंको भनाइ छ । सरकारी टोलीसँग वार्ताका लागि भने जतिवेला पनि ढोका खुला रहेको उनले बताए ।

मन्त्रालयले गठन गरेको वार्ताटोली आन्दोलनकारीजस्तो गरी प्रस्तुत भएका कारण दोस्रोपटकको वार्ता पनि असफल भएको संघको आरोप छ । सरकार आफूहरूलाई कमजोर बनाई आन्दोलन तहस–नहस बनाउने षड्यन्त्रमा लागेको आरोप लगाउँदै चापागाईंले भने, ‘तर, त्यसमा सरकार सफल हुनेछैन ।’

One thought on “एचए–सरकार वार्ता : पहिलो बुँदाबाट छलफल बढेकै छैन– एचए, सहमतिनजिक छौँ– सरकार

  1. के बढुवा वाट गएका कर्मचारी योग्य छैन? हे.अ.ले आफ्नो गोरुको बार्है टका भनेर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय