सुन्तलाका स्वास्थ्य फाइदा

हेल्थपोस्ट
प्रकाशित
२०७५ पुष १० गते ११:२५

हामी सबैले सुन्ने गरेका छौँ– दिनमा एउटा स्याउ खानुहोस्, रोगबाट टाढै रहनुहोस् । तर, सुन्तालाबारे ?
सुन्तलामा अत्यन्तै कम क्यालोरी हुन्छ तर पोषणले भरिपूर्ण हुन्छ । सुन्तलाको सेवनले स्वस्थ रहन सघाउँछ, छालालाई फाइदा पुर्याउँछ, र धेरै रोगबाट बचाउँछ ।
विश्वका अधिकांश ठाउँमा सुन्तलाको खेती गरिन्छ । प्राकृतिक स्वादका कारण सुन्तला निकै लोकप्रिय छ । जुसदेखि फेसमाक्स, क्यान्डी, स्नाक्स आदिमा सुन्तला प्रयोग गर्ने प्रचलन छ ।
एउटा सुन्तलामा १ सय ७० भन्दा बढी प्रोटोकेमिकल र ६० भन्दा बढी फ्लाभोनोइड्स पाइन्छ । यसमा एन्टिइन्फ्लामेटरीका साथै एन्टिअक्सिडेन्टल गुण हुन्छ ।

फाइदा
– स्ट्रोक अमेरिकन हर्ट एसोसिएसनका अनुसार प्रशस्त मात्रामा सुन्तला खाँदा महिलामा इसेमिक स्ट्रोकको जोखिम घटाउँछ ।
– ब्लड प्रेसर कम गर्नका लागि सोडियमको प्रयोग कम गर्नु जरुरी छ भने पोटासियम बढाउनु पनि उत्तिकै जरुरी छ । सुन्तलामा उच्च मात्रामा पोटासियम पाइने हुनाले सुन्तलाको सेवन लाभदायी हुन्छ ।
– क्यान्सरको जोखिम घटाउँछ ।
अमेरिकन जर्नल अफ इपिडिमियोलोजीको अध्ययनका अनुसार सुन्तला, केरा र स्याउको जुस बच्चालाई पहिलो २ वर्षदेखि नै खुवाउँदा बाल ल्युकेमिया हुने जोखिम घटाउँछ ।
सुन्तला बलियो एन्टिअक्सिडेन्ट र भिटामिन सीको राम्रो स्रोत भएकाले पनि क्यान्सरको कारकका रूपमा चिनिने र्याडिकल बन्नबाट जोगाउँछ । अध्ययनले देखाएको छ कि, सुन्तलामा पाइने भिटामिन सीले क्लोरेक्टल क्यान्सर सेललाई मार्न सघाउँछ ।
यसमा पाइने उच्च फाइबरका कारण पनि क्लोरेक्टल क्यान्सरको जोखिम कम गर्छ ।
– मुटु स्वस्थ राख्न लाभदायी छ ।
सुन्तलामा पाइने फाइबर, भिटामिन सी र कोलाइन तत्वले मुटुलाई स्वस्थ राख्न सघाउ पुग्छ । अध्ययनले पुष्टि गरेको छ कि, प्रत्येक दिन प्रशस्त मात्रामा पोटासियम सेवन गर्ने मानिसमा कम सेवन गर्नेको तुलनामा मुटुरोगको जोखिम ४९ प्रतिशतले कम हुन्छ ।
– सुन्तलामा पाइने उच्च पोटासियमले स्ट्रोकको जोखिम घटाउँछ, किड्नी सुन्निनबाट जोगाउँछ, मांसपेशी तथा हाडका लागि पनि लाभदायी हुन्छ ।
– मधुमेहमा लाभदायी हुन्छ ।
अध्ययनका अनुसार टाइप१ र टाइप२ दुवैखाले मधुमेहका रोगीका लागि सुन्तला लाभदायी हुन्छ । यसमा उच्च फाइबर पाइनुका साथै रगतमा सुगरको मात्रा, लिपिड र इन्सुलिनको मात्रा सन्तुलन गर्न सघाउँछ ।
– छालाका लागि उपयोगी छ ।
सुन्तलामा पाइने प्राकृतिक भिटामिन सी छालालाई ड्यामेज हुनबाट जोगाउन लाभदायी हुन्छ । घाम तथा पोलुसनका कारण ड्यामेज भएको छालालाई रिकभर गर्न, चाउरीपन कम गर्न र सम्पूर्ण छालालाई पोषण प्रदान गर्न यो सहयोगी हुन्छ ।
– पोषणको उत्तम स्रोत हो ।
एउटा मध्यमखालको करिब १ सय ५४ ग्रामको सुन्तलामा ८० क्यालोरी, ० ग्राम फ्याट, २ सय ५० एमएल पोटासियम, १९ ग्राम कार्ब, १४ ग्राम सुगर, ३ ग्राम डाइटरी फाइबर र १ ग्राम प्रोटिन पाइन्छ ।
एउटा सुन्तलाले तपाईंलाई चाहिने १ सय ३० प्रतिशत भिटामिन सी, २ प्रतिशत भिटामिन ए र ६ प्रतिशत क्याल्सियम प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय