मणिपाल विवाद- उच्चस्तरीय समितिले प्रदेश सरकारलाई बुझायो प्रतिवेदन

हेल्थपोस्ट
प्रकाशित
२०७५ पुष ३ गते १७:२६

शिक्षण अस्पतालको समस्या बुझ्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन गण्डकी प्रदेश सरकारलाई बुझाएको छ । अस्पतालमा कार्यरत कर्मचारी, चिकित्सक र व्यवस्थापनबीच सधैँजसो किचलो हुँदा बिरामी समस्यामा परेपछि प्रदेश सरकारले समस्या समाधानमा चासो देखाएको हो ।  झन्डै ५ महिना लगाएर तयार गरिएको प्रतिवेदन आइतबार गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनलाई बुझाइएको हो । सरकारले २३ साउनमा समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको थियो ।

मणिपालमा कहिले सुविधा कटौती, कहिले फार्मेसी विवाद त कहिले तलबमा असमानता भएको भन्दै अस्पताल पटक–पटक बन्द गरिँदै आएको छ । विदेशी लगानीमा सञ्चालित अस्पतालमा व्यवस्थापन पक्ष पूरै भारतीय छन् भने कार्यरत कर्मचारी अधिकांश नेपाली छन् । अस्पतालमा दैनिक ८ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पताल व्यवस्थापन र कर्मचारीबीच समन्वय अभावमा समस्या आएको निष्कर्ष निकाल्दै समितिले १६ बुँदे सुझाबसहितको प्रतिवेदन तयार गरेको छ । उच्चस्तरीय समिति संयोजक पूर्वन्यायाधीश लिप्तबहादुर थापाले सरकारले दिएको जिम्मेवारीअनुसार प्रतिवेदन तयार पारी बुझाइएको बताए ।

मन्त्री पुनले मुख्यमन्त्रीलाई बुझाएपछि मन्त्रिपरिषद्बाट प्रतिवेदन सार्वजनिक हुनेछ । स्थानीय र अस्पतालसँग सरोकार राख्ने सबैका धारणा समेटेर प्रतिवेदन तयार पारिएको संयोजक थापाले जानकारी दिए । समितिको सदस्यमा डा. दिनेश विक, अधिवक्ता कमलप्रसाद अर्याल, अप्सरा कोइराला, योगराज पौडेल, कृष्णराज ढुंगाना, कास्कीका सहायक सिडिओ राजेश पन्थी र सदस्य–सचिवमा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेशप्रसाद अधिकारी थिए ।

प्रतिवेदन बुझेपछि सामाजिक विकासमन्त्री पुनले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र प्रतिवेदनले सुझाएका बुँदाअनुसार काम गर्ने बताएकी छिन् । केही महिनाअघि फार्मेसी र औषधि खरिदको विषयलाई लिएर अस्पतालमा तनाव भएपछि समिति गठन गरेर छानबिन थालिएको हो । फार्मेसीमा कार्यरत कर्मचारीले नै औषधि खरिदमा एकाधिकार जमाएको आरोप लगाउँदै ३ जना कर्मचारीलाई अस्पताल प्रशासनले जागिरबाट निकालिदिएको थियो । तर, प्रतिवेदनले भने औषधि खरिद गर्न अस्पतालकै स्टेरिब कमिटी भएकाले कर्मचारीलाई दोष लगाउनु औचित्यपूर्ण नरहेको उल्लेख गरेको छ । प्रतिवेदनले समस्याको दीर्घकालीन समाधान गर्ने बाटो खोलेको पुनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय