नरदेवी आयुर्वेद चिकित्सालय प्रतिष्ठान बन्ने सँघारमा

आयुर्वेद क्षेत्रको पहिलो तथा केन्द्रीयस्तरको नरदेवी आयुर्वेद चिकित्सालय अब आयुर्वेद प्रतिष्ठान बन्ने भएको छ । काठमाडौंको नरदेवीस्थित चिकित्सालयलाई राष्ट्रिय आयुर्वेद प्रतिष्ठानका रूपमा विकास गर्ने योजनाअनुरूप अस्पतालले एमडी तथा एमएसको पठन–पाठन सुरु गर्ने प्रकिया अघि बढाएको हो ।

अस्पतालका निमित्तनिर्देशक श्यामबाबु यादवका अनुसार यथाशीघ्र अस्पतालका विज्ञहरूबीच कार्यशाला गोष्ठीको आयोजना गरी छलफलबाट योजनालाई अन्तिम रूप दिई मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ । मन्त्रिपरिषद्बाट योजना स्वीकृत गरी सैद्धान्तिक सहमति प्रदान गरेपछि प्रतिष्ठानको मोडालिटीलगायत सम्बन्धमा ऐन निर्माणको प्रक्रिया अघि बढ्ने र संसद्बाट ऐन पारित भएसँगै अस्पतालले प्रतिष्ठानको स्वरूप प्राप्त गर्नेछ । यसअघि वि.सं. २०६६ मै सरकारले मन्त्रीस्तरबाट चिकित्सालयलाई आयुर्वेद प्रतिष्ठानका रूपमा विकास गर्ने निर्णय गरिसकेको भए पनि काम अगाडि बढ्न सकेको थिएन ।

प्रतिष्ठानमा ऐनअनुसार उपकुलपति, शिक्षाध्यक्ष, कुलसचिवलगायत पदाधिकारी तथा विभागीय प्रमुखहरू नियुक्त हुनेछन् । तत्पश्चात् अवश्यक पूर्वाधारको व्यवस्था गरी प्रतिष्ठानमा पठन–पाठनलगायत प्रज्ञिक गतिविधि सुरु हुनेछ ।

यस्तो छ प्रक्रिया
निर्देशक यादवका अनुसार अहिले अस्पताल प्रतिष्ठान स्थापनाको योजनालाई अन्तिम रूप दिनेक्रममा छ । योजनाको मस्यौदालाई अस्पतालका अन्तिम रूप दिन अस्पतालले छिट्टै आफ्ना विशेषज्ञ चिकित्सकबीच छलफलका लागि कार्यशाला–गोष्ठी गर्दै छ । कार्यशालामा बृहत् छलफलपछि योजनालाई अन्तिम रूप दिइनेछ र सैद्धान्तिक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइनेछ । मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएपश्चात् ऐन निर्माणको ढोका खुल्नेछ । सरकारले प्रतिष्ठानको मोडालिटीलगायत विषयमा प्रस्ताव गरी संसद्मा विधेयक प्रस्तुत गर्नेछ । संसद्बाट विधेयक पारित भएसँगै प्रतिष्ठानले आकार पाउनेछ । प्रतिष्ठानमा ऐनअनुसार उपकुलपति, शिक्षाध्यक्ष, कुलसचिवलगायत पदाधिकारी तथा विभागीय प्रमुखहरू नियुक्त हुनेछन् । तत्पश्चात् अवश्यक पूर्वाधारको व्यवस्था गरी प्रतिष्ठानमा पठन–पाठनलगायत प्रज्ञिक गतिविधि सुरु हुनेछ ।

के छ पूर्वाधार र जनशक्तिको अवस्था ? आवश्यक कति ?
अस्पतालले हाल १ सय २० बेडमार्फत सेवाप्रवाह गर्दै आएको छ । नवनिर्मित ओपिडी भवन हस्तान्तरण हुन मात्र बाँकी छ । हाल अस्पतालमा पञ्चकर्मसहित दुईवटा इन्डोर सेवा उपलब्ध छन् । अप्रेसन थिएटर, ल्याब, एक्स रेलगायत सेवा अस्पतालले दिँदै आएको छ । तर अस्पतालमा जम्मा ४ जना विशेषज्ञ चिकित्सक उपलब्ध छन्, जुन प्रतिष्ठानका लागि ज्यादै न्यून हो । अस्पतालमा हाल १९ जना चिकित्सकले सेवा दिँदै आएका छन् । ओपिडीका लागि अस्पतालले ६ वटा कोठा उपलब्ध गराएको छ । कायचिकित्सा विभागमा ५, जनरलचिकित्सा विभागमा ४, शल्यशालक्य विभागमा ४, बालरोग विभागमा २ र स्त्री तथा प्रसूति विभागमा ४ जना चिकित्सक कार्यरत छन् ।

प्रतिष्ठानका लागि आवश्यक पूर्वाधार तथा मानवसंसाधन अस्पतालको आवश्यकताअनुसार थपिँदै जाने विषय भएकाले अहिले त्यसमा अल्झिनुनपर्ने निर्देशक यादव जिकिर गर्छन् । प्रतिष्ठानमा पठन–पाठनका लागि नयाँ एकेडेमिक भवन बनाउनुपर्ने उनी बताउँछन् । ‘बिरामीको फ्लोअनुसार पठन–पाठनका लागि संख्या निर्धारण हुने होइन, बेडअनुसार हुने हो,’ निर्देशक यादव भन्छन्, ‘पिजी पढाउनका लागि बेडभन्दा पनि प्रोफेसर चाहिन्छ, त्रिविलगायत अन्य क्षेत्रबाट प्रोफेर हायर गरेर पठन–पाठन गराउँछौँ ।’

यादवका अनुसार हाल दुई विद्यार्थीबराबर एकजना प्रोफेसर हुनुपर्ने प्रावधान छ । यसरी हेर्दा हाल प्रतिष्ठानका लागि उपलब्ध जनशक्ति अपुग हुने देखिन्छ । यद्यपि, प्रतिष्ठानले पढाउने विद्यार्थी कोटाका आधारमा आवश्यक प्रोफेसरको संख्या निर्धारण हुन्छ ।

अध्यापनका लागि सबै किसिमका फ्याकल्टी (प्रोफेरस) नेपालमै उपलब्ध भएको यादवको भनाइ छ । ‘भारतबाट एमडी पठेर आएका छन्,’ डा. यादवले भने, ‘आयुर्वेदका आठ विधामध्ये कम्तीमा चार विधाको फ्याकल्टी नेपालमै उपलब्ध छ ।’ भारत सरकारले ३ वर्षदेखि आयुर्वेद विशेषज्ञ उत्पादन गर्दै आएको छ ।

अन्तर्राष्ट्रियस्तरमा ५ बेडबराबर एकजना विद्यार्थी भर्ना गर्ने मापदण्ड रहे पनि नेपालमा भने हालसम्म यो नियमको अनुसरण नगरिएको डा. यादको भनाइ छ । प्रतिष्ठानमा विद्यार्थी कोटा कति निर्धारण गर्ने भन्ने विषय फ्याकल्टी बैठकले पछि नै निर्णय गर्ने उनी बताउँछन् ।
अध्यापनका लागि सबै किसिमका फ्याकल्टी (प्रोफेरस) नेपालमै उपलब्ध भएको यादवको भनाइ छ । ‘भारतबाट एमडी पठेर आएका छन्,’ डा. यादवले भने, ‘आयुर्वेदका आठ विधामध्ये कम्तीमा चार विधाको फ्याकल्टी नेपालमै उपलब्ध छ ।’ भारत सरकारले ३ वर्षदेखि आयुर्वेद विशेषज्ञ उत्पादन गर्दै आएको छ । नेपालमा पनि प्रतिवर्ष नेपालमा १५ देखि २० जना उच्च गुणस्तरको एमडी जनशक्ति नेपाल भित्रिने गरेका छन् । ‘पहिलो ब्याज जनशक्ति आइसकेको छ,’ उनले भने ।

प्रतिष्ठानबाट उत्पादन हुने जनशक्ति स्वदेशमै खपन हुने आकलन डा. यादवको छ । सरकारका विशेषज्ञ दरबन्दी, त्रिवि तथा अन्य निजी कलेजहरूमा जनशक्ति खपत हुने उनको तर्क छ । प्रतिष्ठान स्थापनाका लागि आवश्यक खर्च नेपाल सरकारले उपलब्ध गराउने समेत उनले जानकारी दिए । हाल नेपालमा प्रतिवर्ष दुईजना मात्र आयुर्वेदका विशेषज्ञ जनशक्ति उत्पादन हुने गरेको छ भने बाँकी भारतबाट अध्ययन गरेर आउने गरेका छन् । प्रतिष्ठान स्थापनासँगै देशको आवश्यकता प्रतिष्ठानबाटै पूर्ति हुनेमा डा. यादव आशावादी छन् ।

देशमा संघीयताको कार्यान्वयनसँगै आयुर्वेदिक चिकित्साको समेत संगठन संरचना निर्माण भइसकेको छ । जसअनुसार नरदेवी आयुर्वेद चिकित्सालय स्वास्थ्य मन्त्रालयमातहतको केन्द्रीय अस्पतालका रूपमा रहने भएको छ । यसअघि चिकित्सालय आयुर्वेद विभागअन्तर्गत थियो । कलेजबाट सुरु भएको चिकित्सालयले उच्च शिक्षा अध्यापन गराउने प्रतिष्ठान बन्ने सँघारमा आइपुग्दा निकै उतार–चढावलाई पार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय