हेल्थ असिस्टेन्ट पनि आन्दोलित– पदेन हाकिम हुने कि, पढेका हुनेमा विवाद

संघीय नेपालमा कर्मचारी समायोजनका क्रममा निरपेक्ष रूपमा वरिष्ठतालाई पहिलो आधार बनाउँदा कम शैक्षिक योग्यता भएकाहरूले नेतृत्व पाउने अवस्था आएको भन्दै हेल्थ असिस्टेन्टहरू आन्दोलनमा उत्रिएका छन् ।
नयाँ संरचनामा स्वास्थ्यसेवामा सहायक दोस्रो, तेस्रो, चौथो, पाँचौँ तहमा सेवा प्रवेश गरेका र माथिल्लो तहको शैक्षिक योग्यताविना स्वतः स्तरवृद्धि भएकाहरूलाई लोकसेवाको प्रक्रियाविनै माथिल्लो तहको ज्येष्ठता मानी जिम्मेवारी दिन लागिएको भन्दै एचएले आन्दोलन थालेका छन् ।
नयाँ सरकारी व्यवस्थाअनुसार एउटै संस्थामा पाँचौँ तहको माथिल्लो शैक्षिक योग्यता भएको एचए भए पनि छैटौँ तहका अ.हे.व÷सि.अ.हे.वले स्वास्थ्यसंस्थाको प्रमुख हुने अवसर पाउनेछन् । सरकारको यो निर्णयविरुद्ध हेल्थ असिस्टेन्ट संघ नेपालको आह्वानमा देशभरका हेल्थ असिस्टेन्टहरू मन्त्रालयमा जम्मा भई विरोधसभा एवम् धर्ना गरेका छन् ।

स्वास्थ्यसेवा ऐनको दफा ९(१) अनुसार स्तरवृद्धि भएका स्वास्थ्यसेवाका प्राविधिकले जुन तहमा स्तरवृद्धि भएको हो, सोही तहमा काम गर्नुपर्ने व्यवस्था छ । ऐनमा सि.अ.हे.व. अधिकृत छैटौँ (विशेष पदस्थापन) सेवानिवृत्त हुँदा चौथो तह अ.हे.व. पदको दरबन्दी रित्त हुने र सरुवा प्रावधानमा समेत सि.अ.हे.व.अधिकृत छैटौँ तह (विशेष पदस्थापनसमेत)मा चौथो वा पाँचौँ तहमा कार्यरत अ.हे.व.ले नै स्थानपूर्ति गर्ने व्यवस्था छ ।

स्वास्थ्य मन्त्रालयले २२ पुसमा पुनः प्रस्ताव गरेको संगठन संरचनाप्रति उनीहरूको आपत्ति छ । नयाँ संरचनाले कर्मचारीमा मनमुटाव सिर्जना र स्वास्थ्यसेवाप्रवाहमा असर पर्ने अवस्था निम्तिएको संघको ठहर छ ।

स्वास्थ्यसेवा ऐनको दफा ९(१) अनुसार स्तरवृद्धि भएका स्वास्थ्यसेवाका प्राविधिकले जुन तहमा स्तरवृद्धि भएको हो, सोही तहमा काम गर्नुपर्ने व्यवस्था छ । ऐनमा सि.अ.हे.व. अधिकृत छैटौँ (विशेष पदस्थापन) सेवानिवृत्त हुँदा चौथो तह अ.हे.व. पदको दरबन्दी रित्त हुने र सरुवा प्रावधानमा समेत सि.अ.हे.व.अधिकृत छैटौँ तह (विशेष पदस्थापनसमेत)मा चौथो वा पाँचौँ तहमा कार्यरत अ.हे.व.ले नै स्थानपूर्ति गर्ने व्यवस्था छ ।
ऐनको व्यवस्थाविपरीत माथिल्लो तहको ज्येष्ठताका आधारमा स्वास्थ्य क्षेत्रमा जिम्मेवारी दिँदा स्वास्थ्यसेवाको गुणस्तरमै असर पर्ने संघको ठहर छ । संघले शैक्षिक योग्यता र र लोकसेवाको प्रक्रियाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्ने माग गरेको छ । ‘कर्मचारीको सेवा–सुविधाका लागि दिइएको स्तरवृद्धिलाई जिम्मेवारी दिँदा स्वास्थ्यसेवा धरासायी हुने’ संघको ठहर छ ।

संघका उपाध्यक्ष तथा आन्दोलनका संयोजक मेघनाथ चौपागाईंले स्वास्थ्य मन्त्रालयबाटै शैक्षिक योग्यता र लोकसेवा प्रक्रियाबाट आएका कर्मचारीहरूलाई जिम्मेवारी दिने कुरामा मन्त्रालयको नेतृत्व उदासीन देखिएको आरोप लगाए ।

शैक्षिक योग्यता र लोकसेवा पास गरेर माथि आएका कर्मचारीलाई हेल्थपोस्टको नेतृत्व दिनुपर्ने चापागाईंको भनाइ छ । आफूभन्दा तल्लो तहको कर्मचारीको नेतृत्वमा काम गर्नुपरको उनको गुनासो छ । शैक्षिक योग्यता र लोकसेवा पास गरेर आएका कर्मचारीलाई हेल्थपोस्टको नेतृत्व प्रदान गर्ने विधेयक पास नभए थप कडा आन्दोलनमा जाने चेतावनी उनले दिए ।
माग सम्बोधन नभए सबै हेल्थपोस्टमा रहेका १५ हजार एचएलाई आन्दोलनमा उतार्ने चेतावनी उनीहरूले दिएका छन् ।

मागहरू
१. कर्मचारीलाई कार्यजिम्मेवारी दिँदा खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश वा लोकसेवा आयोगको प्रक्रियागत बढुवा भएबमोजिम नियुक्तिपत्रमा उल्लेखित पदअनुसार मात्रै दिनुपर्ने ।
२. स्थानीय तहमा कर्मचारी खटाउँदा वा समायोजन गर्दा तहगत रूपमा नभई जिम्मेवारी तथा कार्यप्रकृति हेरी ‘चेन अफ कमान्ड’ र ‘हाइरार्की’मा कुनै असर नपर्ने गरी सेवाप्रवेश गरेको नियुक्तिपत्रमा उल्लेखित पदअनुसार मात्र गर्नुपर्ने ।
३. स्थानीय तहका लागि प्रस्तावित संगठन संरचनामा शाखा र उपशाखा तथा एकाइ प्रमुखमा वर्गका आधारमा तहगत, पदीय ज्येष्ठता हुनुपर्ने ।
४. कर्मचारी खटाउँदा सेवामा रहँदाको ऐन–नियममा उल्लेखित सेवा, सुविधा र सुरक्षाको सर्तमा कुनै परिवर्तन नहुने गरी खटाउनुपर्ने ।
५. संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयकमा अन्तरसेवा तथा अन्तरप्रादेशिक लोकसेवा आयोगमा प्रतिस्प्रर्धा गर्न पाउने व्यवस्था हुनुपर्ने ।
६. ‘ननएकेडेमिक’ तालिमलाई निरुत्साहित गर्दै कर्मचारी शैक्षिक एकेडेमिक अध्ययनको बाटोलाई स्पष्ट तय गरिनुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय