चिकित्साशिक्षा विधेयकलाई अन्तिम रूप दिन डा. केसीसँग छलफल गरिने, गगन र योगेशले पाए जिम्मा

संसद्मा विचाराधीन चिकित्साशिक्षा विधेयकबारे टुंगिन बाँकी विषयमा समितिका प्रतिनिधिले डा. गोविन्द केसीसँग पुनः छलफल गर्ने भएका छन् ।
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले प्रतिवेदनलाई टुंगोमा पुर्याउनुअघि डा. केसीसँग छलफल गर्ने तय गरेको हो । समितिका एक सदस्यका अनुसार नेपाली कांग्रेसबाट गगन थापा र नेकपाबाट योगेश भट्टराईले तोकिएका विषयमा डा. केसीसँग परामर्श गर्ने तय भएको छ ।
समितिबाट विधेयकलाई टुंग्याउनुअघि प्रमाणपत्र तहभन्दा मुनिका सिटिइभिटीअन्तर्गतका कार्यक्रम ५ वर्षभित्र फेजआउट गर्ने–नगर्ने, उपत्यकाबाहिरका मेडिकल कलेजलाई सम्बन्धन सहज पार्ने वा नपार्ने विषयमा सहमति खोज्न बाँकी छ ।

उपसमिति र समितिका निर्धारित बैठककै दिन दिनभर भएका अनौपचारिक छलफलका क्रममा सरोकारवाला मन्त्रालयका चासो र सम्झौताअनुसार विधेयक जारी हुँदा आइपर्ने व्यावहारिक समस्याबारे डा. केसीसँग छलफल गर्ने तय भएको समितिका सदस्य एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले बताए । भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गतका स्वास्थ्यका कार्यक्रम र उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने बाटोका विषयमा डा. केसीसँग छलफल गरेपछि उपसमिति र समितिबाट टुंगो लगाइने बताए ।

कांगे्रसका तर्फबाट समितिका सदस्य एवम् सांसद गगन थापाले समितिमा टुंगो लाग्न बाँकी विषयमा डा. केसीसँग परामर्श गरिने बताए । ‘उपसमितिमा छलफल गर्दा सरकारले अप्ठ्यारो हुन्छ भनेको कुरामा मात्रै डा. केसीसँग छलफल गरौँ,’ उनले भने, ‘सरकारका धारणाका विषयमा पुनर्विचार गर्न सकिन्छ भन्ने रह्यो भने हुन्छ, नभए सरकारसँग जे सम्झौता भयो, त्यहीअनुसार समितिबाट पारित हुन्छ ।’

सोमबार १२ बजे उपसमितिबाट विधेयक टुंग्याएर २ बजे समितिको पूर्ण बैठकबाट पारित गर्ने तालिका बनेको थियो । तर, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सिटिइभिटीका विषयमा सरकारको अडान नछाडेपछि डा. केसीसँग परामर्श गर्ने निष्कर्षमा पुगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय