कर्णाली सरकारको प्राथमिकतामा परेन प्रदेश अस्पताल, एक अर्ब माग्दा एक करोड निकासा

प्रदेश अस्पताल हुनुअघिको मध्यपश्चिम क्षेत्रीय अस्पताल, सुर्खेत ।

कर्णाली प्रदेश अस्पतालले मागको एक प्रतिशत मात्र बजेट सरकारबाट पाएको छ । प्रदेश सरकारद्वारा सञ्चालित उक्त अस्पतालले अस्पतालमा विद्यमान सेवा सुधारका लागि एक अर्ब रुपैयाँ माग गरेकोमा प्रदेश सरकारले जम्मा एक करोड रुपैयाँ निकासा गरेको हो ।
५० बेडका लागि स्वीकृति पाएको अस्पतालले ६५ बेड थपेर १ सय १५ बेड सञ्चालन गरिरहेको छ । अस्पतालको ३ सय ५० बेडको अत्याधुनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त भवनमा अस्पताल सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयमा एक अर्ब रकम माग गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले बताए ।

प्रदेश अस्पताल भएपछिको अस्पताल ।

मध्यपश्चिम क्षेत्रीय अस्पताललाई प्रदेश सरकारले प्रदेश अस्पताल नामकरण गरेपछि एक करोड बजेट दिएको डा. खड्काले जानकारी दिए । खड्काका अनुसार उक्त एक करोडबाट प्रदेश अस्पतालले डाक्टर, नर्स, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी गरी ३० कर्मचारी थपेको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्यसेवा महाशाखा प्रमुख जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि एक करोड बजेट विनियोजन गरिएको बताए । अस्पतालले इक्विपमेन्ट र जनशक्तिको व्यवस्थापन गर्ने महाशाखा प्रमुख शाहीको भनाइ छ । महाशाखा प्रमुख जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले निर्माणको अन्तिम चरणमा पुगेको अस्पतालको अत्याधुनिक भवनबाट स्वास्थ्यसेवा सुरु गर्नका लागि ठूलो रकम आवश्यक पर्ने बताए । अस्पतालबाट रकम माग भएको र त्यसका लागि केही रकम प्रदेश सरकारबाट सहयोग भए पनि केन्द्र सरकार वा दातृसंस्थाको भरपर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘हामीले स्रोतको खोजी गरिरहेका छौँ,’ महाशाखा प्रमुख शाहीले भने, ‘केन्द्र सरकार वा को हुन्छ ।’

प्रदेश अस्पतालको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ।

प्रदेश सरकारमातहत आएपछि क्षेत्रीय अस्पतालको नाममा सञ्चालनमा रहेको अस्पताललाई १३ कात्तिकमा ‘प्रदेश अस्पताल’ कायम गरी उद्घाटन गरिएको थियो ।
प्रदेश सरकारमातहत आएको प्रदेश अस्पतालले ५० शय्याका लागि मात्रै सञ्चालन अनुमति पाएको छ । तर, अस्पतालले १ सय १५ शय्याबाट सेवा–सुविधा प्रदान गर्दै आएको छ । अस्पतालले अस्पताल विकास समितिको सक्रियतामा १ सय १५ शय्या सञ्चालनमा ल्याएको हो ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री

२०२८ सालमा ५० शय्याको स्वीकृति लिएर जिल्ला अस्पतालका रूपमा सञ्चालन गरिएको अस्पताललाई ७ फागुन ०६२ मा क्षेत्रीय अस्पतालका रूपमा विस्तार गरिएको थियो । जिल्ला अस्पतालकै रूपमा ५० शय्या सञ्चालन गर्ने अनुमति पाएको अस्पतालले हाल १ सय १५ शय्याको सुविधा दिइरहेको छ । थप शय्या स्वीकृतिका लागि पटक–पटक मन्त्रालयमा ताकेता गर्दासमेत कसैले चासो नदिएको अस्पतालले जनाएको छ । मेसु खड्काका अनुसार अस्पतालमा दैनिक करिब ४ सय सेवाग्राही आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय