डा. केसीको स्वास्थ्य थप नाजुक, निमोनिया जटिल बन्दै गएपछि नसाबाट एन्टिबायोटिक्स दिन थालियो

हेल्थपोस्ट नेपाल

इलाममा ७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यअवस्था ज्यादै कमजोर बन्दै गएपछि चिकित्सकले मंगलबार अपराह्नदेखि उनलाई एन्टिबायोटिक चलाएका छन् ।

फोक्सोको दायाँ भागमा निमोनियाको संक्रमण, मुटुको चालमा अत्यधिक अनियमितता, रगतमा चिनीको मात्रामा निरन्तर गिरावटलगायत गम्भीर स्वास्थ्य चुनौती झेलिरहेका डा. केसीले यसअघि कुनै पनि औषधि प्रयोग गर्न मानेका थिएनन् । मंगलबार भने स्वास्थ्यअवस्था थप कमजोर बनेपछि डा. केसीको सहमति लिई आइभी एन्टिबायोटिक (नसाबाट दिइने एन्टिबायोटिक) चलाउन सुरु गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. बृजेन्द्रकुमार साहले बताए ।

अनशनका क्रममा गम्भीर स्वास्थ्य जोखिम देखिएपछि डा. केसीलाई सोमबार इलाम अस्पताल सारिएको थियो । चिकित्सकले सोमबार नै स्वास्थ्य जोखिम बढ्दै गएको जनाउँदै तत्काल आइसियूमा राखेर उपचार गर्नुपर्ने तर अस्पतालमा आइसियूसेवा उपलब्ध नभएकाले सेवा भएको स्थानमा लगेर उपचार गराइहाल्न सुझाएका थिए ।

अस्पतालका अनुसार पछिल्लो समय डा. केसीलाई टाउको दुख्ने, पेट पोल्ने, खुट्टाको मांसपेसीको दुखाइ बढ्नुका साथै श्वास फेर्न निकै गाह्रो भइरहेको छ । दायाँ फोक्सोमा निमोनियाको संक्रमण छ भने रगतमा चिनीको मात्रा कम हुँदै गएको छ । मुटुको चालमा ठूलो अनियमितता हुनु प्रमुख समस्याका रूपमा रहेको छ । पछिल्लो समय डा. केसीको मुटुको चाल कहिले घटेर ३५ मा झर्ने गरेको छ त कहिले बढेर २०० सम्म पुग्ने गरेको छ । रोगसँग लड्न सक्ने क्षमता निरन्तर कम हुँदै गएको र शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुग्ने गरेको अस्पतालले जनाएको छ ।
मुटुको चालमा आएको अनियमितता जोखिमपूर्ण रहेकाले तत्काल आइसियूमा राखेर उपचार गराउनुपर्ने आवश्यकता औँल्याउँदै अस्पतालले उक्त सेवा आस्पतालमा नभएकाले उपचारमा समस्या आएको बताएको छ । इन्फेक्सन हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालले सीमित मानिसलाई मात्र डा. केसीसित भेट गर्न दिएको छ । सीमित भेटघाटमा पनि माक्स, गाउन र क्याप लगाएर मात्र भेट्न पाउने व्यवस्था अस्पतालले मिलाएको छ ।

धरानबाट विशेषज्ञ टोली
डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट इर्मजेन्सी मेडिसिन र मुटुरोग विशेषज्ञसहितको ११ जनाको टोली ‘पोटेवल भेन्लिेटर’ सहित इलामतर्फ लागेको छ । टोलीमा २ फिजिसियान, एनेस्थेसिया र प्रयोगशालका विज्ञसमेत छन् । धरानमा समेत आइसियू कक्षा तयारी अवस्थामा राखिएको प्रतिष्ठानले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *