मणिपाल अस्पतालमा लगाइएको ताला खुल्यो

हेल्थपोस्ट
प्रकाशित
२०७५ पुष २ गते ११:४४

दुई साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालमा लगाइएको ताला आइतबार खोलिएको छ । यसअघि दिँदै आएको स्वास्थ्यसुविधामा कटौती गरेको भन्दै २१ मंसिरमा कर्मचारी संगठनहरूले संयुक्त रूपमा अस्पतालमा तालाबन्दी गरेका थिए ।

तत्काललाई सुविधा यथावत् राख्ने र दीर्घकालीन समाधानका लागि अध्ययन गर्न छुट्टै समिति गठन गर्ने सहमति भएपछि ताला खोलिएको हो । कर्मचारी र उनीहरूको परिवारलाई दिइएको स्वास्थ्योपचार सुविधा दुरूपयोग भएको भन्दै अस्पतालले अघिल्लो महिनादेखि सुविधा कटौती गरेको थियो । तर, केही व्यक्तिले गरेको बेइमानीका कारण सबैलाई अधिकारबाट वञ्चित गर्न नहुने कर्मचारी संगठनहरूले बताएका छन् ।
अस्पतालमा हाल देखिएको समस्याबारे अध्ययन समिति गठन गर्ने सहमतिपछि ताला खोलिएको हो । आफ्नो स्वास्थ्योपचारको सुविधा कटौती गरेको भन्दै कांग्रेसनिकट स्वतन्त्र कर्मचारी युनियन, तत्कालीन माओवादीनिकट अखिल नेपाल स्वास्थ्य श्रमिक संघ र तत्कालीन एमालेनिकट नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्त रूपमा सिइओको कार्यकक्ष, मावनसंसासन विभाग र लेखामा तालाबन्दी गरेका थिए ।

केही व्यक्तिको बदमासीका कारण सबै कर्मचारी मर्कामा परेकाले यसबारे २० दिनभित्र कार्यदल गठन गर्ने सहमति भएपछि ताला खोलिएको अखिल नेपाल स्वास्थ्य श्रमिक संघका अध्यक्ष छविलाल पौडेलले जानकारी दिए । ‘सबै कर्मचारी इमानदार छन् भन्ने होइन । तर, सबै बेइमान पनि छैनन्,’ उनले भने, ‘१ र २ जनाको बदमासीका कारण सबैजना सुविधा उपभोग गर्नबाट वञ्चित हुनुहुँदैन । समस्या समाधान गरियोस् ।’ अस्पतालमा कर्मचारीले प्रतिमहिना ओपिडीमा १ लाख रूपैयाँसम्मको स्वास्थ्योपचार सुविधा पाउँदै आएका थिए ।

तर, प्रशासनले १५ हजारभन्दा बढी खर्च आए कर्मचारीले नै बेहोर्नुपर्ने बताएपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारी र प्रशासनको टकरावका कारण मणिपालमा महिनैपिच्छे विवाद चलिरहन्छ । यसको दीर्घकालीन समाधानका लागि गण्डकी प्रदेश सरकारले पनि छुट्टै कार्यदल बनाएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय