पुनहिल पुग्दा मनै हलुंगो (फोटो फिचर)

कृष्ण मल्ल
प्रकाशित
२०७५ पुष ७ गते १५:४७


विदेशी र नेपालीकै लागि पनि भ्रमणको अपार आनन्द लिन उपयुक्त स्थल हो, म्याग्दीको घोरेपानी र पुनहिल । भ्रमणका लागि मात्र नभई यो आत्मिक ज्ञान र मनलाई हलुका बनाउन पनि यी स्थान उपयुक्त छनोट बन्न सक्छन् । मन हलुंगो हुँदा सानातिना रोगले छाडेको महसुस हुन्छ । म्याग्दीको मुख्य पर्यटकीय गन्तव्यमध्ये घोरेपानी–पुनहिल पुग्दा यस्तै हुन्छ ।

अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने घोरेपानी समुद्री सतहदेखि २ हजार ८ सय १० मिटर र पुनहिल ३ हजार २ सय ९० मिटरको उचाइमा अवस्थित छ । यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत दर्जनभन्दा बढी हिमशृृंखला, सूर्योदयको अवलोकन गर्न सकिन्छ । पाहुनालाई आत्मीय सत्कार दिने घोरेपानीवासीको संस्कार र सुविधासम्पन्न होटेलको उपलब्धताका कारण यो क्षेत्र विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
थकाइ मार्दै लामो उकालो हिँडेपछि आउने घोरेपानी नेपालकै सुविधासम्पन्न हिल स्टेसनमध्ये एक हो । घोरेपानीमा एकदर्जनभन्दा बढी सुविधासम्पन्न होटेल छन् । यहाँको प्रमुख विशेषता भर्जिनालिटी हो । घोरेपानी पुग्न मोटरबाटोबाट कम्तीमा ४५ मिनेट लाग्छ भने घोरेपानीबाट पुनहिल पुग्न पनि उत्तिकै समय लाग्छ । घोरेपानीको बसाइपछि उज्यालो हुनुभन्दा एक घण्टाअघि टर्च लाइटको सहायताबाट पुनहिलतर्फ उकालो हिँड्नुपर्दछ । विभिन्न देशका विभिन्नथरी मान्छेसँगको हुलमा लठ्ठी टेक्दै उकालो लाग्नुको मज्जा छुट्टै छ । कतै नांगो डाँडा त कतै गुराँसै गुराँसको जंगल पार गर्दै पुनहिल पुगिन्छ ।


जति उकालो चढिन्छ, बिहान उज्यालिँदै जान्छ, हाम्रा आँखा पुनहिल डाँडाबाट देखिने मनमोहक दृश्य हेर्नमै व्यस्त हुन्छन् । पुनहिलबाट सूर्योदयसँगै १ सय ८० डिग्रीको कोणमा हिमालहरू हेर्न सकिन्छ । यहाँदेखि हिमाल हेर्न दूरवीनको आवश्यकता पर्दैन । आँखैअगाडि हिमाल देख्दा कसको मन रमाउँदैन ? यहाँबाट प्लेन पनि निकै तल उडेको देखिन्छ । यहाँको दृश्यले आत्मिक सन्तुष्टि मिल्छ । यहाँ पुग्नेहरू हिमाली हावामा उड्न खोज्छन्, लहरिँदो पहिरन बदल्दै हिमालसँगै काखिन खोज्छन्, उफ्रिएर हिमालमाथि पुग्न खोज्छन्, जुन अत्यन्त लोभलाग्दो हुन्छ ।


यहाँ आउने बाह्य पर्यटकमा इजरायल, फिनल्यान्ड, डेनमार्क, जापानलगायत मुलुकका बढी छन् । यहाँ बर्सेनि ४० हजारको हाराहारीमा पर्यटक पुग्ने गर्छन् । होटेलव्यवसायीका अनुसार विदेशी पर्यटककै हाराहारीमा स्वदेशी पर्यटक पनि आउन थालेका छन् । लामो छुट्टी र खुला मौसमको समयमा विद्यार्थी, अभिभावक, सरकारी कर्मचारीको समय व्यतीतको आकर्षक स्थल घोरेपानी र पुनहिल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय