मन्त्री मोफसलमा हुँदा एचए–सरकार वार्ता आइतबारलाई धकेलियो

४ दिनदेखि आन्दोलनरत एचए संघ नेपाल र सरकारबीच शुक्रबार हुने भनिएको वार्ता आइतबारलाई सरेको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको राजधानीबाहिर भएको कारण देखाउँदै स्वास्थ्यराज्यमन्त्रीले एचए संघका कार्यवाहक अध्यक्षसँग वार्ता आइतबारका लागि सार्न अनुरोध गरेपश्चात् वार्ता स्थगित भएको एचए संघ नेपालका अध्यक्ष दीपेन्द्र खड्काले जानकारी दिए । मन्त्री यादव मंगलबारदेखि तराई–मधेसका विभिन्न कार्यक्रममा व्यस्त छन् ।

संघले संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती तथा राज्यव्यवस्था समितिकी सभापति शशी श्रेष्ठलाई समेत आफ्ना मागहरूसहित ध्यानाकर्षणपत्र बुझाइसकेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता समिति गठन गरी शुक्रबार नै आन्दोलनरत एचए संघलाई वार्ताका लागि बोलाउने जानकारी मन्त्रालयले दिएको भए पनि वार्ता हुन नसकेको संघका कार्यवाहक अध्यक्ष खड्काले बताए ।

संघले केहीबेरमै केन्द्रीयस्तरको बैठक बोलाई आन्दोलनको नयाँ ढाँचा ल्याउने खड्काले बताए । शैक्षिक योग्यताको कदर नहुने र लोकसेवाको प्रक्रियालाई समेत नमान्ने हो भने संघले शैक्षिक संस्था बन्द गराई पढ्दै गरेका विद्यार्थीसहित योग्यताको पक्षमा वकालत गर्ने जोसुकैलाई आन्दोलनमा उतार्न सक्ने खड्काको दाबी छ ।  ‘नेपाल जनस्वास्थ्य संघले समेत एचएको आन्दोलनलाई समर्थन गर्दै विज्ञप्ति निकालिसकेको छ,’ खड्काले भने, ‘अन्य स्वास्थ्यक्षेत्रका सहकर्मी तथा संघ–संस्थाले समेत हाम्रो पक्षमा वकालत गरिसकेका छन् । त्यसकारण आन्दोलनका आगामी कार्यक्रमहरूमा स्वास्थ्यका सबखाले संघ–संस्थाको साथ एचए संघलाई प्रप्त हुने हामीलाई विश्वास छ ।’

स्वास्थ्य मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता समिति गठन गरी शुक्रबार नै आन्दोलनरत एचए संघलाई वार्ताका लागि बोलाउने जानकारी मन्त्रालयले दिएको भए पनि वार्ता हुन नसकेको संघका कार्यवाहक अध्यक्ष खड्काले बताए ।

अहिलेसम्मको आन्दोलन उच्छृंखल नबनेको तथा कर्मचारीको मर्यादाबाहिर नगएको खड्काको दाबी छ । ‘सकेसम्म सभ्य तरिकाबाटै समस्याले समाधान पाउला भन्नेमा आशावादी भएरै अहिलेसम्म आन्दोलनमा कडा कार्यक्रम नल्याइएको हो,’ उनको भनाइ छ ।

राजपा नेपाललाई ज्ञापनपत्र
यसैबीच एचए संघ नेपालले आफ्ना माग र आन्दोलनलाई लिएर राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोलाई ज्ञापनपत्र बुझाएको छ । आफ्नो आन्दोलनलाई स्वास्थ्य मन्त्रालयले बेवास्ता गरेको भन्दै संघले संयोजक महतोलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।
कर्मचारीको परिचयपत्र हुँदासमेत आफूहरूलाई तोकेरै मन्त्रालय प्रवेशमा रोक लगाइएको प्रति एचएका प्रतिनिधिहरूले गुनासोसमेत गरेका छन् । ज्ञापनपत्र बुझ्नेक्रममा एचएको माग जायज भएको राजपा संयोजक महतोले बताए ।

स्वास्थ्यसंस्थाको नेतृत्व विनायोग्यता स्वतः बढुवा पाएकाहरूले नभई योग्य र लोकसेवाको प्रक्रियाबाट आएका एचएले पाउनुपर्नेलगायत माग राख्दै मंगलबारदेखि आन्दोलनरत एचए संघ नेपालले शुक्रबार पनि दिनभर माइतीघर मण्डलामा धर्ना जारी रखेको छ । सुरुमा स्वास्थ्य मन्त्रालयभित्रै दबाबमूलक धर्ना दिएका एचएलाई बिहीबार मन्त्रालय प्रवेशमा रोक लगाइएपछि उनीहरूले माइतीघरमा प्रदर्शन गरिरहेका हुन् । देशभर करिब १५ हजारको संख्यामा एचए कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय