सकारात्मक सोच नै डिप्रेसनबाट बच्ने उपाय

डा. सरोज वझा
प्रकाशित
२०७५ पुष ११ गते १२:२८

के हो डिप्रेसन ?
मन कमजोर हुने अवस्थालाई डिप्रेसन भनिन्छ । मानसिकरोगका २ प्रकार– कडाखालको मानसिकरोग र सामान्यखालको मानसिकरोगमध्ये डिप्रेसनलाई सामान्यखाले मानसिकरोगमा लिइन्छ ।
डिप्रेसनपश्चात् मानिसको अधिकांश समय मनमा खिन्नता हुने गर्छ । मानिसलाई यतिवेला उदास तथा दिक्क लागेको अनुभव हुने गर्छ । व्यक्तिमा निहित आत्मबल कमजोर हुनु, खुसीको अनुभव नै नहुनु नै डिप्रेसन हो । यो बढ्दै जाँदा मानिसको मनमा नकारात्मक सोचाइ क्रमशः बढ्दै जान्छ । मानिसले डिप्रेसनको अवस्थामा ‘जीवन नै व्यर्थ हो, बाँचेर केही फाइदा छैन’ जस्ता नकारात्मक कुरा सोच्न थाल्छ । यसबाट आत्महत्याको चाहना प्रबल हुँदै जान्छ ।

मानिसलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउने सबै कुरा डिप्रेसनको कारण बन्न सक्छन् । डिप्रेसनको सुरुवाती लक्षण भनेको पहिलेजस्तो खुसी नहुनु हो । विषयलाई सही रूपमा बुझ्न नसक्दा सामान्यखाले कुराप्रतिको असन्तुष्टिबाट बिस्तारै खसी गुम्दै जाँदा मानिस कालान्तरमा डिप्रेसनको सिकार बन्न सक्छ ।

त्यसका अतिरिक्त खाना खान मन नलाग्नु, दैनिक रूपमा गर्दै आएका काम राम्रोसँग सञ्चालन गर्न नसक्नुजस्ता अवस्थाको सिर्जना डिप्रेसनका कारण हुने गर्छ । डिप्रेसन वंशानुगत, मनोवैज्ञानिक र सामाजिक कारणले हुने गर्छ । वंशानुगत तथा मनोवैज्ञानिक कारणले भएको डिप्रेसनमा लामो समयसम्म उपचार गराउनुपर्ने हुन्छ भने सामाजिक कारणले भएको डिप्रेसन काउन्सिलिङपछि पनि निको हुन्छ ।
पछिल्लो समय नेपालमा डिप्रेसन एकदमै साझा समस्याका रूपमा देखापरेको छ । लैंगिक हिसाबले हेर्दा पुरुषमा भन्दा महिलामा डिप्रेसनको समस्या धेरै देखिएको छ । नेपालमा हुने गरेको आत्महत्याको प्रमुख कारण डिप्रेसन हो ।

मानिसको सामान्य काममा बाधा आउनु नै डिप्रेसनको प्रमुख लक्षण हो । विद्यार्थी हो भने उसको पढाइमा ध्यान जाँदैन, काम गरिरहेको मान्छेको काममा ध्यान जाँदैन ।

डिप्रेसनलाई सही समयमा पहिचान गरी उपचार गर्न सकेको खण्डमा रोग पूरै निको हुन्छ । डिप्रेसन भएपश्चात् मलाई मानसिकरोग लाग्यो भनी आत्तिने, मानसिक चिकित्सक भन्नासाथ नकारात्मक सोचाइ पैदा हुने कारणले गर्दा पनि डिप्रेसनका रोगीले बढी आत्महत्या गर्छन् ।

डिप्रेसनका कारण
– वंशानुगत
– शारीरिक अस्वस्थता, अपांगता वा अन्य
– मनोवैज्ञानिक कारण
– कतिपय सामाजिक मूल्य–मान्यता तथा अभ्यास
– आर्थिक अभाव
– सम्बन्ध टुट्नु
– बेरोजगारी
– अशिक्षा
– बलात्कार तथा अन्य आपराधिक घटना
– विभिन्न प्रकारका दबाब
– घरेलु हिंसा
– आतंकजन्य क्रियाकलाप
मानिसलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउने सबै कुरा डिप्रेसनको कारण बन्न सक्छन् । डिप्रेसनको सुरुवाती लक्षण भनेको पहिलेजस्तो खुसी नहुनु हो । विषयलाई सही रूपमा बुझ्न नसक्दा सामान्यखाले कुराप्रतिको असन्तुष्टिबाट बिस्तारै खसी गुम्दै जाँदा मानिस कालान्तरमा डिप्रेसनको सिकार बन्न सक्छ ।

लक्षण
मानिसको सामान्य काममा बाधा आउनु नै डिप्रेसनको प्रमुख लक्षण हो । विद्यार्थी हो भने उसको पढाइमा ध्यान जाँदैन, काम गरिरहेको मान्छेको काममा ध्यान जाँदैन । सामान्यतया डिप्रेसनका बिरामीमा निम्न लक्षण पाइने गरेको छ–
– मनमा नकारात्मक सोचाइ बढी आउनु ।
– काममा मन नजानु ।
– एक्लै बस्न मन लाग्नु ।
– खाना खान मन नलाग्नु ।
– निद्रा नलाग्नु ।
– आत्महत्या गर्न मन लाग्नु ।
– नसालु पदार्थको सेवनमा लिप्तता बढ्नु ।

उपचार
डिप्रेसनका बिरामीमा सबैभन्दा पहिले चेतना बढाउनु आवश्यक छ । डिप्रेसनको उपचारका विभिन्न उपायमध्ये काउन्सिलिङ एउटा विधि हो, जसले मानिसले मनभित्र गुम्स्याएर राखेको नकारात्मक सोच फैलाउने तनावपूर्ण कुराहरूलाई बाहिर निकालेर उसमा सकारात्मकता ल्याई जीवनका हरेक उतारचढावको सामना कसरी गर्ने भन्ने सिकाउँछ ।
काउन्सिलिङको माध्यमबाट ठिक नहुने अवस्थामा औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । मानिसले दैनिक काममा मन लगाउने हो भने डिप्रेसनको समस्या हराएर जान्छ । डिप्रेसनका कारण मानिस झन् फ्रस्ट्रेसनमा जाने भएकाले जतिसक्दो छिटो उपचारमा जानु आवश्यक हुन्छ ।

रोकथाम
डिप्रेसन भयो भन्दैमा बढी चिन्तित हुनुभएन । यो कडाखालको मानसिकरोग होइन भन्ने धारणा हुनुपर्यो । यसका जोखिम तथा आधारलाई कम गर्नुपर्यो । डिप्रेसनको समस्या भएका बिरामीले मनभित्र कुरा दबाएर राख्नुभएन । यसबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्छ–
– मानसिक तनावलाई सकारात्मक रूपमा लिने ।
– तनावका वेला विभिन्न प्रकारका मनोरञ्जनका साधनहरू प्रयोग गर्ने ।
– तनावका वेला एक्लै नबसी साथीभाइसँग रमाइलो गर्ने ।
– आफन्त तथा साथीभाइसँग अनुभव साटासाट गर्ने ।
– केही समस्या आउनासाथ चिकित्सकको सल्लाहअनुसार काम गर्ने ।
– अनावश्यक तनाव नलिने ।
– जस्तोसुकै असहज परिस्थितिमा पनि त्यसभित्र सकारात्मक पाटो नियाल्ने कोसिस गर्ने ।
हामीले सधैँ सकारात्मक सोच्ने प्रयास गर्यौँ भने डिप्रेसनबाट मुक्ति पाउन सक्छौँ । जीवनका स्वाभाविक वा अस्वाभाविक उतार–चढावमा निरास वा अतिउत्साही नभई त्यसलाई स्वाभाविक प्रक्रियाका रुपमा लिन सकेमा हामीभित्र नकारात्मक सोचले जरा गाड्न पाउँदैन, न त हाम्रो खुसी नै गुम्न पाउँछ । तसर्थ, विषयलाई राम्ररी बुझेर विवेकपूर्ण व्यवहार प्रदर्शन गर्दै जीवनलाई सकारात्मकतातर्फ ढाल्न सकेमा हामी डिप्रेसनबाट सदाका लागि टाढा रहन सक्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय