कर्मचारीको भन्दा जनसाधारणको मन जित्दै निजामती अस्पताल, छुट पाउनेको कम, नपाउनेको बढी आकर्षण किन ?


विशेषगरी निजामती कर्मचारीलाई सस्तो र गुणस्तरीय स्वास्थ्योपचार सेवा प्रदान गर्ने मूल लक्ष्यका साथ ९ वर्षअघि स्थापित निजामती अस्पतालमा दिनहुँ सर्वसाधारण बिरामीको चाप बढ्दो छ । काठमाडौंको बानेश्वरस्थित अस्पतालबाट उपचार सेवा लिनेमा करिब ७५ प्रतिशत सर्वसाधारण छन् भने करिब २५ प्रतिशत मात्र निजामती कर्मचारी छन् । यद्यपि, अस्पतालले निजामती कर्मचारीलाई आकर्षक सहुलियत उपलब्ध गराउँदै आएको छ ।

किन बढ्दै छ जनसाधारणको आकर्षण ?
कर्मचारीको तुलनामा झन्डै दोब्बर शुल्क तिरेर उपचार गराउन सर्वसाधारणको आकर्षण बढ्नुमा सेवाको गुणस्तर र अन्यत्र नपाइने दुर्लभ सेवा प्रमुख कारणका रुपमा छन् । अस्पतालका निर्देशक प्रा.डा. दीर्घराज आरसी बिरामीको आकर्षणको प्रमुख कारण अस्पतालको गुणस्तरीय र सस्तो सेवाप्रवाहलाई मान्छन् । सबैको पायक पर्ने स्थानमा अस्पतालको अवस्थिति र दुर्लभ सेवाको उपलब्धता पनि बिरामीको चाप थेगिनसक्नु हुनुका महत्वपूर्ण फ्याक्टर रहेको उनको ठम्याइ छ ।
अस्पतालले केही विशेष प्रकारका सेवामा प्रभाव देखाउन सकेकाले दिनहुँ बिरामीको चाप बढ्दै गएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख माधव घिमिरे बताउँछन् । अस्पतालले हेमाटोअन्कोसम्बन्धी सेवालाई विशेष प्राथमिकतामा राखेर सेवाप्रवाह गरेकाले पनि उपचारको क्षेत्रमा अस्पताल विशेष बनेको घिमिरेको दाबी छ ।
उपचारका साथै अस्पतालको चुस्त व्यवस्थापनका कारण आफू अस्पतालप्रति आकर्षित भएको ३ वर्षदेखि नियमित सेवा लिइरहेकी सुमना आचार्य बताउँछिन् ।

अस्पतालले ४ वर्षअघि नै बोन म्यारो ट्रान्सप्लान्ट सुरु गरेको थियो, जुन हालसम्म अन्य कुनै अस्पतालले सुरु गरेका छैनन् । हालसम्म  सय जनाभन्दा बढीले अस्पतालबाट यो दुर्लभ सेवा लिइसकेका छन् ।

निजामतीमा मात्र उपलब्ध छन् केही सेवा
नेपालमा केही स्वास्थ्यसेवा यस्ता छन्, जुन निजामती अस्पतालमा मात्र उपलब्ध छन् । अस्पतालले पहिले १६ स्लाइसको सिटिस्क्यानमार्फत सेवा दिँदै आएकोमा अहिले २ सय ५६ स्लाइसको नयाँ सिटिस्क्यान मेसिन ल्याएको छ, जुन निकै कम ठाउँमा मात्रै उपलब्ध छ । बोन म्यारो ट्रान्सप्लान्टसेवा लिन बिरामीले निजामती अस्पताल नै जानुपर्ने हुन्छ । अस्पतालले ४ वर्षअघि नै बोन म्यारो ट्रान्सप्लान्ट सुरु गरेको थियो, जुन हालसम्म अन्य कुनै अस्पतालले सुरु गरेका छैनन् । हालसम्म  सय जनाभन्दा बढीले अस्पतालबाट यो दुर्लभ सेवा लिइसकेका छन् ।

अन्य अस्पतालमा समेत उपलब्ध सेवामध्ये पनि केही सेवा यस्ता छन्, जसका लागि बिरामी निजामती अस्पताललाई नै पहिलो रोजाइ बनाउने गरेका छन् । नेपालमा हुने कुल जोर्नी प्रत्यारोपणको झन्डै आधा निजामती अस्पतालमा हुनु यसको उदाहरण हो । कुल प्रत्यारोपणको ४० देखि ५० प्रतिशत निजामती अस्पताल एक्लैले गर्ने गरेको छ ।

यस्तो छ बिरामीको फ्लो
पछिल्लो २–३ वर्षमा अस्पतालमा प्रतिवर्ष दैनिक बिरामीको संख्यामा ३ सयदेखि ५ सयले वृद्धि भइरहेको अस्पतालका जनसम्पर्क विभाग प्रमुख माधव घिमिरे बताउँछन् । उनका अनुसार दैनिक ४ देखि ५ सयको संख्यामा ल्याब टेस्टका लागि सेवाग्राही आउने गरेका छन् ।
३ वर्षमा उपचार सेवा लिने बिरामीको तथ्यांक हेर्ने हो भने अस्पतालमा सर्वसाधारणको आकर्षण बढ्दो छ भने निजामती कर्मचारीको आकर्षण केही घटेको छ । आर्थिक वर्ष ०७१/७२ मा अस्पतालले जम्मा १ लाख ८६ हजार १ सय ११ बिरामीलाई स्वास्थ्यसेवा प्रदान गरेको थियो, जसमा निजामती कर्मचारीको संख्या ५२ हजार ८७ थियो भने १ लाख ३४ हजार २४ सर्वसाधारण थिए । तीमध्ये ७ हजार ८ सय ३० जनाले भर्ना गराएर उपचार गराएकोमा ५ हजार ४ सय ८८ ले शल्यक्रिया गराएका थिए ।

त्यसैगरी, ०७२/७३ मा कुल २ लाख ३ हजार ६ सय ५८ बिरामीले सेवा लिएकोमा निजामती कर्मचारीको संख्या जम्मा ५१ हजार २ सय ३ थियो, जुन अघिल्लो वर्षको तुलनामा केही कम हो । सर्वसाधारणतर्फ भने १ लाख ५२ हजार ४ सय ५५ ले सेवा लिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा करिब १८ हजारले बढी हो । यसवर्ष कुल बिरामीमध्ये ८ हजार ३ सय २१ ले भर्ना भएर उपचार गराएका थिए भने ६ हजार २ सय ९ ले शल्यक्रियासेवा लिएका थिए ।
अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा भने विगत वर्षको तुलनामा अस्पतालमा बिरामी केही घटेको तथ्यांकले देखाएको छ । यसवर्ष कुल १ लाख ९३ हजार ६ सय ३७ बिरामीले सेवा लिएकोमा निजामती कर्मचारी ४७ हजार ७ सय २१ र सर्वसाधारण १ लाख ४५ हजार ९ सय १६ थिए । जसमध्ये ७ हजार ९ सय २६ बिरामीले भर्ना भएर उपचार गराएकोमा ६ हजार २४ लाई शल्यक्रियाको आवश्यकता परेको थियो । तथ्यांकलाई अनुपातमा विश्लेषण गर्ने हो भने अस्पतालमा निजामती कर्मचारीको भन्दा पनि सर्वसाधारणको आकर्षण बढ्दै गएको स्पष्ट देखिन्छ ।

अस्पतालबाट दैनिक ७ सयदेखि हजारजनासम्म बिरामीले ओपिडीसेवा लिने गरेका छन् । यसले बिरामीको अत्यधिक चापलाई इंगित गर्छ । अस्पतालमा दैनिक २५ देखि ३० वटासम्म मेजर शल्यक्रिया हुने गरेका छन् । यसका लागि अस्पतालमा रहेका ४ वटा अप्रेसन थिएटर सञ्चालनमा छन् ।

अधिकृतस्तरलाई ४०, अन्यलाई ५० प्रतिशत छुट
निजामती कर्मचारीलाई लक्षित गरी खोलिएको अस्पतालमा सर्वसाधारण र कर्मचारीका लागि अलग शुल्क निर्धारण गरिएको छ । अस्पतालले दुई मापदण्ड निर्धारण गरी निजामती कर्मचारीलाई आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ । अस्पतालले अधिकृतस्तरका निजामती कर्मचारीलाई ४० प्रतिशत र त्यसदेखि तल्लोस्तरका कर्मचारीलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यो सुविधा सामान्य चेकजाँचदेखि शल्यक्रिया, बेड, ल्याब टेस्टलगायतमा उपलब्ध छ । तर, सुविधाअनुसार अस्पतालमा कर्मचारीको आकर्षणलाई तथ्यांकले पुष्टि गर्न सकेको देखिँदैन ।

दैनिक हजार बिरामीले लिन्छन् ओपिडी सेवा
अस्पतालबाट दैनिक ७ सयदेखि हजारजनासम्म बिरामीले ओपिडीसेवा लिने गरेका छन् । यसले बिरामीको अत्यधिक चापलाई इंगित गर्छ । अस्पतालमा दैनिक २५ देखि ३० वटासम्म मेजर शल्यक्रिया हुने गरेका छन् । यसका लागि अस्पतालमा रहेका ४ वटा अप्रेसन थिएटर सञ्चालनमा छन् ।
१ सय ३२ बेडका लागि सञ्चालन अनुमाति पाएको अस्पतालले हाल १ सय ५० बेडमार्फत सेवा दिइरहेको छ । हाल अस्पतालमा मेडिसिन, गाइनो, फेमिली मेडिसिन, इमर्जेन्सी, अर्थाेपेडिक, साइसेन्टेसिक, आँखा, डेन्टललगायत विभाग छन् ।

सेवाग्राहीको अनुभवमा अस्पताल
सुमना आचार्य ३ वर्षदेखि निजामती अस्पताल बानेश्वरमा नियमित स्वास्थ्यपरीक्षण गराउँदै आएकी छिन् । उनलाई अन्य अस्पतालको तुलनामा निजामती अस्पताल व्यवस्थित लाग्छ । यहाँ आउनुअघिसम्म काठमाडौंको वीर अस्पतालमा नियमित स्वास्थ्यपरीक्षण गराउने गरेकी आचार्यलाई त्यहाँको व्यवस्थापन सन्तोषजनक लागेन, जसका कारण उनी निजामती अस्पताल पुगिन् । ‘म त सामान्य रुघाखोकीदेखि जटिल समस्यामा पनि स्वास्थ्यपरीक्षणका लागि यहीँ (निजामती अस्पताल) नै आउँछु,’ अस्पतालप्रति विश्वास देखाउँदै उनी भन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय