इलाम पुगे डा. केसी, आजै चार बजेदेखि १६औँ सत्याग्रह

चिकित्साशिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले संघीय संसद्को उपसमितिबाट पारित प्रतिवेदनलाई समितिले जस्ताको तस्तै पारित गरे बुधबारदेखि नै १६औँ सत्याग्रह सुरु गर्ने भएका छन् ।

उनले संसदीय समितिकी सभापतिले सम्झौताअनुसार नै विधेयक टुंग्याउँछु भनेका कारण १७ गतेका लागि घोषित अनशन स्थगित गरेको भन्दै सोअनुसार नभए बुधबारदेखि नै अनशन सुरु गर्ने बताए । ‘अबको अनशन मेडिकल माफियाविरुद्ध मात्रै होइन, तिनका संरक्षक दलका नेताविरुद्ध हुनेछ,’ डा. केसीले हेल्थपोस्टसँग भने, ‘त्यतिवेला जनताले यिनीहरूको वैधतामा प्रश्न गर्नेछन् ।’

डा. केसी एक साताअघि अनशनका लागि इलाम पुगेका थिए । त्यतिवेला संसदीय समितिकी सभापति जयपुरी घर्तीले सम्झौताअनुसार नै विधेयक पारित गर्ने भन्दै तत्काल अनशन नथाल्न र धैर्य गर्न डा. केसीलाई आग्रह गरेपछि उनी २५ गतेसम्मको अल्टिमेटम दिएर फर्किएका थिए । सोमबार उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकारसम्मेलन गरेर सम्झौताविपरीत उपसमितिले गरेको निर्णय सच्याउन समितिसमक्ष आग्रह गरेका थिए ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा विधेयकलाई सम्झौताअनुसार टुंग्याउने पक्षमा सत्तापक्षी सांसद तयार नदेखिएपछि डा. केसी मंगलबार साँझ नै विराटनगर गएका थिए । विराटनगरबाट उनी मंगलबार इलाम पुगेका छन् । इलाममा डा. केसीले राति ९ बजे पत्रकारसम्मेलनसमेत गरेका थिए ।

डा. केसीले उपसमितिमा आफूसँग १५औँ अनशनका क्रममा भएका सम्झौताविपरीतका प्रावधान थपिएको भन्दै पछिल्लोपटक मेडिकल विश्वविद्यालय खोल्ने विषय पनि गलत नियतले राखिएको आशंका गरे । ‘विनाअध्ययन मेडिकल विश्वविद्यालयका कुरा कुन इन्टेन्सनले आयो ?’ डा. केसीले भने । उनले मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने विषय स्वागतयोग्य भएको भन्दै अब यो विधेयकपछि खुल्ने सबै कलेजहरू गैरनाफामूलक हुनुपर्ने बताए ।
डा. केसीले सम्झौताअनुसार विधेयक पारित गराएर सञ्चालनमा रहेका विश्वविद्यालय र सरकारी अस्पतालसँगको सहकार्यमा ती विश्वविद्यालयबाट सम्बन्धन लिएर बाहिर मेडिकल कलेज खोल्न सकिने विकल्प रहेको सुनाए ।

‘अहिले चलिरहेका विश्वविद्यालयबाट सम्बन्धन दिने कुरा कदापि मान्य हुन्न,’ उनले भने, ‘यो पूर्णतः गुणस्तरको सवाल हो ।’
उनले सरकारी विश्वविद्यालय र कलेज खोल्नेमा भन्दा नेताहरूका ध्यान निजी मेडिकल कलेजलाई नै पोस्नेमा केन्द्रित रहेको बताए । ‘दुर्गम क्षेत्रको प्रतिनिधित्व गर्ने नेताहरू नै व्यापारिक मेडिकल कलेजलाई कसरी पोस्ने भन्ने जिम्मेवारी लिएर हिँडेका छन्,’ उनले भने, ‘ती सबैका विरुद्ध लड्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय