कोसीका स्वास्थ्यकर्मीले मन्त्रीलाई भने– दक्ष जनशक्ति र उपकरण अभावमा गुणस्तरीय सेवा दिन सकिएन

विराटनगरस्थित कोसी अञ्चल अस्पताल प्रशासनसहित अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले दक्ष जनशक्ति र उपकरण अभावले गुणस्तरीय सेवाप्रवाह गर्न नसकेको गुनासो गरेका छन् । बुधबार अनुगमनका लागि अस्पताल पुगेका उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसितको छलफलका क्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । अस्पतालको अनुगमनलगत्तै मन्त्री यादवले छलफल कार्यक्रम राखेका थिए ।

छलफलका क्रममा अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादवले अस्पतालमा विद्यमान भेन्टिलेटर मेसिन २ थान रहे पनि सञ्चालनका लागि अक्सिजन प्लान्ट र वितरण प्रणाली नभएको गुनासो गरेका छन् । यस्तै, अस्पतालमा क्याथल्याब सेवा र ल्याब उपकरणहरु नरहेकाले सेवाप्रवाहमा समस्या भएको उनले बताए ।

यस्तै, मेडिसिन विभागका डा. दीपक सिग्देलले ६ वटा मात्र आइसियू बेड रहेकाले बिरामीलाई अन्य अस्पतालमा रेफर गर्न बाध्य भएको गुनासो गरे । यस्तै, अस्पतालकी मेट्रोन मञ्जु यादवले बिरामीको अनुपातमा नर्सिङ कर्मचारी अत्यन्तै कम भएको गुनासो गरेकी छिन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कोसी अञ्चल अस्पताललाई प्रदेश १ को टर्सरी सेवासहितको केन्द्रीय अस्पताल बनाउने निर्णय गरिसकेको जानकारी दिए । उनले टर्सरी सेवा दिने केन्द्रीय अस्पताल बनाउन छुट्टाछुट्टै विभाग आवश्यक रहेको भन्दै जग्गाका लागि छलफल भइरहेको बताए ।

यस्तै, नाक–कान–घाँटी विभागका अनीता जिसी, दन्त विभागका सुधीर श्रेष्ठ, अर्थो विभागका यज्ञराज खरेल, सर्जिकल वार्डका सुनील अधिकारी, प्रसूति विभागका संगीता मिश्रलगायत विभागीय प्रमुखहरुले आ–आफ्ना विभागका समस्या अवगत गराएका थिए । दक्ष जनशक्ति र आवश्यक भौतिक संरचना अभावका कारण अस्पतालले प्रदान गर्दै आएको सेवा आफैँलाई चित्त नबुझेको उनीहरुको भनाइ थियो ।

छलफलपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कोसी अञ्चल अस्पताललाई प्रदेश १ को टर्सरी सेवासहितको केन्द्रीय अस्पताल बनाउने निर्णय गरिसकेको जानकारी दिए । उनले टर्सरी सेवा दिने केन्द्रीय अस्पताल बनाउन छुट्टाछुट्टै विभाग आवश्यक रहेको भन्दै जग्गाका लागि छलफल भइरहेको बताए । उनले अस्पताललाई लर्निङ सेन्टरका रुपमा विकास गर्न सरकार अगाडि बढिसकेको पनि स्पष्ट परेका छन् ।

मन्त्री यादवले कोसी अञ्चल अस्पताल जनताको भरोसाको केन्द्र भएकाले सोहीअनुसारको गुणस्तरीय र प्रभावकारी सेवाप्रवाह गर्न निर्देश गरेका छन् ।
उनले अस्पतालभित्र छिरिसकेका बिरामीले सेवा नलिई नफर्किने अवस्था सिर्जना गर्नसमेत अस्पताललाई निर्देशन दिएका छन् । देश संघीयतामा गइसकेकाले नामबाट अञ्चल शब्द हटाउन आग्रह पनि गरे । यस्तै, मन्त्री यादवले सरकारले स्वास्थ्यक्षेत्रका विकृति अन्त्य गर्न फाइल ट्र्याकिङ सिस्टम लागू गरेको जानकारी दिँदै अब स्वास्थ्यसंस्थाको विकृति अन्त्य हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय