प्रदेश ५ सरकारद्वारा ४ अस्पताललाई प्रादेशिक नाम, अन्य २ को परिवर्तन

हेल्थपोस्ट नेपाल
साबिकको मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालय, बिजौरी, दाङ

प्रदेश ५ सरकारले चार अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा नामकरण गरेको छ । प्रादेशिक नामकरण हुनेमा तीन अञ्चल अस्पताल र एक क्षेत्रीयस्तरको चिकित्सालय छन् ।
सामाजिक विकास मन्त्रालयले गरेको सिफारिसका आधारमा प्रदेश मन्त्रिपरिषद्ले नाम परिवर्तनको निर्णय गरेको हो । प्रादेशिक नामकरण गरिएका चारबाहेक अन्य दुई अस्पतालको पनि नाम परिवर्तन गरिएको छ ।

प्रदेश सरकारले बुटवलको लुम्बिनी अञ्चल अस्पताल, तुल्सीपुरको राप्ती अञ्चल अस्पताल, नेपालगन्जको भेरी अञ्चल अस्पताल र दाङ बिजौरीको मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालयलाई प्रदेश अस्पतालका रुपमा नामकरण गरेको हो । सामाजिक विकासमन्त्री सुदर्शन बरालका अनुसार ती अस्पतालहरूको परिवर्तित नाम क्रमशः लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, राप्ती प्रादेशिक अस्पताल, दाङ, भेरी प्रादेशिक अस्पताल, नेपालगन्ज र राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी, दाङ भएका छन् ।

त्यसैगरी, मन्त्रिपरिषद्ले लुम्बिनी अञ्चल आयुर्वेद औषधालय, बुटवल र राप्ती अञ्चल आयुर्वेद औषधालय, तुल्सीपुरको नाम परिवर्तन गरी लुम्बिनी आयुर्वेद चिकित्सालय र राप्ती आयुर्वेद चिकित्सालय बनाएको छ ।
मुलुक प्रदेश संरचनामा गइसकेको र अञ्चल नरहेको अवस्थामा तत्कालका लागि प्रदेश संरचनाअनुसार अस्पतालहरूको नामकरण गरिएको समाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *