अब स्वास्थ्यमा दुई सचिव रहन्छन् : मन्त्री यादव

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्यसचिवको दरबन्दी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सार्ने गरी भएको निर्णय सच्याइसकेको बताएका छन् ।सो निर्णयविरुद्ध आन्दोलनमा जाने भन्दै ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेको चिकित्सक संघको नेतृत्वसँग मन्त्री यादवले स्वास्थ्यमै दुई सचिवको दरबन्दी राख्ने, डाक्टर सचिवलाई प्रधानमन्त्री कार्यालयमा नपठाउने बताए ।

यसअघि सरकारले १७ मंसिरमा स्वास्थ्यसचिवको दरबन्दी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासनको सचिवको दरबन्दी राख्ने निर्णय गरेको थियो ।

‘मैले दुवै सचिवका लागि कोठा तयार गर्न निर्देशन दिइसकेको छु, सरकारको निर्णय पनि सच्चिसकेको छ,’ यादवलाई उद्धृत गर्दै नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए ।

उनले आफूले स्वास्थ्यसचिवले स्वास्थ्यकै विषय र प्रशासन सचिवले जनसंख्या र प्रशासन हेर्ने गरी मन्त्रालयमै दुई सचिव राख्ने बताए । ‘मैले दुवै सचिवका लागि कोठा तयार गर्न निर्देशन दिइसकेको छु, सरकारको निर्णय पनि सच्चिसकेको छ,’ यादवलाई उद्धृत गर्दै नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए ।

सुरुमा स्वास्थ्यमा प्रशासनको सचिव पठाउँदा नै संघले आपत्ति जनाइरहँदा स्वास्थ्यकर्मी सचिवको दरबन्दी नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगेपछि संघको नेतृत्व आक्रोशित बनेको थियो । संघले मन्त्री यादवलाई बुझाएको ज्ञापनपत्रमा सम्मानित सर्वोच्च अदालतले स्वास्थ्यसचिवको सरुवा तथा गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्यसचिवका रूपमा मन्त्रालयमा सरुवा गरिएको सम्बन्धमा गरेको निर्णयको उच्च सम्मान गर्दै विधि र विधानअनुरूप कानुनी राज्यको पालना गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

संघले स्वास्थ्यसेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्यसचिवमा नियुक्त हुँदै आएकोमा हाल उक्त ऐनको भावना र मर्मविपरीत गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्यसचिवका रूपमा सरुवा गरिएको निर्णय तत्काल सच्याउन माग गरेको छ ।
स्वास्थ्य क्षेत्र विशुद्ध प्राविधिक क्षेत्र भएको भन्दै यसक्षेत्रको प्रर्याप्त ज्ञान भएको व्यक्तिले मात्रै स्वास्थ्यका समस्या र चुनौती राम्रोसँग आकलन गरी नीतिनिर्माण गर्न सक्ने संघको भनाइ छ ।

‘स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीकै नेतृत्व हुनुपर्छ भन्ने मान्यताअनुरूप नेपाल स्वास्थ्यसेवा ऐन निर्माण भएको कुरा स्मरण गरायौँ,’ डा. कार्कीले भने, ‘मन्त्रीज्यूले सोहीअनुसार हुन्छ, डाक्टर सचिवको दरबन्दी स्वास्थ्यमै रहन्छ भन्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय