तेस्रो दिनमै खस्कियो डा. केसीको स्वास्थ्य, चिनीको मात्रा न्यून, पिसाबमा किटोन

पूर्वी नेपालको इलाममा तीन दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य तेस्रो दिनमै खस्किएको छ ।  छातीमा दुखाइका साथै शौचालय जाँदा पनि थरथर काप्न थालेपछि इलाममा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्यजाँचका लागि डा. केसीलाई विशेष आग्रह गरेका थिए ।

डा. केसीले चिकित्सकहरूको अनुरोधलाई स्विकारेपछि रगत निकालेर इलाम अस्पतालको प्रयोगशालामा जाँच गरेको स्थानीय चिकित्सक डा. रामकृष्ण आचार्यले हेल्थपोस्टनेपाललाई जानकारी दिए ।

डा. आचार्यका अनुसार परीक्षण रिपोर्टअनुसार तेस्रो दिनमा रगतमा चिनीको मात्रा निकै घटिसकेको छ । ‘न्यूनतम पनि ७० हुनुपर्ने सुगरको मात्रा ५० भन्दा कम भइसकेको छ,’ डा. आचार्यले भने, ‘पिसाबमा पनि किटोन बढी पोजेटिभ देखिन सुरु भइसकेको छ ।’

चिकित्सकहरूका अनुसार पिसाबमा किटोन बढी देखिनु भनेको सुगर घटेर शरीरका महत्वपूर्ण अंग सञ्चालनका लागि मौज्दात प्रोटिन प्रयोग भइरहेको संकेत हो । यो शरीरलाई खाना नपुगेर आफ्नै शरीरलाई खान थालेको संकेत हो ।

पछिल्लो समय डा. केसीलाई खोकी लागिरहेको र छातीको दुखाइ पनि बढिरहेकाले बढी डर लागेको आचार्य बताउँछन् । ‘छातीको दुखाइ र खोकी पनि हुँदा निमोनिया भइहाल्यो भने नियन्त्रण गर्न कठिन पर्छ,’ उनले भने, ‘अहिलेसम्म मुटुको चाल भने ठिक छ ।’
इलाममा चिसो बढेकाले पनि श्वास–प्रश्वासमा कठिनाइ भए जटिलता बढ्न सक्ने त्रास चिकित्सकहरूको छ । ‘बोली निकै मसिनो भइसकेको छ, शरीर बाउँडिएको र छाती दुःखेको भन्नुहुन्छ,’ उनले थपे, ‘जिउ थरथर कापिरहेको छ ।’

समर्थनमा प्रदर्शन
अनशनको तेस्रो दिन पनि इलाममा डा. केसीको समर्थनमा स्वतःस्फूर्त रूपमा नागरिक प्रदर्शन भएको डा. आचार्यले जानकारी दिए । र्यालीमा स्वास्थ्यकर्मी, स्थानीय नागरिक अगुवा, महिलाहरूको उल्लेख्य सहभागिता रहेको जानकारी उनले दिए ।
१५औँ अनशनका क्रममा सरकारसँग भएको सहमतिका महत्वपूर्ण बुँदालाई पन्छाएर सत्तारूढ दल नेकपाको बहुमत रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चिकित्साशिक्षा विधेयकमाथिको प्रतिवेदन पारित गरेपछि डा. केसीले बुधबार साँझदेखि १६औँ सत्याग्रह सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय