प्रसूतिका क्रममा आमा–बच्चाकै गयो ज्यान, शंकरापुर अस्पतालमा तनाव

सुत्केरी गराउन अस्पताल पुगेकी महिलाको बच्चासहित मृत्यु भएपछि काठमाडौंको शंकरापुर अस्पतालको वातावरण तनावग्रस्त भएको छ । सामान्य अवस्थामा प्रसूतिसेवा लिन अस्पताल पुर्याइएकी बिरामीको मंगलबार अचानक मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित बनेका हुन् । उनीहरुले अस्पतालमा तोडफोडसमेत गरेका छन् ।

काठमाडौं थलीकी २५ वर्षीया प्रभा ढुंगानालाई प्रसूति व्यथा लागेपछि आफन्तले गोकर्णेश्वर नगरपालिकास्थित शंकरापुर अस्पताल पुर्याएका थिए । प्रभाले सोही अस्पतालमै नियमित गर्भजाँचसमेत गराउँदै आएकी थिइन् । जाँचका क्रममा कुनै विशेष समस्या नदेखिएकी प्रभाको सोही अस्पतालमा प्रसूतिका क्रममा मृत्यु हुनुका पछाडि चिकित्सकको हेलचक्य्राइँ नै प्रमुख कारण भएको आरोप पीडित पक्षले लगाएको छ ।
मृतकका श्रीमान् राजकुमार ढुंगानाले डाक्टरको लापरबाहीका कारण नै आफ्नी श्रीमतीको मृत्यु भएको आरोप लगाएका छन् ।

डेलिभरीका क्रममा समस्या देखिएको बिरामीलाई भेन्टिलेसनमा लाने समयसम्म डाक्टर हेर्नै नआएका कारण बिरामीको मृत्यु भएको उनको भनाइ छ ।

प्रसूतिका क्रममा आमा र बच्चा दुवैको मृत्यु हुनुमा अस्पताललाई नै दोषी मानिरहेका पीडितका आफन्त र सर्वसाधारणले बुधबार दिनभर अस्पतालपरिसरमा प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म अस्पताल प्रशासनसँग कुनै पनि वार्ता नभएको र वार्ताका लागि आफू तयार रहेको पीडित पक्षले बताएको छ ।

अस्पतालले भने प्रसूतिका लागि अस्पताल आइपुग्नुअगावै पेटमा बच्चा मरिसकेर केस जटिल बनिसकेकाले आमालाई समेत बचाउन नसकिएको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. रमेश ढकालका अनुसार डेलिभरीपश्चात् बिरामीमा ‘एयामोटिक फुल्ड इम्बोलिजम’ नामक समस्या देखिएका कारण बिरामीको मृत्यु भएको हो । उनका अनुसार डेलिभरीपश्चात् बिरामीमा उक्त समस्या देखिएमा बिरामीको मृत्यु हुने सम्भावना ५० प्रतिशतभन्दा बढी हुने गर्छ । यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेसनको आवश्यकता पर्ने ढकालले जानकारी दिए ।

प्रसूतिका क्रममा आमा र बच्चा दुवैको मृत्यु हुनुमा अस्पताललाई नै दोषी मानिरहेका पीडितका आफन्त र सर्वसाधारणले बुधबार दिनभर अस्पतालपरिसरमा प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म अस्पताल प्रशासनसँग कुनै पनि वार्ता नभएको र वार्ताका लागि आफू तयार रहेको पीडित पक्षले बताएको छ । अस्पताल प्रशासनले मृत्तकका परिवारले क्षतिपूर्तिस्वरुप १५ लाख रुपैयाँ माग गरेको बताए पनि मृत्तक परिवारले भने आफूले रकमबारे उच्चारणसमेत नगरेको बताएको छ ।

डेलिभरीअगावै पेटमा बच्चा मर्ने (इन्ट्राटेराइन फेटल डेथ) समस्या आमा र बच्चा दुवैका कारणले आउने त्रिवि शिक्षण अस्पतालकी प्रसूतिरोग विशेषज्ञ डा. गीता गुरुङ बताउँछिन् । यस्तो समस्यामा बच्चाका कारण समस्या आएमा बच्चा मात्र मर्ने र आमाका कारण समस्या आएमा दुवैको मृत्यु हुने उनको भनाइ छ । उनका अनुसार आमाको पेटमा बच्चाको आवश्यक वृद्धि–विकास नभएको अवस्थामा पनि यस्तो समस्या आउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय