आयुर्वेद अस्पतालका लागि गण्डकी सरकारले माग्यो केन्द्रसँग जग्गा, तर बजेट भने शून्य

गण्डकी प्रदेश सरकारले पोखरामा प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय निर्माण गर्ने भएको छ । चिकित्सालय स्थापनाका लागि जग्गा खोजेर सोको प्राप्तिका लागि केन्द्र सरकारसँग माग गरिसकेको प्रदेश सरकारले जनाएको छ । पोखरा महानगरपालिका–२६ कन्यानी डाँडाको सार्वजनिक जग्गामा चिकित्सालय स्थापना गर्न लागिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । यद्यपि, प्रदेश सरकारले चिकित्सालय स्थापनाका लागि बजेट भने विनियोजन गरेको छैन ।

प्रदेश मन्त्रिपरिषद्ले अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन नेपाल सरकारसमक्ष प्रस्ताव पठाएको छ । ‘आवश्यक सार्वजनिक जग्गा भेटिएको छ । महानगरसँगको समन्वयमा नेपाल सरकारसँग जग्गा माग गरेका छौँ,’ प्रवक्ता बस्नेतले भने, ‘जग्गाप्राप्तिपछि निर्माणको काम सुरु हुन्छ ।’ उनका अनुसार कन्यानी डाँडाको ७४५ कित्तानम्बरको ३ सय ६ रोपनी सार्वजनिक जग्गा अस्पतालका लागि मागिएको हो ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले यसअघिको अञ्चल आयुर्वेदलाई नै स्तरोन्नति गरी प्रदेश आयुर्वेद चिकित्सालय बनाउन लागेको बताइन् । ‘अञ्चल आयुर्वेद पनि सोही ठाउँमा छ ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले यसअघिको अञ्चल आयुर्वेदलाई नै स्तरोन्नति गरी प्रदेश आयुर्वेद चिकित्सालय बनाउन लागेको बताइन् । ‘अञ्चल आयुर्वेद पनि सोही ठाउँमा छ । पहिलेको ठाउँ साँघुरो छ । प्रदेशस्तरको बनाएपछि अस्पतालको सुविधा दिने हो,’ उनले भनिन्, ‘यसका लागि संरचना पनि ठूलो र फराकिलो हुनुपर्छ । त्यसैले पहिलेभन्दा अलि डाँडामा सार्न लागेका छौँ ।’

सरकारले आयुर्वेदका लागि छुट्टै बजेट भने विनियोजन गरेको छैन । ‘आयुर्वेदको कुरा पछि आएको सोच हो । ठाउँ पाएपछि आफ्नो स्वामित्वमा ल्याइराखौँ भनेर लागेका छौँ,’ उनले भनिन्, ‘जग्गा प्राप्त भएपछि अन्यत्रबाट बजेट रकमान्तर गरेरै भए पनि काम हुन्छ ।’ निर्माण गर्न लागिएको प्रदेशस्तरीय आयुर्वेद अस्पतालको क्षमताबारे भने अझै यकिन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय