जानकी मेडिकल कलेजको सम्बन्धन खारेज प्रक्रिया सुरु होस्– डा. केसी

 

चिकित्साशिक्षा अभियन्ता डा. गोविन्द केसीले जानकी मेडिकल कलेजलाई शून्य सिट कायम गरी सम्बन्धन खारेजीको प्रक्रियासमेत थालनी गर्न माग गरेका छन् ।बारम्बार अवैध रूपमा भर्ना लिने तथा न्यायालयलाई समेत प्रभावित गरेर आवश्यक पूर्वाधार, जनशक्ति र बिरामीविनै विद्यार्थी भर्ना गरेर डिग्री बेच्ने कार्यमा कलेज संलग्न भएको भन्दै डा. केसीले यस्तो माग गरेका हुन् ।

बुधबार विज्ञप्ति जारी गरी उनले जानकी मेडिकल कलेजले अवैध रूपमा एमबिबिएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थी भर्ना गरेकोमा तथा त्यसलाई रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेशसमेत दिइसकेको भन्दै फेरि भर्नालाई वैध बनाउन भइरहेको चलखेलप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

यसअघि पनि बारम्बार विभिन्न अदालतका फैसलाका आडमा मेडिकल कलेजहरूले अवैध रूपमा विद्यार्थी भर्ना लिएका कारण देशभर ठूलो संख्यामा अयोग्य विद्यार्थीले डाक्टरीको डिग्री र लाइसेन्स पाउने अवस्था बनेको भनाइ डा. केसीको छ ।
डा. केसीले अघिल्लो वर्ष अवैध रूपमा विद्यार्थी भर्ना गरिएकाले भर्ना नलिन आइओएमले सूचना जारी गरेकोमा त्यसविरुद्ध उस्तै मुद्दा लिएर अदालत पुगेका मेडिकल कलेजहरूमध्ये पाटन उच्च अदालतले किस्ट र जानकी मेडिकल कलेजको निवेदन अस्वीकार गर्दै अवैध भर्ना रोक्ने आइओएमको कामलाई कानुनसम्मत ठहर्याएको सन्दर्भसमेत उल्लेख गरेका छन् ।
डा. केसीले उच्च अदालत पाटनले निवेदन खारेज गरिसकेपछि अदालतको मानमर्दन हुने गरी विद्यार्थीको पढाइ जारी राख्नु तथा अब आएर निवेदन खारेजीविरुद्ध पुनरावेदनको प्रक्रियामै नगई न्यायिक अभ्यास मिचेर एकाएक सर्वोच्चमा त्यसविरुद्ध रिट दर्ता भएको प्रतिसमेत आपत्ति जनाएका छन् ।

उनले फेरि एकपल्ट मेडिकल माफिया र भ्रष्ट न्यायाधीशको मिलेमतोमा आममानिसको स्वास्थ्य नै जोखिममा पर्ने गरी डाक्टरी डिग्री किनबेचलाई स्थापित गर्न थालिएको हो कि भन्ने भय उत्पन्न भएको भन्दै त्यस्तो भएमा जस्तोजुकै संघर्ष गर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय